इजिप्टमा तीन महिनाका लागि संकटकाल
एजेन्सी : चर्चमा भएको बम आक्रमणका कारण इजिप्टमा तीन महिनाका लागि संकटकाल लगाइएको छ । इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सीसीले तीन महिनाका लागि देशमा संकटकाल घोषणा गरेका हुन् ।
आइतबार इजिप्टको टन्टा सहरको एक चर्चमा बम आक्रमण हुँदा ४५ भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । राष्ट्रपति सीसीले संकटकालसँगै देशभर सेना परिचालन गर्ने निर्णय गरेका छन् ।
उनले टेलिभिजन मार्फत जनताका नाममा सम्बोधन गर्दै तीन महिनाको संकटकालमा आवश्यक कदम उठाईने जानकारी दिए ।
बम आक्रमणमा मारिनेका नाममा तीन दिनसम्म देशमा राष्ट्रिय शोकको समेत घोषणा गरिएको छ । बम आक्रमण हुँदा चर्चका मुख्य पोप पनि घटनास्थलमै थिए । उनी भने सुरक्षीत रहेको बताइएको छ ।