नयाँ पुस्ताले टिकट पाउने सम्भावना कम
बुटवल : स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने रस्साकस्सी चल्दै गर्दा नयाँ पुस्ताका नेताले टिकट पाउने सम्भावना कम देखिएको छ । नयाँ पुस्ताले मेयर तथा अध्यक्ष बन्ने आकांक्षा देखाए पनि प्रमुख राजनीतिक दलले पार्टीको जित सुनिश्चित गर्ने लक्ष्यसहित पुरानै अनुहारलाई टिकट दिने भएका छन् । चुनाव नजिकिँदै गर्दा चहलपहल पनि बढ्दै गएको छ । गाउँ, नगर तथा उपमहानगरको अध्यक्ष÷मेयर पदमा जान चाहनेको संख्या दर्जनौं छ । झन्डै दुई दशकपछि हुने चुनावमा वडा सदस्य पद पाउन पनि नेताहरूको ढोकामा पुग्नेहरूको ताँती नै छ । आफ्नो पार्टी मात्रै नभई गुट र व्यक्ति केन्द्रित लविङ पनि सुरु भएको छ ।
बुटवल उपमहानगर, सिद्धार्थनगर, लुम्बिनी, तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकाको मेयर बन्नेको सूची अझै घटेको छैन । हरेक राजनीतिक दलबाट कम्तीमा चारजना आकांक्षी देखिएका छन् । बुटवल उपमहानगरले जिल्ला सिंगो राजनीतिक बागडोर सम्हाल्ने भएकाले यहाँको मेयर बन्न रस्साकस्सी चलेको छ । चुनाव जित्नभन्दा पनि आफ्नै पार्टीबाट टिकट फुत्काउन स्थानीय नेताको दौडधुप छ ।
बुटवलमा दलहरूको केन्द्रीयस्तरमा छवि बनाएका नेतालाई मेयर बनाउने चर्चा छ । अहिलेसम्म एमालेबाट पूर्वमेयर तथा पूर्वजिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, केन्द्रीय विभागमा सदस्य रहेका बाबुराम भट्टराई, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईको चर्चा छ । एमाले जिल्ला उपसचिव रहेका गोपाल रानाले पनि टिकट फुत्काउने अभियान चलाएको बताइएको छ । एमालेले बुटवलका लागि श्रेष्ठलाई पहिलो प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।
कांग्रेसबाट नगरसभापति रहेका खेलराज पाण्डेले टिकट पाउने सम्भावना बलियो रहेको बताइएको छ । मेयरका लागि क्षेत्रीय सभापति हरि लम्सालको सम्भावना पनि उत्तिकै छ । हरिबहादुर कार्की, व्यवसायी महेशमान सिंह, महासमिति सदस्य युवराज गिरीको पनि चर्चा छ । कांग्रेसले एमालेले कस्तो उम्मेदवार उठाउँछ भनेर पर्खिएको छ ।
यसअघिका दुई संविधानसभा र एक स्थानीय निकायको निर्वाचनमा एमालेले नै जितेका कारण बुटवललाई एमालेको बलियो क्षेत्र मानिएको छ जसलाई तोड्न कांग्रेस र माओवादी केन्द्रले एलायन्स गर्ने चर्चा छ ।
माओवादी केन्द्रका पोलिटब्युरोमा रहेका टंकमणि शर्मा, पाँच नम्बर प्रदेश सहसंयोजक केन्द्रीय सदस्य हरि घिमिरे लगायतकाको चर्चा छ ।
बुटवल उपमहानगरपालिकामा मेयरका लागि महिलाको दाबी देखिएको छैन । उममेयरमा गोमा आचार्य, सावित्रा अर्याल, विमला पन्थी र रीता सेनको चर्चा चलेको छ ।मधेसवादी दलहरूले वहिष्कार गर्ने चेतावनी दिइरहेका बेला लुम्बिनी सांस्कृतिक नगरपालिकामा चुनावी माहोल निकै तातेको छ । मधेस केन्द्रित दलहरू नै चुनावी प्रचारमा लागेका छन् । उनीहरू वहिष्कार नगरी स्वतन्त्र भए पनि लड्ने तयारीमा छन् ।
विश्व शान्तिको सहर बन्दै गरेको लुम्बिनीको जनप्रतिनिधि बलियो हुनपर्ने धेरैको बुझाइ छ । लुम्बिनीका १३ वटै वडामा संघीय समाजवादी फोरम, तमलोपा, फोरम लोकतान्त्रिक, सद्भावना, नेपाली कांग्रेस, एमाले, राप्रपालगायतका दलले चुनावी अभियान थालेका छन् ।
मेयर पदका लागि एमालेबाट रामचन्द्र यादव, इन्साफ मुसलमान, महेन्द्र यादव, लक्ष्मी मि श्र, गोमा गुरुङलगायतका उम्मेदवारको चर्चा छ । संघीय समाजवादी फोरमबाट केन्द्रीय सदस्य फकरुद्दिन खाँको चर्चा छ । गत संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा रहेका खाँ त्यस क्षेत्रका लोकप्रिय युवा नेता मानिनुहुन्छ यस्तै नेपाली कांग्रेसबाट नगर अध्यक्ष मोहम्मद सइद खाँ, अम्बिका कोहार, सूर्यमती उपाध्यायलगायतको चर्चा छ । सद्भावना पार्टीबाट केन्द्रीय सदस्य मनमोहन चौधरी कन्हैया निर्वाचनको आन्तरिक तयारीमा जुट्नुभएको छ ।
लुम्बिनी तमलोपाले जित हासिल गरेको क्षेत्र हो । तमलोपाले चुनावी तयरी गरे पनि उम्मेदवार तय गरेको छैन । राप्रपाबाट नेता गंगाराम कलवार उम्मेदवार हुने चर्चा छ । सिद्धार्थनगरमा राप्रपा आफ्नै पकड जमाउने पक्षमा छ । तिलोत्तमा, देवदह र सैनामैनामा उम्मेदवारका आकांक्षीको लामो सूची छ । यी तीन नगरपालिका भएपछि पहिलोपटक निर्वाचन हुँदैछ ।