स्वदेशमै छ अवसर
वीरगन्जः साइकलमा चियाको थर्मस र गिलास बोकेर मिलन शाह बिहानीको झिसमिसेमै वीरगन्जको चोक-चोकमा पुग्छन् । चोकमा दुई÷चार जना मान्छे जम्मा भएको देख्नेबित्तिकै टक्क साइकल रोक्छन् । हर्बल चिया खाऊँ हजुर भन्दै थर्मसबाट गिलासमा चिया भरेर सामुन्नेको व्यक्तिलाई दिदैँ भन्छन्- ‘जडीबुटी हालेको चिया हो हजुर, यसले ग्यास्ट्रिक निको पार्छ, पेट पनि सफा गर्छ ।'
चिया पिउँदै गरेका ग्राहकलाई गफमा भुलाउँदै उनी भन्छन्, ‘धन्दा नमान्नुस् हजुर, यो महँगो छैन, कपको १० रुपैयाँ मात्र हो ।' दैलेख जिल्लाको नेपा गाविस-४ घर भएका मिलन शाहले साइकलमा कित्ली राखेर वीरगन्जमा चिया बेच्न थालेको धेरै भएको छैन । एक महिनादेखि उनले वीरगन्जका चोक-चोकमा पुगेर साइकलमा चिया बेच्दै आएका हुन् ।
चियाका लागि आवश्यक सरसामान साइकलमा हालेर मिलन बिहान चार बजे नै कोठाबाट निस्किन्छन् । आदर्शनगर, घन्टाघर, माईस्थान, बसपार्कलगायत स्थान जहाँ मान्छेको चहलपहल बढी हुन्छ त्यहाँ उनी पुग्छन् । बिहान वीरगन्ज नगरको एक फन्को पूरा गरेपछि उनी खाना खाएर साइकलमा बन्दोबस्ती मिलाइएको चिया पसल लिएर सीमावर्ती भारतको रक्सोल बजारमा पनि पुग्छन् ।
‘वीरगन्जमा चिया बेच्न लागेको लगभग एक महिनाजति भयो होला', उनी भन्छन्, ‘रक्सोलमा त दुई महिनादेखि चिया बेच्दै आएको छु, वीरगन्जमा भन्दा रक्सोलमा मेरो चियाको पारखी बढी छन् ।' वीरगन्ज र रक्सोलमा गरी दैनिक अढाई सयदेखि तीन सय कपसम्म चिया बेच्दै आएको मिलन बताउँछन् । उनी चिया बेचेरै मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म नाफा कमाउँछन् । ‘महिनामा धेरै त होइन ३०÷३५ हजार आम्दानी भइरहेको छ', मिलन भन्छन्, ‘यही चियाको कमाइले तीन जना छोराछोरीलाई बोर्डिङमा पढाइरहेको छु ।'
राजनीतिशास्त्रमा स्नातक गरेका मिलन द्वन्द्वका बेला माओवादीका कार्यकर्ताले दुःख दिएपछि ०५६ सालमा मुलुक छाडेर भारतको उत्तर प्रदेश विस्थापित भएका थिए । उत्तर प्रदेशको बलरामपुरमा उनले निजी विद्यालयमा अध्यापन पेसामा केही वर्ष बिताए । त्यसपछि बिहारको बेगुसराय जिल्लाको मन्सुरमा पनि एक निजी विद्यालयमा शिक्षकका रूपमा काम गरे ।
चिया बेच्ने मेरो वास्तविक पेसा हुँदै होइन, देशमा अवसर छैन् भनी पलायन हुनेलाई सन्देश दिन मात्र यो पेसा गरेको हुँ’ मिलन भन्छन् । शिक्षण पेसा छाडेर चिया बेच्न थालेका मिलन काम गर्ने जाँगर गरे देशमै अवसर भएको सावित गर्न चाहन्छन् ।
विदेशी भूमिमा बस्न मनले नमानेपछि स्वदेशमै केही गर्ने इच्छाशक्ति लिएर उनी वीरगन्ज आएर चिया बेच्न थालेका हुन् । ‘चिया बेच्ने मेरो वास्तविक पेसा हुँदै होइन, देशमा अवसर छैन भनी पलायन हुनेलाई सन्देश दिन मात्र यो पेसा गरेको हुँ', मिलन भन्छन् । शिक्षण पेसा छाडेर चिया बेच्न थालेका मिलन काम गर्ने जाँगर गरे देशमै अवसर भएको सावित गर्न चाहन्छन् ।
काम सानो, ठूलो भनेर लाज मान्ने व्यवहारले नेपाली युवा पछाडि परेको उनको गुनासो छ । उनले चिया बेचेर राम्रै आम्दानी गर्न थालेको देखेपछि वीरगन्जमा रिक्सा चलाउँदै आएका तीन जना युवाले रिक्सा चलाउन छाडी साइकलमा चिया बेच्दै हिँडेको उनको अनुभव छ ।
केही समयपछि हेटौंडा पुगेर यसरी नै साइकलमा चिया पसल राखेर बेच्ने योजना रहेको उनी बताउँछन् । हेटौंडामा दुई महिना बसेपछि नारायणगढ र काठमाडौंमा पनि पुगेर साइकलमा चिया बेच्ने उनको योजना छ ।
वीरगन्जको घन्टाघर चोकमा आइतबार बिहान साइकलमा थापेको चियापसलबाट चिया बेच्दै मिलन शाह । तस्बिरः क्रान्ति शाह