संघीयतामा दोहोरो कर लाग्दैन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संरचनामा उद्योगी व्यवसायीले दोहोरोतेहोरो कर तिर्नु नपर्ने बताउनुभएको छ । मुलुक संघीयतामा जाँदा दोहोरो करको मारमा परिने होकी भन्ने निजी क्षेत्रको चिन्ता छ । प्रधानमन्त्री दाहालले दोहोरो करको मारमा परिने भय नपाल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो । मुलुक संघीय संरचनामा गएपछि केन्द्र, प्रदेश र स्थानीय तह रहनेछन् । सरकारको एउटा तहमा कर तिरेपछि सोही किसिमको कर अर्को तहमा तिर्नुनपर्ने प्रधानमन्त्री दाहालको आश्वासन छ।
'तीनवटै निकायले कर लगाउन सक्ने व्यवस्थाले व्यवसायीमा दोहोरो करको मारमा परिने चिन्ता देखिन्छ', नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारणसभामा सोमबार प्रधानमन्त्री दाहालले भन्नुभयो, 'सरकारका तहबीच दोहोरो कर नलाग्ने विश्वास दिलाउन चाहान्छु ।' सरकारका तहबीच जिम्मेवारी बाँडफाँटले उद्योग व्यवसाय गर्न जटिलता उत्पन्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ ।
दुई वा त्यसभन्दा बढी तहमा उद्योगी व्यवसायीले बेहोर्नुपर्ने प्रक्रियागत जटिलता कम गर्न सरकार सचेत रहेको उहाँको भनाइ छ । 'मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवातजावतमा कुनै पनि कर र अवरोध नगरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने प्रत्याभूति संविधानले गरेको छ', उहाँले भन्नुभयो, 'संविधानले निर्दिष्ट गरेबमोजिम कर प्रणाली तर्जुमा र कार्यान्वयन हुनेछ ।' प्रधानमन्त्री दाहालले मुलुकबाट वस्तु निर्यात हुन नसकिरहेको बताउनुभयोँदै निर्यात व्यापारमा शून्य कर नीति लिएको स्पष्ट गर्नुभयो । यसले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने उनको विश्वास छ ।
निजी क्षेत्रले निर्यातमा कर हटाउन र निर्यात प्रोत्साहन १० प्रतिशत पुरयाउन सरकारसँग आग्रह गर्दै आएको छ । मुलुकमा सम्भावना भएका कृषि र ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो । 'मुलुकका आर्थिक परिसूचक सकरात्मक दिशातिर गइरहेका छन्, लोडसेडिङ क्रमशः घट्दै गइरहेको छ, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि बाफिया आइसकेको छ', प्रधानमन्त्री दाहालले भन्नुभयो, 'मुलुकमा लगानीको वातावरण बनाउन प्रशासनिक समस्या हटाउनेदेखि थुप्रै काम अगाडि बढिसकेका छन् ।'
यसले मुलुकमा औद्योगीकरण र आर्थिक विकासमा सकारात्मक भूमिका खेल्नेछ । मुलुकको दिगो आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको भूमिका फ्युजन गरिनुपर्ने उहाँको धारणा छ । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत महत्वपूर्ण ओहोदामा महिला रहेको औंल्याउँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रको महत्वपूर्ण संस्थाको नेतृत्वमा महिला पुग्नुले नेपाली महिलाको सामथ्र्य र भूमिका उजागर भएको ठोकुवा गर्नुभयो । महासंघ अध्यक्षमा पहिलो पटक भवानी राणा आउँदै हुनुहुन्छ ।
लगानीको वातावरण बन्दै
महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकमा आर्थिक गतिविधिले उल्लेखनीय गति लिन नसके पनि विगतको तुलनामा सुधारका संकेत देखिएको बताउनुभएको छ । मुलुकमा लोडसेडिङ घट्दै गइरहेको, बन्द, हडताल, श्रम समस्यामा कमी आएकाले विस्तारै मुलुकमा लगानीको वातावरण बन्दै गएको मुरारकाको भनाइ छ । महासंघले उद्योग व्यवसाय क्षेत्रका समग्र विकासमा अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग पहल गर्दै आएको छ । 'अझै पनि ऐन नियमको कार्यान्वयन एवं प्रक्रियागत झन्झटले उद्योगी व्यवसायीले समस्या झेल्दै आइरहेका छन्', अध्यक्ष मुरारकाले भन्नुभयो, 'यी समस्याको समाधान गरी सहज वातावरण बनाउन महासंघले निरन्तर पहल गर्दै आएको छ ।' औद्योगिक शान्ति र असल श्रम सम्बन्ध विकासका लागि ट्रेड युनियनसँग नियमित भेटघाट र सम्पर्कलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । उद्योग व्यववसायसँग सम्बन्धित एक दर्जनभन्दा बढी ऐन संशोधन र निर्माणका क्रममा छन्।
केही ऐन, कानुन (विशेष आर्थिक क्षेत्र ऐन, औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, बाफिया) पारित भइसकेका छन् । श्रम ऐन, सामाजिक सुरक्षा ऐन संसद्मा छलफलको क्रममा छ । कानुन सुधारलाई प्राथमिकताका साथ अघि बढाउन महासंघले पहल गर्दै आएको छ । नीतिगत तथा कानुनी सुधार गरेर मुलुकमा लगानीको वातावरण बनाउन भूमिका खेल्दै आएको मुरारकाले बताउनुभयो । अध्यक्ष मुरारकाले लामो समयदेखि लोडसेडिङका कारण उद्योग व्यवसायले भोग्नुपरेको समस्याबाट अहिले राहत महशुस भएको बताउनुभयो । उहाँले लोडसेडिङको दिगो र भरपर्दो समाधान खोज्न सरकारलाई सुझावसमेत दिनुभयो ।
सरकारी निकायले नियमन र अनुगमनको नाममा उद्योग प्रतिष्ठानमा जथाभावी छापा मार्ने, सील गर्ने, व्यवसायीलाई धरपकड गर्ने, मुद्दा चलाएर आतंकित पार्ने काम रोक्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कर प्रशासनले गरेको कर परीक्षणमा प्रशासकीय पुनरावलोकन र राजस्व न्यायाधीकरणमा जाँदा ५० प्रतिशत नगदै धरौटी राख्ने व्यवस्था संशोधन एवं पुनरविचार गर्न अध्यक्ष मुरारकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
स्वदेशी उद्योगलाई बचाउन स्वदेशमा उत्पादित वस्तुको १५ प्रतिशतसम्म महँगो भए पनि खरिद गर्नुपर्ने व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।महासंघले स्वदेशमा उत्पादन बढाएर निकासी प्रवद्र्धन गर्न र अनुदान प्राप्त गर्ने प्रक्रियालाई सहज र झन्झटरहित बनाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्यातमा दिइँदै आएको नगद प्रोत्साहन १० प्रतिशत पुरयाउनुपर्ने बताउनुभयो । महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपालमा लगानी र बजारको प्रसस्त सम्भावना रहेको औंल्याउनुभयो । दुई ठूला मुलुक चीन र भारत नेपाली उत्पादनको ठूलो बजार भएको उहाँको भनाइ छ । राजनीतिक दलबीच आर्थिक एजेन्डामा एकमत भएर आर्थिक विकासमा संकल्पसहित अगाडि बढेमा मुलुकको समृद्धि छिट्टै हुन राणाले बनाउनुभयो।
'नेपालीले आफ्नो भविष्य देशभन्दा विदेशमा देख्न थालेका छन्, सरकार र निजी क्षेत्र मिलेर स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ', राणाले भन्नुभयो्, 'सम्भावना बढी भएका क्षेत्र पर्यटन, कृषि, हाइड्रो र सेवा क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्छ ।'
विभिन्न व्यक्तित्व सम्मानित
