बायोडाटामा हुने आम गल्ती कसरी हटाउने ?
कुनै पनि जागिरका लागि आवेदन गर्न बायोडाटा चाहिन्छ । बायोडाटाबाटै धेरैजसो रोजगार प्रदायकले आवेदकप्रति धारणा बनाउने गर्छन् । तर, अधिकांशका लागि बायोडाटा बनाउनु निकै चुनौतीपूर्ण हुने गर्छ । धेरैजसोले त अरूको बायोडाटा हेरेर त्यसकै नक्कल गर्छन् । यसो गर्दा बायोडाटामा आम गल्ती दोहोरिन्छन् । बायोडाटामा हुने आम गल्ती र त्यसबाट जोगिने उपाय यस्ता छन्ः
१. खोज नगर्नु
प्रायःले बायोडाटा बनाउँदा गर्ने गल्ती हो- खोज नगर्नु । तपाईंले आवेदन दिन लाग्नुभएको कम्पनी कस्तो हो, उसले कस्तो कर्मचारी खोजिरहेको छ आदिबारे थाहा पाएपछि मात्र त्यसअनुरूप बायोडाटा बनाउन सकिन्छ । त्यो थाहा नपाई बनाउने बायोडाटामा आफूबारे सामान्य जानकारी मात्र हुन्छ । खोजिएको पेसाका लागि तपाईंको योग्यता सावित गर्ने ठाउँ नै रहन्न ।
बायोडाटामा कुनै शब्द लेख्नुभन्दा पहिला सकेजति खोज गर्नुहोस् । आवश्यकता र त्यसका लागि चाहिने सीप र ज्ञान केके हुन् प्रस्ट हुनुहोस् । आफूसँग त्यो भनेको प्रमाणित गर्नुहोस् ।
२. अनुभवको कम व्याख्या
तपाईंको पूर्वअनुभव रोजगार प्रदायकको मुख्य चासो हो । त्यही आधारमा आवेदन गरेको पेसा अनुकूल छ÷छैन हेरिन्छ । त्यसैले बायोडाटामा पहिले गरिएको कामको व्याख्या गर्नै पर्छ ।
बायोडाटा तयार गर्दा कुन कम्पनीमा काम गरेकोबाट सुरु गर्नुहोस् । त्यहाँ कुन तहमा काम गर्नुभएको थियो उल्लेख गर्नुहोस् । त्यसपछि त्यस काममा आफ्ना जिम्मेवारी बुँदागत रूपमा उल्लेख गर्नुहोस् । तपाईंले हासिल गर्नुभएका उल्लेखनीय उपलब्धिले पनि आकर्षण बढाउन सक्छ ।
३. आफ्नो प्रभाव नदेखाउनु ।
तपाईंले गरेको काम देखाउनु निकै फलदायी हुन्छ । त्यो भन्दा बढी तपाईंको कामको प्रभाव देखाउनुमा हुन्छ । पहिले गरेको काममा तपाईंले पार्नुभएको प्रभाव नदेखाउँदा जागिर पाउने ठूलो सम्भावना कमजोर भइरहेको हुन्छ ।
जस्तै, यदि कुनै कम्पनीले सम्बन्ध बनाउन सक्ने व्यक्ति खोजिरहेको छ भने विनापरिणाम त्यो काम देखिँदैन । तपाईंले आफूले पहिले यससम्बन्धमा गरेको काम, त्यसका परिणाम बताएर आफ्नो प्रभाव पुष्टि गर्न सक्नुहुन्छ ।
४. क्लिसेको प्रयोग
‘मिहिनेती', ‘सिर्जनशील'जस्ता शब्दले बायोडाटा प्रभावकारी बनाएजस्तो देखिए पनि यिनले बायोडाटा नै बिगारिदिन्छन् । यस्ता शब्द अति धेरै प्रयोग गरिसकेका छन् र यिनले तपाईंबारे धेरै बोल्दैनन् ।
यदि, तपाईं जागिर प्रदायकलाई मिहिनेती भएको पुष्टि गर्न चाहनुहुन्छ भने तपाईंले गरेको काम र परिणामबारे संक्षिप्त उल्लेख गर्नुहोस् । यसले तपाईं र तपाईंको कामबारे बुझ्न मद्दत गर्छ ।
५. अति धेरै सूचना
जागिर आवेदकसँग धेरै बायोडाटा पुगेका हुन्छन् । उनीहरू समयको पावन्दीमा पनि हुन्छन् । यदि, तपाईंको बायोडाटा सात पेज लामो छ भने त्यसले तपाईंको सम्भावना नै घटाइदिन्छ । त्यसैले बढीमा दुई पेजको बायोडाटा बनाउनुहोस् । यदि, तपाईंको बायोडाटा लामो भइरहेको छ भने हरेक बुँदा जाँच्नुहोस् र यो बुँदा पढेर जागिर दिन्छ होला त ? भनेर आफैंसँग प्रश्न गर्नुहोस् ।
५. झुट
कतिपय आवेदकले बायोडाटामा झुट बोल्छन् । शैक्षिक योग्यता, अनुभव आदिबारे झुटो लेख्छन् । त्यस्तो झुट लेख्नु खतरनाक हुन्छ । कसैगरी जागिर पाउने सम्भावना पनि झुट पत्ता लाग्यो भने गुम्छ । त्यसैले बायोडाटामा झुट लेख्दै नलेख्नुस् ।
(‘गार्जियन'बाट)