युवा व्यवसायी केसी सम्मानित
काठमाडौंः दाङका समाजसेवी तथा युवा व्यवसायी यज्ञवहादुर केसी सम्मानित हुनु भएको छ।
सुविधा सम्पन्न हल निर्माणका लागि एक करोडभन्दा बढी पर्ने जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई प्रदान गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सोमबार कदरपत्रसहित सम्मान गरेको हो।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित वाणिज्य महासंघको ५१ औं महाधिवेशनको उद्घाटन समारोहमा सम्मान गर्नु भएको थियो। केसीले केहीसमय अघि सुविधासम्पन्न हल निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने तुलसीपुर उपमहानगरपालिकामा रहेको चार कठ्ठा जग्गा तुलसीपुर उद्योग वाणिज्य संघको नाममा पास गरिदिनु भएको थियो।
यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले केसीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो। केसी उद्योग वाणिज्य संघको मानार्थ सदस्यता पाउने केसी पहिलो व्यवसायी हुन्।