दमकल समयमा नपुग्दा दलित बस्ती सखाप (फोटोफिचर)
सिरहा: सिरहाको दक्षिणी क्षेत्रमा सखुवा नन्कारकट्टी गाउँपालिका ४ (साविक सखुवा नन्कारकट्टी गा.वि.स.८) सिम्राहाको दलित बस्तीमा सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको दलित बस्ती जलेर सखाप भएको छ।
लहान नगरपालिका, गोलबजार नगरपालिकाबाट गएको बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा निभाइएको इलाका प्रहरी कार्यालय महेशबारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीले प्रहरीले जानकारी दिनुभयो। बस्तीकी महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर आगालागी भएको जनाइएको छ।
आगालागीमा बस्तीमा रहेको करिब एक दर्जन खानेपानीको कल समेत जलेपछि खानेपानीको हाहाकार भएको छ। आगालागीमा २९ घरपरिवारको बस्ने ६० भन्दा बढी घर गोठ जलेपछि रातभर बस्तीका बालबालिका, बृद्धबृद्धाहरु बस्ती नजिकको खाली खेतमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।
स्थानीय बृद्ध बिन्दुलाल मण्डलले भने ‘धान बेचेर जग्गा किन्न राखेको दस हजार नगदसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा, टेलिभिजन, फर्निचरका सामान, गरगहना केही झिक्न पाइँन।' उनका छोरा हरेराम मण्डलले पनि नयाँ वर्षमा घर निर्माणको काम गर्ने मजदूरहरुलाई दिन ल्याएको दुई लाख नगदसहित शरीरमा लगाउने लुगा बाहेक सबै आगलागीमा सखाप भएको दुखेको व्यक्त गर्नुभयो।
आगलागीमा करिब डेढ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिनुभयो। प्रहरी नायव निरीक्षक चौधरीका अनुसार आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा जलेर मरेको छ।
तस्बिरहरु: रामबाबु यादव