मन्त्रिपरिषदको बैठक सिंहदरवारमा शुरु
काठमाडौं : मन्त्रिपरिषदको बैठक २५ दिनपछि सोमबार सिंहदरवारमा शुरु भएको छ । झण्डै तीन घण्टाको अनौपचारिक छलफलपछि मन्त्रिपरिषदको बैठक शुरु भएको हो ।
उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाको वरियता विवादका कारण चैत ३ गतेपछि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन। बैठकमा नयाँ प्रहरी महानिरीक्षक,संविधान संशोधन नयाँ बिधेयक पारित गर्ने लगायतका एजेण्डा रहेका छन्।
नयाँ आइजीपी नियुक्त गर्ने कसरतमा प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गर्ने कसरतमा जुटनु भएको छ । मन्त्रिपरिषदको सोमबार अपरान्ह सिंहदरवारमा बस्ने बैठकबाट नयाँ आइजीपी नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डले कसरत गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र मुख्यसचिव सोमलाल सुवेदीलाई आफनै सरकारी निवास बालुवाटारमा बोलाएर छलफल गर्नु भएको छ । अनिश्चित बनिरहेको मन्त्रिपरिषद बैठक गृहमन्त्री निधि र मुख्य सचिव सुवेदीसँगको परामर्शपछि बस्ने सुनिश्चित भएको बालुवाटार स्रोतले जनाएको छ । गृहमन्त्री निधिले आफूलाई बरिष्ठ उपप्रधानमन्त्री नबनाएसम्म मन्त्रिपरिषद बैठकमा सहभागी नहुने र आफना एजेण्डा प्रधानमन्त्री र मुख्य सचिवलाई बैठक अगाडि नै दिने बताउँदै आउनु भएको छ ।
एक महिना अगाडि डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो भने उपप्रधानमन्त्री निधि र कमल थापाको वरियता विवादका कारण एक महिनादेखि मन्त्रिपरिषदको बैठक पनि बस्न सकिरहेको छैन । स्रोतका अनुसार मन्त्रिपरिषदले डीआइजीद्धय नवराज सिलवाल र प्रकाश अर्याल मध्ये एकलाई नयाँ आइजीपी बनाउने संभावना छ ।
अर्यालका पक्षमा समर्थन जुटाउन मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने स्रोतले जनाएको छ । देउवासँग टेलिफोनमा छलफल गरेर भएपनि प्रधानमन्त्री प्रचण्ड नयाँ आइजीपी सोमबारकै मन्त्रिपरिषदबाट नियुक्त गर्ने प्रयासमा छन् ।
संविधान संशोधन विधेयक पारित गर्ने संभावना
संसदको प्रक्रियामा रहेको संविधान संशोधनको बिधेयक फिर्ता लिएर नयाँ संशोधन बिधेयक संसदमा लैजान मन्त्रिपरिषदले नयाँ बिधेयक पारित गर्ने संभावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।
सीमाङकनलाई संघीय आयोग मार्फत स्थानीय तहको निर्वाचनपछि टुंगो लगाउने गरी नागरिकता,भाषा,निर्वाचन क्षेत्र,राष्ट्रिय सभामा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको मताधिकार कटौती,सीमाङकन संघीय आयोगलाई जिम्मा लगाउने गरी नयाँ बिधेयक प्रधानमन्त्री प्रचण्डले तयार पार्नु भएको छ ।
सो नयाँ बिधेयक माथि प्रधानमन्त्री प्रचण्डले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव,तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आइतवार बालुवाटारमा छलफल गरेका थिए ।