मधेसी दलका मेयर आकांक्षी चुनावी तयारीमा
वीरगन्ज : मधेस केन्द्रित दलहरूले संविधान संशोधन नभए वैशाख ३१ को स्थानीय तह निर्वाचन वहिष्कार गर्ने घोषण गरेका भए पनि आर्थिक एवं औद्योगिक नगरी वीरगन्ज उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदका लागि भने उनीहरूले आन्तरिक रूपमा आफ्ना उम्मेदवार अगाडि सारिसकेका छन् ।वीरगन्जको मेयरका लागि औपचारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि मधेस केन्द्रित दलका तर्फबाट मेयर पदका आकांक्षीहरू पार्टीगत र व्याक्तिगत रूपमा चुनावी गतिविधिमा जुटिसकेका छन् ।
संविधान संशोधनबिना मधेसमा चुनाव हुनै नदिने बताएका मधेसी दल र तिनका सम्भावित उम्मेदवारले आन्तरिक रूपमा भने सामाजिक सञ्जाल, कार्यकता भेटघाट, पार्टी प्रवेशजस्ता कार्यक्रम गरेर आआफ्नो पक्षमा भोट माग्ने काम सुरु गरिसकेका छन् ।
वीरगन्जको मेयर पदका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय प्रवक्ता विमल श्रीवास्तव, संघीय समाजवादी फोरम नेपालका नेता एवं उद्योगपति विजय सरावगी, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह र नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेलको नाम चर्चामा छ ।
आकांक्षीहरू नगरका टोलटोलमा पार्टी प्रवेश, वडा कमिटी विस्तार, कार्यकर्ता भेटघाटजस्ता कार्यक्रम गरेर चुनावको तयारी गरिररहेका छन् ।तमलोपाका नेता श्रीवास्तव वीरगन्जका पूर्वमेयर पनि हुनुहुन्छ । श्रीवास्तव विकास प्रेमी नेताका रूपमा पनि चिनिनुहुन्छ । विगतमा वीरगन्जको मेयर हुँदा विकासका धेरै काम गर्नुभएका र अनुभवी व्यक्ति भएकाले श्रीवास्तव नगरवासी माझ रुचाइनुभएको छ ।
यस्तै मेयर पदको उम्मेदवार बनाउने सर्तमा नै एक महिना पहिले संघीय समाजवादी फोरम नेपालले पार्टीमा प्रवेश गराइएका उद्योगपति सरावगीलाई फोरम नेपालले मेयर पदमा चुनाव लडाउने निश्चित छ ।
वीरगन्जको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा लगानी गरेर सामाजसेवीका रूपमा परिचित उद्योगपति सरावगी वीरगन्जको मेयर पदमा चुनाव लड्नकै लागि फोरम नेपालमा प्रवेश गरेको धेरैको आकलन छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज उपमहानगरपालिकाको मेयरमा आफ्नो जित सुनिश्चित गर्न सरावगी वीरगन्जका अन्य उद्योगपतिलाई समेत पार्टीमा प्रवेश गराई आफ्नो पक्षमा जनमत बलियो पार्ने कसरतमा लाग्नुभएको छ ।
वीरगन्जको मेयर पदका आकांशी राष्ट्रिय मधेस सामाजवादी पार्टीका केन्द्रीय सदस्य सिंह पनि चुनावी तयारीमा होमिनुभएको छ । सिंहले टोलटोलमा दिनहुँ आफ्ना शुभचिन्तक र कार्यकर्तासँग भेटघाट गरेर चुनावी गतिविधि तीव्र पार्नुभएको छ । एकताका वीरगन्जका पूर्वमेयर श्रीवास्तवका सहयोगीका रूपमा चिनिएका सिंह दोस्रो संविधानसभा चुनावमा भने श्रीवास्तवलाई छोडेर राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको चुनाव लड्नुभएको थियो । युवामाझ लोकप्रिय रहेका सिंह आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा आफ्नो पक्षमा जनमत जुटाउन अहिलेदेखि नै लागिसक्नुभएको छ ।
'अहिले हामी चुनावका लागि नभई संगठन बलियो बनाउन र मधेस आन्दोलनको तयारीमा लागेका छौं’, सिंह भन्नुहुन्छ, 'हामी चुनाव विरोधी होइनौं । मधेसी मोर्चाको माग सम्बोधन भयो चुनावमा भाग लिन्छौं । त्यसबेला साथीहरू र पार्टीले भन्यो भने मेयरमा चुनाव लड्न तयार छु ।’
वीरगन्जको मेयर पदका आकांक्षी मधेसी दलका नेतामध्ये नेपाल सद्भावना पार्टीका महासचिव पटेलको पनि अहिले निक्कै चर्चा छ । पटेलका शुभचिन्तक र कार्यकर्ताले सामाजिक सञ्जालमार्फत मेयर पदमा उहाँको उम्मेदवारीको प्रचारप्रसार सुरु गरिसकेका छन् ।
सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएका पटेल प्रखर वक्ता पनि हुनुहुन्छ । मधेसको समस्या सामाधान भई चुनाव भए पार्टीको निर्यणअनुसार मेयरमा आफू चुनाव लड्न तयार रहेको पटेल बताउनुहुन्छ।
फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले भने आफ्नो पार्टी अहिले चुनावको तयारीमा नभई आन्दोलनको तयारीमा लागेको बताउनुभयो । वीरगन्ज उपमहानगरपालिकामा बलियो उम्मेदवार मधेसी दलकै नेताहरू देखिएको भन्दै यादवले मधेसको समस्या सामाधान भई चुनाव भए तुरुन्तै आफूहरूले मेयरको उम्मेदवार घोषणा गर्ने जानकारी दिनुभयो ।