वित्तीय क्षेत्र सुधारमा विश्व बैंकको पाने ११ अर्ब
काठमाडौः नेपालको वित्तीय क्षेत्रमा स्थायित्व विकास गर्ने नीति निर्माण गर्न विश्व बैंकले १० अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकले मध्यकालीन वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत तेस्रो चरणका लागि १०करोड अमेरिकी डलर अर्थात १० अर्ब ७० करोड नेपाली रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता गरेको हो । नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकले तेस्रोपटक सहयोग गरेको हो ।
सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव शान्तराज सुवेदी र विश्व बैंकका नेपाल प्रमुख क्युमाओ फ्यानले हस्ताक्षर गरेका छन् । यो रकम वित्तीय क्षेत्रको विकास, वित्तीय प्रणालीको सुधार तथा पुनसंरचना, कानुनी तथा नियमनकारी निकायको क्षमता अभिवृद्धि र बैंकिङ क्षेत्रको पारदर्शीता तथा सुशासनमा खर्च गरिने सुवेदीले जानकारी दिनुभयो ।
नेपालको राजस्व असुली सन्तोषजनक भए पनि अहिले मुलुकको संरचना फेरिन लागेकाले सरकारको खर्च बढ्ने उल्लेख गर्दै यस्तो वित्तीय सहयोगको अपेक्षा रहेको सुवेदीले बताउनुभयो । विश्व बैंकको यस्तो सहयोग नेपालको मध्यावधिक पुनरसंरचना कार्यक्रमलाई सहयोग गर्न, बैंकिङ क्षेत्रमा रहेको संवेदनशीलता कम गर्न र पारदर्शीता वृद्धि गर्न प्रयोग हुँदै आएको छ ।
यो रकमबाट नेपालको बैंकिङ क्षेत्रमा कानुनी दायरा फराकिलो हुने, वित्तीय अपराध नियन्त्रण हुने, बैंकिङ क्षेत्रको जोखिम न्यूनीकरण हुने विश्व बैंकका नेपाल प्रमुख क्युमाओ फ्यानले बताउनुभयो । यस अघि सन् २०१३ र २०१५ मा विश्व बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको थियो ।
सम्झौता कार्यक्रममा फ्यानले सन् २०३० सम्म नेपाल मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले वित्तीय क्षेत्र सुधारमा उक्त रकमले ठूलो अर्थ राख्ने बताउनुभयो ।