स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मलेन हुँदै
काठमाडौँ: नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुने भएको छ।
परिषद्ले बर्सेनि आयोजना गर्ने उक्त सम्मलेन यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ। सम्मेलनमा एक हजार स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकले विभिन्न आठवटा विधाका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन्।
आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनमा नसर्ने रोग, पोषण, मातृ तथा बालस्वास्थ्य, सरुवा, उष्ण प्रदेशीय ट्रपिकल रोग तथा वातावरणीय र पेसागत संस्था, मानसिक स्वास्थ्य, स्वास्थ्य व्यवस्था, यौन र प्रजनन् स्वास्थ्य तथा किशोरकिशोरी स्वास्थ्य र सिस्टमेटिक रिभ्यु विषयमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा झोलाराम श्रेष्ठले चिकित्सा सेवामा अनुसन्धान अपरिहार्य भएको बताउनुभयो। उहाँले नागरिकलाई विशिष्ठ उपचार सेवा प्रदान गर्न अनुसन्धान आवश्यक भएकाले यस्ता सम्मलेनले चिकित्सकलाई टेवा पुग्ने बताउनुभयो।
सम्मेलनबाट अनुसन्धानकर्ता र वैज्ञानिकलाई आफ्नो खोज अनुसन्धानलाई प्रचारपसार गर्न प्रेरित गर्ने विश्वास लिइएको छ। रासस