सातै प्रदेशमा इन्धन भन्डारण क्षमता विस्तार गरिँदै

सातै प्रदेशमा इन्धन भन्डारण क्षमता विस्तार गरिँदै

काठमाडौं : नेपाल आयल निगमले संघीय संरचनाअनुसार सातै प्रदेशमा इन्धन भन्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको छ । संघीय संरचनाअनुसार प्रत्येक प्रदेशमा इन्धन डिपो विस्तार गरी क्षमतासमेत बढाउन लागिएको हो । सात प्रदेशमध्ये कुनै प्रदेशमा भण्डारण गृह (डिपो) छ भने कुनैमा छैन ।

निगमका निमित्त उपप्रबन्ध निर्देशक सुशील भट्टराईले संघीय संरचनामा मुलुक गएपछि प्रदेशमा खपत हुने इन्धनको उपलब्धता र वितरणको व्यवस्था मिलाउन डिपो निर्माण गरी क्षमता विस्तार गर्न लागिएको जानकारी दिनुभयो । 'कुनै प्रदेशमा डिपो छ तर थोरै क्षमताको । केही प्रदेशमा डिपो नै छैन', भट्टराईले भन्नुभयो, 'प्रत्येक प्रदेशमा हाल खपत हुने इन्धनको परिमाणका आधारमा डिपो निर्माण गर्ने र भण्डारण गर्ने योजना अघि बढाएका छौं । भण्डारण गृह निर्माण पश्चात हरेक प्रदेशको इन्धन माग स्थानीय डिपोबाट नै पूरा गर्नुपर्ने लक्ष्य छ । आपतकालीन अवस्थामा मात्र अर्को प्रदेशको डिपोबाट इन्धन लिएर वितरण गर्ने व्यवस्था हुनेछ ।'

प्रादेशिक संरचनाअन्तर्गत निगमले पाँच लाख ३० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह विस्तार गर्न लागेको छ । भट्टराईले भन्नुभयो, 'यसबाहेक हामीसँग पहिलेदेखि विभिन्न स्थानमा डिपो छँदैछ । नयाँ र पुरानो डिपोको परिमाण गरी तीन महिनालाई पुग्ने इन्धन भण्डारण गृह निर्माण हुँदैछ ।' उहाँका अनुसार हाल प्रदेश नम्बर १ को विराटनगरमा करिब १२ हजार किलोलिटर, २ नम्बरको अमलेखगन्ज र जनकपुरमा गरी २३ हजार पाँच सय किलोलिटर, ३ नम्बर प्रदेशको काठमाडौंमा १० हजार दुई सय किलोलिटर, ४ नम्बरको पोखरामा तीन हजार चार सय किलोलिटर क्षमताको डिपो छ । यस्तै ५ नम्बरको रूपन्देहीस्थित भलवारीमा पाँच हजार एक सय ५० किलोलिटर, ६ नम्बर प्रदेशको नेपालगन्जमा सय किलोलिटर, प्रदेश नम्बर सातको धनगढीमा दुई हजार ६ सय किलोलिटर क्षमताको डिपो छ ।

प्रादेशिक संरचनाअन्तर्गत निगमले पाँच लाख ३० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह विस्तार गर्न लागेको छ ।

प्रवक्ता तथा इन्धन वितरण विभाग प्रमुख सीताराम पोखरेलले नयाँ प्रादेशिक योजनाअनुसार अब प्रदेश नम्बर १ को झापामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गरिने जानकारी दिए । यस्तै २ नम्बर प्रदेशमा अमलेखगन्ज र जनकपुरबाहेक सर्लाहीमा ६० हजार किलोलिटर, ३ नम्बर प्रदेशमा थानकोट डिपोबाहेक दुई लाख १७ हजार किलोलिटर क्षमताको चितवन, धादिङ र ललितपुर, ४ नम्बर प्रदेशको तनहुँमा ३२ हजार किलोलिटर क्षमताको नयाँ भण्डारण गृह निर्माण हुन लागेको छ । यस्तै प्रदेश नम्बर ५ को रूपन्देहीको भलवारी डिपो बाहेक सोही जिल्लामा थप एक स्थान एक लाख किलोलिटर, प्रदेश नम्बर ६ को नेपालगन्जबाहेक सुर्खेतमा ६ हजार किलोलिटर र ७ नम्बर प्रदेशको धनगढीबाहेक दिपायलमा २१ हजार किलोलिटर क्षमताको डिपो निर्माण हुने भएको छ ।

३ नम्बरमा उच्च खपत

सातवटै प्रदेशमध्ये सबैभन्दा बढी इन्धनको माग ३ नम्बर प्रदेशमा छ । ३ नम्बर प्रदेशमा कलकारखाना, सवारीसाधन, सहरी क्षेत्र अत्यधिक भएकाले इन्धनको अत्यधिक माग पनि सोही प्रदेशमा छ । ३ नम्बर प्रदेशमा पर्सा, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला पर्छन् । २०६८ सालको जनगणनालाई आधार मान्दा सबैभन्दा बढी जनसंख्या प्रदेश नम्बर ३ मै छ । यस्तै सडक सञ्जालमा पनि सबैभन्दा धनी प्रदेश नम्बर ३ नै छ । ३ नम्बर प्रदेशमा हाल थानकोटमा मात्रै १० हजार दुई सय किलोलिटर क्षमताको डिपो छ ।

'अहिले ३ नम्बरको सम्पूर्ण जिल्लामा अमलेखगन्ज र थानकोटबाट इन्धनको मागको आधारमा वितरण हुँदैछ', भट्टराईले भन्नुभयो, 'अमलेखगन्ज र थानकोटबाट ३ नम्बरको सबै जिल्लामा इन्धन वितरण गर्दा समयका साथै अन्य प्राविधिक हिसाबले पनि समस्या आइरहेको छ । चितवन, धादिङ र ललितपुरमा भण्डारण गृह निर्माण गर्दा ३ नम्बर प्रदेशको सबै क्षेत्रलाई समान रूपमा समान समयमा इन्धन वितरण गर्न सकिन्छ ।'

निगमले यो प्रदेशमा इन्धनको अभाव हुन नदिन चितवन, धादिङ र ललितपुरमा गरी दुई लाख १७ हजार किलोलिटरमध्ये चितवनमा मात्रै एक लाख किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्ने योजना अघि सारेको छ । बाँकी एक लाख १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह धादिङ र ललितपुरमा निर्माण गरिनेछ । ३ नम्बर प्रदेशको मागलाई ध्यानमा राखेर नै निगमले अमलेखगन्जको इन्धन पाइप लाइन चितवनको लोथरसम्म ल्याउने विषयमा इन्डियन आयल कर्पोरेसन (आईओसी) लागि सहमत गराइसकेको छ । चितवनमा भण्डारण गृह निर्माणका लागि २५ बिघा जग्गासमेत खरिद भइसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.