भारतमा मुद्दा चलाइएका नेपालीले न्याय मागे
विराटनगर: भारतको हरियाणा राज्यमा चौबीस जना नेपालीलाई बिना कारण हिरासतमा लिई शारीरिक तथा मानसिक यातना दिइएको घटनामा ती नेपालीले न्याय मागेका छन् ।
हरियाणाको हिसारमा सन् २०१४ नोभेम्वर १४ देखि १८ तारिखसम्म हरियाणा हिसारमा भएको पूर्ण ब्रहम उपासकहरुको धार्मिक कार्यक्रममा सहभागी नेपाली भक्तजनलाई त्यहाँको प्रशासनले धरपकड गरेर शारीरिक तथा मानसिक यातना दिएको थियो । अहिलेसम्म पनि मुद्दा खेपिरहेका ती नेपालीले आफूहरुको मुद्दा फिर्ता हुनुपर्ने माग गरेका छन ।
सन्त रामपालले प्रवचन दिई रहेका स्थानमा अचानक घेरा हालेर हिसार बरवालाको सतलोक आश्रमबाट भारतीयसहित ती नेपालीलाई भारत प्रहरीले धरपकड गरेको थियो । रामपालको अभियानमा सहयोग गरेको र धर्म विरोधी काम भएको आरोपमा मुद्दा चलाइएका नेपालीले न्याय पाउनु पर्ने माग गरेका हुन ।
पूर्ण बह्म कविर उपासक समाज नेपालले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारतमा जेल जीवन बिताएर आएका धनुषा महेन्द्रनगरका गणेशकुमार महतोले भन्नुभयो,‘डेढ वर्षसम्म बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिइयो । पछि एक एक लाख रुपैयाँ धरौटी राखेर पन्ध्र दिनमा तारेखमा छाडेपनि मुद्दा खेप्न जानु परेको छ ।’ भक्तजनलाई आस्थाकै आधारमा भारत सरकारले दुःख दिएको उहाँले बताउनु भयो ।
पूर्ण बह्म कविर उपासक समाज नेपालका उपाध्यक्ष केशवप्रसाद मैनालीले पटक पटक सरकार मानव अधिकारवादी, नेपालस्थित भारतीय दूतावास तथा अन्तर्राष्ट्रिय न्याय क्षेत्रमा समेत हारगुहार गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो पोखे । मैनालीले भन्नुभयो,‘नियन्त्रणमा लिइएका नेपालीलाई राजद्रोह र देशद्रोहको मुद्दा लगाउने प्रयास गरिएको थियो पछि एक एकलाख भारतीय रुपैयाँ लिएर मुक्त गरियो तर प्रहरी कार्यालयमा धाउनु पर्ने मुद्दा भने लगाई रहेकै छन् ।’ उहाँले नेपाल सरकारलाई यो मुद्दा फिर्ता दिलाई दिन भारत सरकारलाई आग्रह गर्न अनुरोध गरेपनि खासै सुनुवाई नभएको बताउनु भयो ।
भारतको हरियाणामा नेपालीहरु मुकेश कार्की, उमराज ढकाल,गणेश महतो, शिव पुजन साह, सुरे भट्ट, राम सोगारथ महतो, सन्तोष साह, दिनेश महतो, उमेश महतो, गणेश गिरी, राजेन्द्र सदा, शिवचन्द्र यादव, भुप सिंह, रामचन्द्र यादव, उपेन्द्र प्रसाद यादव, अन्जारुल मिया, लक्ष्मण बस्नेत, इश्वर श्रेष्ठ, राजकुमार गिरी, नन्दराम खैराहा, विजय साह, योगन्द्र चन्द, सुरेश राई र विनोद यावद पक्राउ परेका थिए । धर्म परिवर्तनका लागि काम गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको उपासक समाजका उपाध्यक्ष मैनालीले बताउनु भयो । उहाँले भन्नुभयो,‘हाम्रो मुद्दा खारेजीको लागि सरकारले कदम नचालेकोले अब चरणवद्ध आन्दोलन गर्दैछौं ।’ जिल्ला प्रशासनमार्फत ज्ञापन पत्र पठाएर आन्दोलन सुरु गरिने मैनालीले जानकारी दिनुभयो ।