सरकारले डराएर चुनावमा सेना खटाउँदैछः उपेन्द्र
पर्साः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा चुनाव हुन नसक्ने अवस्था देखिएपछि त्रसीत बनेको सरकारले स्थानीय तहको निर्वाचनमा नेपाली सेना खटाउने निर्णय गरेको बताउनु भएको छ।
पर्साको श्रीपुरपचगावामा सोमबार फोरम नेपाल पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेना र फौजको बलमा जबरजस्ती चुनाव गर्न खोजिए स्थिति झन् भयावह हुने चेतावनी पनि दिनुभयो। ‘मुलुकलाई झन् ठूलो संकटमा फसाउन सरकारले सेना लगाएर चुनाव गराउन खोज्दैछ, यादवले भने,‘ विश्वमा सेना र फौजको आडमा गराइएको चुनावले कतै पनि मान्यता पाएको छैन। सेना खटाएर गरिएको चुनाव निष्पक्ष पनि हुँदैन। मधेसमा पनि यदि सरकारले सेनाको बलमा जबरजस्ती चुनाव गरायो भने त्यो चुनावको पनि कुनै अर्थ हुँदैन।’
मधेसको स्थानीय तहमा कब्जा गर्न ठूला तीन दलले सेना खटाएर चुनाव गराउन लागेको आरोप यादवले लगाउनुभयो। संविधान संशोधन गरेर मधेसी मोर्चाको माग सम्बोधन नगरिएसम्म चुनाव हुनै नदिने अध्यक्ष यादवले दाबी गर्नुभयो। ‘यदि संविधान संशोधन भएन भने यो मुलुकमा चुनाव सुनाव हुँदैन, फेरि संघर्ष शु्रु हुन्छ,’उनले भने,‘ त्यसैले हामी भन्दैछौं पहिला अधिकार अनि त्यसपछि मात्र चुनाव। होइन भने मधेसीको घाँटी रेट्ने चुनाव हामीलाइ चाहिएको छैन, हामीले हुन पनि दिन्नौं।’
मधेसलाई पाँच टुक्रा पारेर बनाइएको अहिलेको सात प्रदेश मधेसी जनतालाई कदापी स्वीकार्य नहुने भन्दै यादवले पर्सादेखि सप्तरीसम्मका जिल्लालाई समेटेर बनाइएको अहिलेको प्रदेश नम्बर २ भविष्यमा देशकै दरिद्र प्रदेशका रुपमा स्थापित हुने बताउनुभयो। सरकार र तीन ठूला दल संविधान संशोधन गरी मधेसको माग पुरा गर्ने मनस्थितिमा नरहेको भन्दै उहाँले आन्दोलनका लागि तयारी अवस्थामा रहन मधेसी जनतासंग आग्रह पनि गर्नुभयो।