'सञ्चारमाध्यमले गर्दा जिब्रो छेड्ने भएँ'
भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नपा ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सञ्चारमाध्यमका कारण जिब्रो छेड्न बाध्य भएको बताउनुभएको छ । बिस्केट जात्राअन्तर्गत मध्यपुरको बोडेमा वैशाख २ गते हुने जिब्रो छेड्ने जात्राको व्यवस्थापनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, 'मैले जिब्रो छेड्ने मनसायमात्रै व्यक्त गरेको थिएँ तर म पूरा प्रतिबद्ध नहुँदै सञ्चारमाध्यमले प्रचार गरिहाले, जसले गर्दा म जिब्रो छेड्न अघि सर्न बाध्य भएँ ।'
विगत आठ वर्ष लगातार जिब्रो छेड्दै आएका जुजुभाइ बासँ श्रेष्ठले यस वर्ष घरायसी समस्याका कारण जिब्रो नछेड्ने घोषणा गर्नुभएको थियो । उहाँले जिब्रो नछेड्ने घोषणा गरेपछि बुद्धकृष्णले इच्छा व्यक्त गर्नुभएको हो । 'नयाँ युवाहरू आएसम्म मैले जिब्रो नछेड्ने हिसाबले सार्वजनिक रूपमा घोषणा गरेको थिइनँ', पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, 'तर सञ्चारमाध्यमले मैले जिब्रो छेड्ने भए भनी पहिल्यै प्रचार गर्दा अरू युवाले मौका पाएनन् ।'
पत्रकार सम्मेलनमा आधिकारिक रूपमा यस वर्ष आफूले जिब्रो छेड्ने घोषणा गर्दै उहाँले ख्याति पाउन तथा पैसा कमाउन जिब्रो छेड्न नलागेको जानकारी दिनुभयो । 'जिब्रो छेड्ने जात्रा बोडेको मात्रै होइन, विश्वकै हो । यो जात्रासँग बोडेको पहिचान र गौरव गाँसिएको छ', उहाँले भन्नुभयो, 'त्यही पहिचान र गौरवलाई जीवन्त राख्न जिब्रो छेड्न अघि सरेको हुँ ।'
यसअघि आठ वर्षसम्म लगातार जिब्रो छेडाएका जुजुभाइ बासँ श्रेष्ठले आर्थिक अभावभन्दा व्यवस्थापन हुन नसक्दा जात्रा सकसपूर्ण अवस्थाबाट अघि बढिरहेको बताउनुभयो ।
केन्द्र सरकार र स्थानीय सरकारको कुनै साथ र सहयोगबिना जात्राले अहिलेसम्म निरन्तरता पाउनु ठूलो उपलब्धि भएको उहाँको भनाइ छ ।
पत्रकार सम्मेलनलगत्तै बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने जात्राका पमासामु चार दाम चढाउनुभएको थियो । जिब्रो छेड्ने व्यक्तिले पमासामु चार दाम चढाएपछि मात्रै आधिकारिक रूपमा जिब्रो छेड्न पाउँछन् ।
मध्यपुर थिमी नपा ८ बोडेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जिब्रो छेड्ने घोषणा गर्दै स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठ । अन्नपूर्ण