जो किताब सजाउँछन्

 जो किताब सजाउँछन्

काठमाडौः पुस्तक पसलमा आकर्षक गातामा सजिएर बसेका किताबले जो-कोहीको पनि मन लोभ्याउँछ । चिटिक्कको आकार, सुन्दर गाता, पल्टाएर हेर्दा मिलेका हरफ र अक्षर, यी सबैले जस्तोसुकैलाई पनि किताब पढूँपढूँ बनाउँछ । लेखकले दुःख गरेर लेखेको किताबलाई पाठकको हातमा पढूँ-पढूँ लाग्नेगरी पुर्‍याउनुमा धेरैको हात हुन्छ । त्यसमध्ये एक हुन्छ - ग्राफिक्स डिजाइनर । किताबलाई चिट्टिक्क पारेर सजाउने डिजाइनरमध्ये एक हुन् - सुवर्ण हुमागाईं ।

काठमाडौं कालिकास्थानस्थित उनको व्यक्तिगत कार्यालयमा जाने जो-कोहीले पनि उनलाई मोटो चस्मा लगाएर कम्प्युटरमा घोत्लिरहेको देख्न सक्छ । उनी कम्प्युटरमा घोत्लिन थालेको १४ वर्ष भइसकेको छ । चौध वर्षमा उनले आफूलाई बजारका उत्कृष्टमध्ये एक डिजाइनरका रूपमा स्थापित गराइसकेका छन् । उनले डिजाइन गरेका करिब तीन सय किताब पुस्तक पसलका र्‍याकमा सजाइएका छन् । देशका चर्चित किताबको गातापछाडि उनको नाम भेट्न सकिन्छ । किताबबाहेक ब्रोसर, म्यागेजिनलगायत ‘स-साना' काम कति गरे, उनी आफैसँग हिसाब छैन ।

उनकै भाषामा ‘सौन्दर्यको यो क्षेत्र'मा ल्याउने श्रेय भने कार्टुनिस्ट बासु क्षितिजलाई दिन्छन् । सन् २००३÷४ तिर उनी ईकमर्सको विद्यार्थी थिए । कम्प्युटरमा राम्रो हात बसालेको देखेपछि कार्टुनिस्ट क्षितिजले डिजाइनिङ सिक्ने प्रेरणा दिए । त्यहीँबाट सुरु भएको हो उनको डिजाइनर यात्रा ।

डिजाइनिङको साधारण तालिम लिएपछि उनले ‘टाइम्स क्रियसन'मा काम गर्न सुरु गरे । ‘तलब थिएन, भोलेन्टेयर पनि थिएन', सुवर्ण सम्झन्छन्, ‘पकेट मनी पाउनेगरी तीन वर्ष काम गरेँ ।' तीन वर्षपछि उनलाई लाग्यो, साधारण डिजाइनिङ सिकेर मात्र पुग्दैन । कार्यकुशल हुन प्रिन्टिङको पनि आधारभूत ज्ञान हुनै पर्छ । अनि लागे प्रिफेजको काम सिक्न । डिजाइन गरेपछि छाप्न सुरु गरेपछिको बीचको काम हो - प्रिफेज । बजारमा भर्खरै भित्रिएको प्रविधिसँग अभ्यस्त हुन सजिलो थिएन । पारंगत हुँदै थिए त्यहिबेला भेट भए- फाइन प्रिन्टका अजित बराल र निरज भारी ।

‘फाइन प्रिन्ट सुरुवाती कालमै थियो । अफिस पनि एउटा कोठामा थियो', सुवर्ण सुनाउँछन्, ‘घरबाट कम्प्युटर लगेर किताबको काम थालेँ ।' उनको डिजाइनमा आएको पहिलो किताब थियो, खगेन्द्र संग्रौलाको ‘आफ्नै आँखाको लयमा' । फाइन प्रिन्टसँगको सहकार्यले दुवैलाई फाइदा पुर्‍यायो । उनको डिजाइनमा निस्केका किताबले नेपाली पुस्तक बजारमै किताब डिजाइनिङका नयाँनयाँ मान्यता निर्माण गर्न थाले ।


 १४ वर्षे करिअरमा करिब तीन सय किताब डिजाइन गरिसकेका सुवर्ण हुमागाई स्वरोजगारको उदाहरण हुन् ।

