अदालतको फैसला कार्यान्वयन गर्न आग्रह
काठमाडौँ: क्यासिनो नेपालका पीडित मजदुरले क्यासिनो माजोङलाई सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।
यहाँ आज पत्रकार सम्मेलन गरी उनीहरुले सर्वोच्च अदालतले नौ महिनाअघि नै दिएको निर्देशन पालना गरी आफ्नो सबै बक्यौता रकम चुक्ता गरिदिन क्यासिनो सञ्चालकलाई आग्रह गरे। पीडित मजदुरद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– “आफूहरुले मजदुर क्यासिनो नेपालमा लामो समयदेखि स्थायी कामदारका रुपमा कार्यरत रहे पनि आफ्नो धेरै रकम उठ्न बाँकी छ।”
मजदुरको तलबभत्ता, सुविधा र अन्य रकम माजोङ इन्टरटेनमेन्ट प्रालिले तिर्नुपर्ने हो भन्ने विषयमा अदालतबाट विसं २०७३ साउन १८ गते भएको फैसलामा क्यासिनो माजोङ इन्टरटेनमेन्ट प्रालिले नै तलबभत्तालगायत अन्य सुविधा तिर्नुपर्ने निर्णय गरे पनि कार्यान्वयन नहुँदा पीडित मर्कामा परेका छन्। पीडित हिक्मत भण्डारीका अनुसार ४९ जना पीडित यस्तो समस्यामा परेका छन्। अदालतले दिएको निर्देशनसमेत पालना हुन नसक्दा आफूहरुले देशमा कानुन भएको महसुस गर्न नपाएको उनीहरुले बताएका छन्। रासस