एमालेलाई देउवाको प्रश्न–सीमामा विदेशीको गोली खाने मधेसी कसरी राष्ट्रघाती भए?
तुलसीपुरःनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमाको सुरक्षा गर्ने मधेसी जनतालाई राष्ट्रघाती भनेर एमालेले ठूलो भुल गरेको आरोप लगाउनु भएको छ। उहाँले सीमाको रक्षा गर्दा विदेशीको गोलीको सिकार हुने मधेसी जनता कसरी राष्ट्रघाती भए भन्ने प्रश्नको जवाफ एमालेले दिनु पर्ने बताउनुभयो।
प्रादेशिक चुनावी आमसभा कार्यक्रम अन्तर्गत प्रदेश नम्बर ५ काे सोमबार दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले भन्नुभयो,‘ सीमाको सुरक्षा गर्दा गर्दै विदेशीको गोलीको सिकार हुने नेपालका मधेसी जनता कसरी राष्ट्रघाती भए, यसको जवाफ एमालेले दिनुपर्छ। ’
‘आदिवासी जनजातिले नेपालको संस्कृति बचाएका छन् भने मधेसी जनताले सीमा बचाइराखेका छन्। उनीहरुबीचमा कसैले फाटो ल्याउन खोज्छ भने त्यो अतिवाद हो,’ उहाँले भन्नुभयो। देउवाले मधेसमा वितन्डा मच्चाएर एमालेले स्थानीय तहको निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउनु भयो। देउवाले भन्नुभयो, ‘एमालेले मधेसी र पहाडीबीचको परम्परागत सद्भावलाई बिग्रादै गएको छ। तर, काँग्रेसले सद्भाव कायम गर्न अभियान तीब्र पारेको छ। एमालेको उग्र राष्ट्रवादका कारण मुलुकले लामो आन्दोलनपछि प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढेर गएको छ।’
देउवाले हिमाल, पहाड र तराई मधेसका नाममा जनताबीच झगडा गराएर राष्ट्रलाई उधो गतितिर धकेल्ने चेष्टा नगर्न एमालेलाई चेतावनीसमेत दिनुभयो। ‘सबैका अधिकार स्थापित गर्ने बेला जातजाति, क्षेत्रीयताको नारा लगाएर एमालेले झगडा गर्न खोजिरहेको छ,’ देउवाले भन्नुभयो,‘म यहीबाट एमालेलाई चेतावनी दिन्छु यो कार्य तत्काल रोकियोस् नत्र नराम्रो हुन्छ।’ एकताको आवश्यकता रहेका बेला एमालेले मुलुक विखण्डनको बाटो खोजिरहेको बताउनुभयो।
उहाँले मधेसी थारु आदीवासी जनजाति महिलाको अधिकार संस्थागत गर्न संविधान संशोधन हुनुपर्ने वताउनु भयो। उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई घात गर्नेहरुलाई पार्टीमा कहिले पनि फर्कन नदिने गरी कारवाही र निष्काशन गर्न समेत चेतावनी दिनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले काँग्रेसलाई लगाउँदै आएको आरोपको खण्डन गर्नु उपयुक्त नहुने बताउनुभयो। ‘बिना आधार र बिना तुकका कुरा गर्दै एमाले हिड्ेको छ, त्यसकारण खण्डन गर्नुको कुनै अर्थ छैन,’ पौडेलले भन्नुभयो,‘एमालेले नारा लगाउँदै हिड्छ, काँग्रेस काम गर्दै अगाडि बढ्छ।’ उहाँले नारा लगाएर जनतालाई झुक्याउनुभन्दा काम गरेर देखाउन एमालेलाई आग्रहसमेत गर्नुभयो।
यस्तै, महामन्त्री डा. शशांक कोइरालाले काँग्रेस एक भएर चुनावमा जानुपर्ने बताउनुभयो। ‘अब काँगे्रेसले बागी उम्मेदवारका लागि उदारता देखाउँदैन, जसले पार्टीलाई हराउन खोज्छ, त्यसलाई तत्काल सदस्यता खारेजी गरिन्छ,’ कोइरालाले भन्नुभयो।