फोहोर पानीले टार्नुपर्छ दैनिकी
मलंगवा : सर्लाहीको अत्रौली ७ नयाँ बस्तीका बासिन्दा जीवनयापन गर्न खोलाको फोहोर पानी खान बाध्य छन् । चट्टाने जमिनमा रहेको बस्तीमा खानेपानीका लागि कल गाड्न र इनार खन्न नसक्दा उनीहरूले बर्सौंदेखि अत्रौली खोलाको फोहोर पानी खाँदै आएका हुन् ।आर्थिक अभावले उनीहरूले दुई किलोमिटर पर तुरतुरेमा रहेको मुहानबाट पनि पाइप बिछ्याएर बस्तीमा पानी ल्याउन सकेका छैनन् । तुरतुरेबाट पानी ल्याउन दुई हजार ६ सय मिटर पाइप आवश्यक पर्छ ।
दैनिक गुजारा चलाउन स्थानीयले खोला किनारमा सानो कुवा खनेका छन् । कुवा खुला रहेकाले फोहोर छ । कुवाबाट अहिले ७५ घरधुरीले दैनिक गुजारा चलाउँदै आएका छन् । त्यही फोहोर पानी लिन पनि बिहानबेलुका लाइन लाग्नुपर्ने बाध्यता छ ।
कुवाको फोहोर पानी नै खाना पकाउने, नुहाउने, कपडा धुनेजस्ता काम गर्दै आएको स्थानीय भीमबहादुर लामाले बताउनुभयो । खानेपानीको समस्या सबभन्दा बढी बर्खा र गर्मीमा हुन्छ । 'खोलामा बाढी आएपछि कुवा पुरिन्छ', लामाले भन्नुभयो, 'गर्मीमा कुवा सुक्छ ।' वर्षात र गर्मीमा बस्तीबाट टाढा रहेको इनारबाट पानी ओसार्नुपर्छ । इनारबाट पानी ल्याउन ४५ मिनेटभन्दा बढी लाग्ने उहाँको भनाइ छ । 'इनारको पानी पनि सय मिटर गहिरोमा छ । इनारबाट पानी तान्न निकै कठिन हुन्छ', उहाँले भन्नुभयो ।
खोलाकिनारमा खनिएको कुवाबाट अहिले ७५ घरधुरीले दैनिक गुजारा चलाउनुपर्छ । त्यही फोहोर पानी लिन पनि बिहानबेलुका लाइन लाग्नुपर्ने बाध्यता छ ।
फोहोर पानी खाँदा बस्तीका बासिन्दा नियमितजस्तै झाडापखाला र हैजाको प्रकोपमा पर्ने गरेको मेमरसिंह बोम्जनले बताउनुभयो । 'खानेपानी समस्या समाधान गर्न खानेपानी कार्यालय, जिल्ला विकास समिति र गाउँ विकास समितिमा पटकपटक आग्रह गर्यौं तर कहीं पनि हाम्रो सुनुवाइ भएन', बोम्जनले गुनासो गर्नुभयो, 'पानीको समस्याले खेतीपाती गर्न र बस्तुभाउ पाल्न समेत सकेका छैनौं । सुकुमबासी बस्ती भएकाले कसैले पाइप किन्न सघाए मात्र मुहानबाट पानी ल्याउन सक्छौं ।'
चुनावका बेला नेताहरू पानी ल्याइदिन्छु भनेर भोट माग्ने र त्यसपछि त्यहाँ फेरि फर्केर नजाने गरेको उहाँको गुनासो छ । 'फेरि चुनाव आउँदै छ, नेताहरू चिप्ला कुरा गरेर भोट माग्न थालेसके', बोम्जनले भन्नुभयो, 'जसले बस्तीमा पानी ल्याइदिन्छ उसैलाई भोट दिन्छौं ।' समयसमयमा अनेकौं संस्था आएर सर्भे गरेर गए पनि अहिलेसम्म कसैले केही नगरेको गुनासो बोम्जनको थियो ।