कालाजारले आठ जनाको मृत्यु भएपछि गाउँमा त्रास
मलंगवाः सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजार रोगबाट ८ जनाको मृत्यु भएको काठमाडौंबाट गएको स्वास्थ्य टोलीले पुष्टि गरेको छ । बिरामी परेका १३ जनाको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।
मृत्यु हुनेमा ६० वर्षीय मखन माझी, उहाँका ३० वर्षीय छोरा मेघो माझी, २५ वर्षीया बुहारी जहरी माझी हुनुहुन्छ । ४ जनाको परिवारमा तीन जनाको मृत्यु भएपछि १३ वर्षीय नाति दिपेशलाई पनि रोगले च्यापेका कारण अस्पतालमा भर्ना गरिएको छ ।
त्यसैगरी, मृत्यु हुनेमा सोही टोलका ५० वर्षीय नथुनी माझी, उहाँका २३ वर्षीय छोरा विक्रम माझी हुनुहुन्छ । विक्रमकी २० वर्षीया श्रीमती पानबती माझीलाई पनि रोगले सिकिस्त बनाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
रोगले थलिएका विलास माझी र भुट्टा माझीको उपचार अभावमै केही दिनपहिले गाउँमै मृत्यु भएको थियो । उपचारका लागि अस्पतालमा ल्याइएकी राम दुलारी माझीको पनि सोमबार साँझ मृत्यु भएको छ ।
१० घरधुरीको मुसहर बस्तीमा रोगले महामारीको रूप लिएपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई स्थानीयले जानकारी गराएका थिए ।
मर्ने सबैमा एकै प्रकारको लक्षण देखापरेको छ । उनीहरूलाई पेट फुल्ने, टाउको फुल्नेलगायत लक्षणले साह्रो पारेको थियो । प्रजिअको पहलमा सर्लाही अस्पतालमा दीपेश माझी, राजेश माझी, परीक्षण माझी, सन्नी माझी, रिंकु माझी, दशैं माझी, रविन माझी, रविन मल्लिक, सञ्जय मल्लिक, कशमिरा थापा मगर, मानो माझी, पानवती माझी र चाँदनी पासवानलाई अस्पताल भर्ना गरिएको छ । जिल्ला अस्पतालमा बिरामीलाई बेड अभाव भएपछि भुइँमै उपचार गराइएको छ ।
निरीक्षणका लागि जिल्ला तथा काठमाडौंबाट आएका टोलीले जाँच गर्दा कालाजारबाट उनीहरूको मृत्यु भएको पुष्टि भएको थियो । जंगलछेउमा रहेको बस्तीमा सरसफाइ तथा खानेपानीको अभाव छ । मुसहरहरू फोहोर पोखरीमा भाँडाकँुडा माझ्ने र नुहाउने गर्नाले पनि बिरामी परेको स्थानीय विदुरकुमार पौडेलले बताउनुभयो । ५० जना मात्र रहेको टोल अहिले सुनसान छ ।
काठमाडौंबाट आएका टोलीले गाउँमा कालाजारको प्रकोप पुष्टि गरेपछि गाउँमा त्रास छाएको जाकेश्वर महतोले बताउनुभयो । झुल नहाल्ने, खाना छापेर नराख्ने र जनचेतना अभावले पनि कालाजार भएको हुनसक्ने अनुमान स्थानीयको छ । परिवारका कमाउने सदस्य नै बिरामी परेपछि पैसाको अभाव भएको गंगियादेवी माझीले गुनासो गर्नुभयो । गंगियाका श्रीमान् र छोरा दुबैको मृत्यु भइसकेको छ ।