व्यावसायिक प्रकाशनमा एउटा नयाँ मोड दिएको प्रकाशन संस्था फाइन प्रिन्ट स्थापित हुनुपछाडि डिजाइनिङमा ल्याएको नयाँ आयाम पनि हो । यो आयाममा विकास हुनुमा सुवर्णको पनि योगदान छ । अर्कोतर्फ, फाइन प्रिन्टसँगै उनी आफैं पनि स्थापित हुन पुगे । ६÷७ वर्ष काम गरेपछि फाइन प्रिन्ट छाडेर अहिले स्वतन्त्र व्यवसाय चलाइरहेछन् उनी । किताब डिजाइनदेखि स-साना डिजाइनिङका लागि उनीकहाँ ताँती नै लाग्छ ।

के हो डिजाइनिङ ?

धेरैलाई लाग्न सक्छ, डिजाइनिङ एक सीप हो । सुवर्ण भने फरक मान्यता राख्छन् । उनी यसलाई कला र प्रविधिको संयोजन ठान्छन् । भन्छन्, ‘डिजाइनिङ सुन्दर बनाउने कला हो । कागजमा आउने अक्षरलाई वाचाल बनाउने कर्म हो ।' प्राविधिक सीपसँगै यसमा कल्पना र सिर्जनशीलताको पनि आवश्यकता पर्छ । डिजाइनिङ केवल पुस्तक सजाउने काम मात्र होइन । अत्याधुनिक बजारमा जता पनि काम लाग्छ डिजाइनिङ- उत्पादित सामानको खोल बनाउनेदेखि विज्ञापन सामग्री बनाउनेसम्म । तर, राम्रो डिजाइनिङ गर्नु चानचुने काम भने होइन । सानो गल्ती भयो भने लाखौंको सामग्री बिग्रन सक्छ । केन्द्रीकृत भएर गरिने काम हो डिजाइनिङ । सुवर्ण भन्छन्, ‘प्रकृति नचिनी राम्रो डिजाइनिङ हुँदैन, काममा नयाँपन खोज्नुपर्‍यो भने म प्रकृति समिप पुग्छु ।'

कसरी बन्ने डिजाइनर ?

‘भित्रैबाट इच्छा हुनुपर्छ', सुवर्णको जवाफ छ । भित्रैबाट रहर नहुँदासम्म डिजाइनर हुन सकिँदैन । पहिले डिजाइनर बन्ने चाहना हुनुपर्छ । नयाँ-नयाँ सीप सिक्ने जाँगर नभएको मानिसलाई डिजाइनर हुन अप्ठ्यारो छ । रहर भएपछि तालिमको आवश्यकता पर्छ । विनातालिम डिजाइनर हुन गाह्रो छ । अचेल डिजाइनिङका स्कुल पनि खुलेका छन् । ग्राफिक्स डिजाइनिङ सिकाउने इन्स्टिच्युट पनि छन् । सिक्दासिक्दै भोलेन्टियर भएपनि काम गर्दा व्यावहारिक रूपमा झन् पोख्त भइने सुवर्णको सल्लाह छ । ‘डिजाइनिङ जान्न कम्प्युटर र टुल्स चलाउन जानेर मात्रै हुँदैन', सुवर्ण भन्छन्, ‘विषय बुझ्ने क्षमता र त्यसलाई प्रस्तुत गर्ने कला त आफैंले विकास गर्नुपर्छ ।'

स्वरोजगारको अवसर

डिजाइनिङ जान्नुका धेरै फाइदा छन् । पत्रिका कार्यालयदेखि विभिन्न कार्यालयमा रोजगारको अवसर पाउन सक्छ डिजाइनिङ सीपले । साथसाथै स्वरोजगारको अवसर पनि हो यो सीप । ‘डिजाइनिङको स्कोप संसारभर छ', सुवर्ण भन्छन्, ‘राम्रो डिजाइन गरेर नेटमा राखे पनि बजार पाइन्छ । घरमै बसेर पनि काम गर्न सकिन्छ ।' उनी आफैं पनि उल्लेखनीय आम्दानी गर्छन् । डिजाइनिङ यस्तो सीप हो जुन सिकेर पछुताउनु पर्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.