सिरिया आक्रमणविरुद्ध रूस र इरानले प्रतिवाद गर्ने
दमास्कस: सिरियामा भएको अमेरिकी आक्रमणको विरोध गर्दै उसका सहयोगी रूस र इरानले त्यसको प्रतिवाद गर्ने जानकारी दिएका छन् ।मास्कसस्थित रूस र इरानको संयुक्त केन्द्रले सिरिया र यहाँका जनताको सम्प्रभुतामाथि अमेरिकी आक्रमण खतरनाक उदाहरण भएको बताएको छ ।
समाचार समिति सिन्ह्वाले उनीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले सिरियामा आक्रमण गरेर सबै सीमा पार गरेको छ । यस्ता कुनै पनि आक्रमण सिरियामा भए त्यसको मुखभरि जवाफ दिइने छ । हाम्रो क्षमतासँग अमेरिका राम्ररी परिचित छ ।’अमेरिकाद्वारा सिरियाली सेनाको वायु अखडामाथि आक्रमण भएपछि आफूहरूले पनि सैन्य सहयोग गर्नुपरेको उनीहरूले बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।
अमेरिकाले बिहीवार होम्स प्रान्तको शायरात हवाई अड्डामा करिब ६० टमहाक क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त आक्रमणमा ५ सिरियाली सैनिकसहित नौ नागरिक मारिएका थिए । मारिनेमा चारजना बालबालिका पनि छन् । आक्रमणमा नौवटा लडाकु विमान ध्वस्त भएका छन् । मंगलवार सिरियाली वायुसेनाले सर्वसाधारणमाथि रासायनिक आक्रमण गरेको प्रतिकारमा अमेरिकाले यस्तो आक्रमण गर्नुपरेको पुष्टि गरेको छ ।
अमेरिकाले भने सिरियामाथिको आक्रमण उचित भएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त क्षेप्यास्त्र संसारका तर्फबाट गरिएको दाबी गरेका छन् । रासायनिक आक्रमण गरेर १ सयभन्दा बढी निर्दोष व्यक्तिको हत्या गर्नेमाथि यस्तो आक्रमण गरेर राम्रो कदम चालेको उनको दाबी छ । अमेरिकाको सहयोगी बेलायतले पनि उक्त नरसंहारमा रूसको हात रहेको आरोप लगाएको छ ।
संयुक्त केन्द्रले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्दैमा कसैको स्वाधीनता नष्ट गर्न नसकिने स्पष्ट पारेको छ । सिरियाको उत्तरी भागमा अमेरिकी सेना अवैध रूपमा तैनाथ गरिएको खुलासा गरिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति हसन रुहानीले रासायनिक आक्रमणको जाँच गर्न माग गरेका छन् । अमेरिकाले भने उक्त आक्रमण सिरियाली सेनाले गरेको बताउँदै आएको छ । अमेरिकाले सन् २०१३ मा भएको सम्झौताअनुसार सिरियामा रहेका रासायनिक हतियार नष्ट गर्न रूसले सहयोग नगरेको आरोप लगाएको छ ।
सिरिया विवाद बढ्दै गएपछि रूसले अमेरिकासँगको हट लाइन पनि बन्द गरेको छ । सिरियामा रूस र अमेरिकाको सेनाबीच भिडन्त नहओस् भनेर उक्त हट लाइनमार्फत आपसमा सूचना साटासाट गर्ने गरेका थिए । रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले अमेरिकाले सिरियामा आक्रमण गरेर रूससँग भिडन्त गर्न खोजेको धारणा सार्वजनिक गरेका छन् ।
रूसले क्रुज क्षेप्यास्त्रसहितका युद्धक विमान कृष्ण सागरबाट सिरियाको बन्दरगाहमा तैनाथ गर्न आदेश दिइसकेको छ । यसका साथै पुटिनले सिरियामा साविकको भन्दा बढी संख्यामा भुइँबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र एस–४०० र एस–३०० तैनाथ गर्न भनिसकेका छन् ।
टाढिँदै ट्रम्प–पुटिन
एक साताअघिसम्म रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच निकट सम्बन्ध भएका आशंका गरिन्थे । रूसी ह्याकरकै सहयोगमा ट्रम्प राष्ट्रपतिमा विजयी भएका दाबी गरिएका थिए । अमेरिकी गुप्तचर निकायका पूर्वअधिकारीले पनि ट्रम्पलाई पुटिनको सहयोग रहेको आशंका गरेका थिए । ट्रम्पको विजयसँगै अमेरिका र रूसबीच वार्ता भई सिरियन द्वन्द्वको निकास निस्कने अपेक्षा गरिएको थियो ।
अमेरिकाले सिरियामा क्षेप्यास्त्र आक्रमण गरेपछि दुई नेताबीच निकै कटुता देखापरेको छ । अमेरिकी आक्रमणपछि रूस निकै आक्रामक रूपमा बल असर असदको समर्थनमा देखिएको छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएपछिको यो पहिलो सैन्य आक्रमण हो । सिरियामाथिको यो कदमले ट्रम्पको सफलता मापन गर्ने विषय बन्न सक्छ । यो आक्रमणकै कारण पुटिन अझ असदको नजिक पुगेका छन् ।
सिरियामा भएको रासायनिक आक्रमणमा रूसको हात रहेको अमेरिकी दाबी छ । सन् २०१३ मा पनि असदको सरकारले रासायनिक आक्रमण गरेको अमेरिकी दाबी थियो । त्यतिखेर बाराक ओबामा प्रशासनले सिरियामा आक्रमण गर्ने तयारी गरेको थियो । रूसले सिरियामा त्यस्ता हतियार भेटिए नष्ट गर्ने बताएको थियो । त्यसयता अमेरिकाले सिरियामा रहेका रासायनिक हतियार रूसले बचाउन खोजेको आरोप लगाउँछ भने रूसले त्यस्ता हतियार नै नभएको दाबी गर्छ ।