चाैमासिक हाेइन शिक्षकलार्इ अब महिनावारी तलब
काठमाडौं: सामुदायिक विद्यालयमा पढाउने शिक्षकका लागि खुसीको खबर छ। सरकारले आउने शैक्षिक सत्रदेखि उनीहरूलाई मासिक रूपमा तलब दिने भएको छ। मासिक रूपमा तलब दिने विषयमा नीतिगत निर्णय भइसकेको शिक्षा विभागले जनाएको छ। यसअघि चौमासिक रूपमा तलब दिँदा शिक्षकलाई घरव्यवहार तथा तथा अन्य खर्च चलाउन कठिन भएको गुनासो आएपछि मासिक रूपमै तलब दिने निर्णय गरिएको विभागका महानिर्देशक बाबुराम पौडेलले बताए।
विभागको निर्णयबाट मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी राहतलगायत सबै प्रकृतिका शिक्षक लाभान्वित हुनेछन्। पौडेलले भने, ‘धेरै शिक्षक साथीबाट चौमासिक रूपमा तलब लिँदा समस्या भएको गुनासो आयो। त्यही समस्यालार्ई समाधान गर्न नयाँ व्यवस्था गर्न लागिएको हो।’राज्यले शिक्षालाई छुट्ट्याएको बजेट स्थानीय निकायमा वितरण गर्दा शिक्षा मन्त्रालयमार्फत अनुदान शीर्षकमा चौमासिक रूपमा वितरण गर्ने गरिएको छ। यसरी अनुदान शीर्षकमा प्रत्येक चौमासिकलाई आधार मानेर रकम विनियोजन गरिएको छ। शिक्षक तलब पनि अनुदान शीर्षकमा छुट्ट्याइएको रकमबाट दिने भएकाले तलब पनि चौमासिक रूपमै दिने गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए।
‘निजामती सेवाका कर्मचारीका लागि तलब शीर्षकमा रकम छुट्ट्याइएको हुन्छ । र सोही रकम मासिक रूपमा तलबको रूपमा वितरण गरिन्छ । तर शिक्षामा त्योभन्दा फरक नियम छ’ लम्सालले भने, ‘शिक्षामा पनि आउने वर्षदेखि नयाँ व्यवस्था गर्न लागेका छौं ।’ राज्यले सार्वजनिक शिक्षामा छुट्ट्याएको रकममध्ये ७० प्रतिशतभन्दा धेरै रकम शिक्षकका तलबमा खर्च हुने गरेको छ । आउने आर्थिक वर्षका लागि सरकारले शिक्षकका तलबभत्ताबापत ६२ अर्ब ५६ करोड रुपैयाँको सिलिङ तोकेको छ ।
मासिक रूपमा तलब खुवाउनुपर्ने भएपछि विभागले अबदेखि चौमासिक रकम पनि पहिलो महिनाको सुरुवातमा नै पठाउने छ । यसरी रकम पठाउँदा चारै महिनाको पठाइने विभागले जनाएको छ। ‘रकम जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयको खातामा जानेछ । तर विद्यालयले भने चारै महिनाको एकमुष्ट रूपमा पाए पनि मासिक रूपमा झिकेर शिक्षकलाई दिनेछ’ विभागका महानिर्देशक पौडेलले भने। शिक्षकलाई मासिक रूपमा तलब दिनुपर्ने माग गर्दै शिक्षक सम्बद्ध विभिन्न संघसंगठनले पनि आवाज उठाउँदै आएका थिए।
सामुदायिक विद्यालयमा शिक्षक कति?
मुलुकभर ३५ हजार दुई सय विद्यालय सञ्चालनमा छन् । सामुदायिक विद्यालयको कुल दरबन्दी संख्या एक लाख सात हजार छ । जसमध्ये स्थायी शिक्षक ८१ हजार तथा स्थायी दरबन्दीमा अस्थायी नियुक्ति लिएर पढाइरहेका शिक्षक संख्या २६ हजार एक सय ६१ छ । त्यसबाहेक राहत दरबन्दीमा कार्यरत शिक्षक संख्या ३९ हजार छ ।
प्रारम्भिक बाल विकास केन्द्रमा २९ हजार शिक्षक (सहयोगी) कार्यकर्ता छन् । कक्षा ११ र १२ मा अनुदान तथा दरबन्दीमा पढाइरहेका शिक्षक चार हजार छन् । यी सबै शिक्षकले आउने वैशाखदेखि मासिक रूपमा तलब पाउनेछन् ।