सोही अवसरमा महासंघले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने व्यवसायी तथा सामाजिक अभियान्तालाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मान गरेको छ । यो अवार्ड बैंक तथा वित्तीय क्षेत्रतर्फ हिमालय शमशेर जबरा, पर्यटन क्षेत्रतर्फ कर्ण शाक्य, मिडियातर्फ कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक कैलाश सिरोहिया, उड्डयनतर्फ बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत, मनोरन्जनतर्फ क्यूएफएक्स सिनेमाका नकिम उद्दिन, आईटीतर्फ रुद्रराज पाण्डे र शिक्षातर्फ काठमाडौं विश्वविद्यालयका प्राडा सुरेशराज शर्मालाई प्रदान गरिएको छ ।
यसैगरी, स्वास्थ्य क्षेत्रतर्फ सन्दुक रुइत, सामाजिक सेवातर्फ अनुराधा कोइराला र पब्लिक सर्भिसतर्फ कुलमान घिसिङलाई प्रदान गरिएको छ । मुलुकमा पहिलोपटक उद्योग स्थापना गरी योगदान पुरयाएको भन्दै स्वर्गीय रामलाल गोल्छा र सर्भिस क्षेत्रमा योगदान पुरयाएको भन्दै मनकामना केबलकारका स्व.लक्ष्मणबाबु श्रेष्ठलाई मरणोपरान्त अवार्ड प्रदान गरिएको छ । स्व.पत्रकार सञ्जय न्यौपाने मरणोपरान्त आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । तुल्सीपुर उद्योग वाणिज्य संघलाई एक करोड रुपैयाँभन्दा बढीको जग्गा उपलब्ध गराए बापत वर्तमान कार्यसमिति सदस्य यज्ञवहादुर केसी पनि सम्मानित हुनुभएको छ । यसैगरी, महासंघले पूर्वअध्यक्षलाई स्वर्ण वर्ष स्मृति चिन्हबाट सम्मानित गरेको छ ।
पूर्वअध्यक्ष महेशलाल प्रधान, विनोद चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे स्वर्ण स्मृति चिन्हबाट सम्मानित हुनु भएको छ । महासंघको सचिवालय निर्माणमा उल्लेखनीय योगदान पुरयाएबापत पूर्वअध्यक्ष विनोद चौधरीलाई विशेष अवार्डद्वारा सम्मानित गरिएको छ । सबैलाई प्रधानमन्त्री दाहालले अवार्ड प्रदान गरी सम्मान गरेका थिए ।
महासंघको राजनीतिबाट बाहिरिएर छुट्टै संस्था नेपाल उद्योग परिसंघ स्थापना गर्नु भएका विनोद चौधरी डेढ दशकभन्दा लामो समयपछि महासंघको सार्वजनिक कार्यक्रममा उपस्थित हुनु भएको हो । यसले महासंघको कार्यक्रममा रौनकता थपिएको थियो । चौधरीलाई कार्यक्रममा ल्याउन सकेको भन्दै अध्यक्ष पशुपति मुरारकालाई बधाइको ओइरो लागेको थियो । यस्तै, प्रदीपजंग पाण्डेलाई महासंघले पूर्वअध्यक्षको मान्यता दिएको छ । तीन वर्षअघि अध्यक्षमा निर्वाचित पाण्डेको ३२ वर्ष पुरानो मुद्दा उठेपछि अध्यक्षबाट बाहिरिनु परेको थियो । उहाँ बाहिरिएपछि वरिष्ठ उपाध्यक्ष मुरारका अध्यक्षमा चयन हुनु भएको हो । पाण्डेले पूर्वअध्यक्षको मान्यता समेत पाउन सक्नुभएको थिएन ।
नयाँ नेतृत्व छानिँदै
महासंघको ५१ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । यसका लागि मंगलबार राजधानीमा निर्वाचन हुँदैछ । संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखेपछि भवानी राणा स्वतः अध्यक्ष हुनुहुनेछ । वरिष्ठ उपाध्यक्षदेखि तलका पदमा निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि शेखर गोल्छा र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रनु भएको छ । सर्वसम्मत नेतृत्वका लागि पहल गरे पनि अन्ततः अधिकांश पदमा निर्वाचन हुने भएको छ । एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध भइसक्नु भएको छ । यस्तै, द्विराष्ट्रिय, प्रदेश ३ र प्रदेश ५ बाट कार्यकारिणी समिति सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
्र