सेनाद्धारा तीन अर्ब लगानी
सुर्खेत : नेपाली सेनाले पूर्वसैनिकहरूलाई स्वरोजगार बनाउन करिब तीन अर्ब रुपैयाँ लगानी गरेको छ । तीन अर्ब लगानीमा अहिलेसम्म १७ हजार पूर्वसैनिक स्वरोजगार बनेका छन् । सेनाले लगानी वृद्धि गर्दै आगामी दिनमा २५ हजार पूर्वसैनिकलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।पूर्वसैनिकलाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रममार्फत सेनाले लगानी प्रवाह गर्दै आएको छ । सैनिक कल्याणकारी बोर्डमार्फत हालसम्म दुई अर्ब ७५ करोड रुपैयाँ लगानी भइसकेको छ । यो रकम आयआर्जनका लागि सहुलियतमा पूर्वसैनिकलाई ऋण स्वरुप प्रदान गरिएको हो ।
रकम पूर्वसैनिक र उनीहरूका परिवारले आयआर्जनमा लगानी गरेका छन् । सेवामा रहँदाको सीप र ज्ञान अवकासपछि काम नलाग्ने तथा पेन्सनले मात्र जीविका चलाउन कठिन भएको गुनासो पूर्वसैनिकहरूले गरेपछि उनीहरूलाई आत्मनिर्भर बनाउन लगानी गरिएको हो । सेनाले सुर्खेतमा शनिबार भूपू सैनिकको मध्यपश्चिम क्षेत्रीय सम्मेलन गरेर थप रकम लगानी गर्ने आश्वासन दिएको हो । सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत चित्रबहादुर गुरुङले लघुवित्त कार्यक्रममार्फत १७ हजार पूर्वसैनिक स्वरोजगार बनेको जानकारी दिनुभयो । उहाँले यो संख्या केही वर्षभित्र २५ हजार पुग्ने बताउनुभयो ।
भूपू सैनिकलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन लगानी भइरहेको भन्दै उहाँले अब पूर्वसैनिकले अवकाशपछि आर्थिक समस्या झेल्नु नपर्ने दाबी गर्नुभयो । पूर्वसैनिकलाई विभिन्न सीपमूलक तालिम लिन, कृषि तथा पशुपालन र अन्य व्यवसाय गर्न बोर्डले बैंकमार्फत सहुलियतमा ऋण दिँदै आएको छ । लगानीका लागि रकम अभावले पूर्वसैनिकका परिवारलाई जीविकोपार्जनमा समस्या भइरहेकाले यो योजना अगाडि सारेको सेनाको भनाइ छ । सेनाका अनुसार हाल कोषमा ३६ अर्ब चार करोड २८ लाख ९३ हजार रकम छ । यो रकम पूर्वसैनिक र उनीहरू परिवारको आयआर्जन तथा आत्मनिर्भर बनाउन लगानी गरिने बताइएको छ ।
भूपू सैनिकको मध्यपश्चिम क्षेत्रीय सम्मेलनको शनिबार वीरेन्द्रनगरमा समापन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले भूपू सैनिकको योगदानको सम्मान र कदर गर्दै स्वरोजगार योजना अगाडि सारेको बताउनु भयो । सम्मेलनबाट आएका सुझावका आधारमा सेना अगाडि बढ्ने प्रतिबद्धता प्रधान सेनापति क्षेत्रीले व्यक्त गर्नुभयो । देशका सबै भूपू सैनिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा पूर्वसैनिकले सेनामा रहँदा सिकेको सीप समुदायमा फर्कंदा काम नलाग्ने र जीविकोपार्जनमा समस्या भएको बताएका थिए । उनीहरूले लघुवित्तबाट आत्मनिर्भर हुन सहयोग पुगेको भन्दै खुसी व्यक्त गरे ।
सम्मेलनमा यस क्षेत्रका पूर्वसैनिक र तिनका परिवारका सदस्यको सहभागिता थियो । पूर्वसैनिकले रोजगारमूलक तथा आयआर्जन गर्न सकिने सीप तथा व्यवसायमा लगानी गर्न सेनासँग आग्रह गरेका थिए । उनीहरूले आफ्नो योगदानको उचित मूल्यांकन भएको र आयआर्जनका योजनामा लगानी विस्तार गर्न मागसमेत गरे । सेनाले नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा कर्जा प्रवाह भइरहेको र लघुवित्त कार्यक्रम लोकप्रिय बन्दै गएको दाबी गरेको छ ।