एनजीओले अलपत्र छोडे स्वास्थ्यचौकी भवन
गोरखा : गोरखामा रहेका एनजीओ, आईएनजीओले जिल्लाका धेरै स्वास्थ्यचौकी भवन पुनर्निर्माणको काम जिम्मा लिएर अलपत्र छाडेका छन् ।सबैभन्दा धेरै भवन पुनर्निर्माणको जिम्मा लिएको यूएन एजेन्सीको रूपमा रहेको युनिसेफ, इन्टरनेसनल मेडिकल क्रप्स (आईएमसी) र गुडनेभर इन्टरनेसनलले भवनको काम गर्न नसकेका हुन् । नेदरल्यान्ड लेप्रोसी रिलिफ (एनएलआर) ले भने स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डविपरीत भवन बनाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
भूकम्पले भत्किएका ५५ स्वास्थ्यचौकीमध्ये विभिन्न एनजीओ, आईएनजीओले ४८ वटाको पुनर्निर्माण गरिदिने जिम्मा लिएका थिए । डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि ती एनजीओ, आईएनजीओले काम नगरेपछि जिल्ला स्वास्थ्य कार्यालयले तीन महिना समय थप गरेको थियो । थप समयभित्र पनि काम नभएको कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै युनिसेफले १२ वटा स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरेको थियो तर अहिलेसम्म जम्मा एउटा मात्र भवन निर्माण गरेको जनस्वास्थ्य कार्यालयका एनजीओ शाखाका नानीबाबु दानीले जानकारी दिनुभयो । ‘दर्बुङ स्वास्थ्यचौकी भने पुनर्निर्माण गरेर हस्तान्तण गरेको छ’, दानीले भन्नुभयो, ‘छोप्राक, आरुपोखरी, बारपाक, लाप्राक, गुम्दा, नामजुङ, माछीखोला, तारानगर, बक्राङ, फुजेल र मझुवा देउराली स्वास्थ्यचौकी भवन निर्माण गर्नुपर्ने छ । नाम्जुङ, फुजेल, बक्राङ, मझुवा हेल्थपोस्टको काम अन्तिम चरणमा पु¥याइएको छ । तारानगर, लाप्राक, माछीखोला स्वास्थ्यचौकीको काम १६ महिना बितिसक्दासम्म सुरु भएको छैन ।’
छोप्राक, आरुपोखरी, बारपाक, लाप्राक, गुम्दा, नामजुङ, माछीखोला, तारानगर, बक्राङ, फुजेल र मझुवा देउराली स्वास्थ्यचौकी भवन निर्माण गर्नुपर्ने छ । नाम्जुङ, फुजेल, बक्राङ, मझुवा हेल्थपोस्टको काम अन्तिम चरणमा छ । तारानगर, लाप्राक, माछीखोला स्वास्थ्यचौकीको काम १६ महिना बितिसक्दासम्म सुरु भएको छैन । -नानीबाबु दानी जनस्वास्थ्य कार्यालय, एनजीओ शाखा
आईएमसीले सातवटा स्वास्थ्यचौकी निर्माणका लागि सबैभन्दा पहिले सम्झौता गरेको थियो । अहिलेसम्म जम्मा एउटा ताप्ले स्वास्थ्यचौकी निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । ‘सौरपानी र मुच्चोकको काम सुरु भएको छ’, दानीले भन्नुभयो, ‘खरीबोट, घ्याच्चोक, स्वाँरा र आरुआर्बाङ स्वास्थ्यचौकीको काम अहिलेसम्म सुरु पनि भएको छैन ।’
केयर नेपालले जिम्मा लिएका तीनमध्ये उहिया स्वास्थ्यचौकी निर्माणको काम अहिलेसम्म सुरु नगरेको कार्यालयले जनाएको छ । गाँखु र हर्मीको भने निर्माण सम्पन्न भएको छ । ‘एनएलआरले मिरकोट स्वास्थ्यचौकी बनाएको थियो तर ‘थर्ड क्लास’ दानीले भन्नुभयो, ‘मापदण्डविपरीत बनाएको छ । ट्वाइलेट पनि बनाएको छैन । सम्झौताविपरीत बनेको भवन हामी बुझ्दैनौं ।’
गुडनेभर इन्टरनेसनल (जीएनआई) ले चारवटा स्वास्थ्यचौकी भवन पुनर्निर्माणको काम निर्धारित समयभित्र सम्पन्न गर्न नसकेपछि तीन महिना समय थपिएको थियो । थपिएको तीन महिना बितिसक्दा पनि भवन हस्तान्तरण नभएको कार्यालयले जनाएको छ । जीएनआईले फिनाम, थुमी, मान्बु र लापु स्वास्थ्यचौकी निर्माणको जिम्मा लिएको थियो ।सम्झौताअनुसार डिसेम्बरभित्र पाँचवटा मात्र निर्माण भएका थिए भने अहिलेसम्म जम्मा १० वटा स्वास्थ्य संस्थाको मात्रै भवन बनेको जनस्वास्थ्य कार्यालयका दानीले बताउनुभयो ।
असल छिमेकी नेपाल पोखरा र सेभ द चिल्ड्रेनले जिम्मा लिएका स्वास्थ्यचौकी भने निर्माण सम्पन्न भइसकेका छन् । असल छिमेकीले श्रीनाथकोट, आँपपीपल, घैरुङ, भुम्लीचोक र घ्याल्चोकको भवन निर्माण डिसेम्बरमै पूरा गरेको थियो । सम्झौताभित्रैको समयमा भवन निर्माण पूरा गरेको भन्दै उक्त संस्थालाई जिल्ला जनस्वास्थ्य कार्यालयले सम्मान पनि गरेको छ ।
फेज नेपालले जिम्मा लिएको काशीगाउँ र केरौंजाको भवन निर्माण सकिएको छ । भूकम्पले क्षति पुगेकामध्ये स्वाँरा स्वास्थ्यचौकी अझै पनि त्रिपालमा छ । भवन बन्न बाँकी अरू स्वास्थ्यचौकीले पनि अस्थायी टहरा, भाडाका साँघुरा संरचनाबाट सेवा दिनुपर्दा कठिनाईभएको स्वास्थ्यकर्मीले बताएका छन्।