प्रदूषणबाट जाेगाअाैं आँखा 

प्रदूषणबाट जाेगाअाैं आँखा 

हाम्रो आँखा शरीरको संवेदनशील र महत्वपूर्ण अंगमध्ये एक हो । हामीलाई संसार देखाउने भएकाले शरीरमा भएको अरू अंगभन्दा आँखाको विशेष महत्व रहेको छ । गर्मी मौसम बढेसँगै काठमाडौंमा धूलो र धुवाँले वातावरण नै प्रदूषित बनाउने गरेको छ ।

झन् अहिलेको वातावरणीय तापक्रमको वृद्धि, सहरी क्षेत्रमा मोटरगाडीको चाप, काठमाडौंको सडक विस्तार तथा मेलम्ची परियोजनाको कामले जताततै सडक खन्ने काम भइरहेकोले हावामा धूलो र धुँवाको मात्रा निकै नै बढिरहेको छ । यसले मानिसमा विभिन्न किसिमका समस्या देखा पर्न थालेको छ । अहिले बढिरहेको वातावरण प्रदूषणले आँखा पनि अछुतो छैन । अहिलेको धुवाँ र धूलोले मानिसको स्वास्थ्यसँगै आँखालाई पनि असर गरिरहेको छ । प्रदूषणले आँखामा विभिन्न किसिमका समस्या देखा पर्न थालेको छ ।

सामान्य रूपमा आँखाको परेलामा आँसु निकाल्ने साना ग्रन्थीहरू हुन्छन् । धूलोको कारणले गर्दा आँसु निक्लिने बाटो बन्द हुन भई आँखा सुक्खा हुन जान्छ । त्यसैगरी धूलो र धुवाँको मात्रा बढी हुनाले आँसु चाँडै बाफ बनेर जाने हुँदा पनि आँखा सुक्खा हुने गर्दछ । यसले आँखा चिलाउने, पोल्ने बिझाउने, रातो हुनेजस्ता समस्या देखा पर्छन् । अहिले धेरै मानिसमा आँखाको सेतो भागमा मासु पलाउने समस्या देखा पर्न थालेको छ । यो पनि बढिरहेको वातावरणीय प्रदूषणकै एक प्रभाव हो ।

धेरै धूलो र धुवाँ लामो समयसम्म आँखामा जम्मा भयो भने त्यसले एलर्जी हुन्छ । यसका कारण आँखा सुन्निने, कचेरा लाग्ने, आँखा माड्न मन लाग्ने, रातो हुने, उज्यालोमा हेर्न गार्हो हुने, आँखा मैलोजस्तो देखिने हुन्छन् । कहिलेकाहीँ धेरै बढेर आँखाको नानीमा समेत सेतो दाग देखा पर्न सक्छ जसका कारण नानीमा संक्रमण भई दृष्टि नै जान सक्ने सम्भावना हुन्छ । धेरै प्रदूषणले हाम्रो आँखाको सामान्य अवस्थामा पनि आँखामा कीटाणुको संक्रमणको ज्यादै खतरा हुन जान्छ । यसले आँखा पाक्नेजस्ता समस्या बढाउँदै गएको छ ।

सुरुमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भएर आउने र पछि आँखाबाट आँसु धेरै बग्ने, कचेरा लाग्ने र दुख्ने हुन्छ । अहिले काठमाडौंका आँखा अस्पतालहरूमा यस्ता किसिमका समस्या भएका बिरामीहरू निकै नै बढिरहेको पाइन्छ । गर्मी समयमा हुने यस्ता किसिमका रोगहरू अहिलेको यो प्रदूषणले झनै बढिरहेको छ । प्रदूषणले आँखामा बाहिरी वस्तुपर्ने सम्भावना धेरै नै हुन्छ, समयमै उपचार हुन सकेन भने आँखामा फुलो परी अन्धोसमेत बनाउन सक्छ ।

कसरी आँखा जोगाउने

रोग लागेर उपचार गर्नुभन्दा रोग नैलाग्न नदिनु सबभन्दा बुद्धिमानी हुन्छ । त्यसैले प्रदूषणबाट आँखालाई स्वस्थ्य राख्न हामी सधैंभरि सचेत रहनुपर्छ । आँखामा देखिने कुनै पनि समस्यालाई सामान्य रूपमा लिनु हुँदैन । अझ आँखामा चस्माको सट्टा कन्ट्याक लेन्स लगाउने मानिसले झन् धेरै विशेष सावधानी अपनाउनुपर्छ ।

माथि बताइएका विभिन्न किसिमका समस्या आउन नदिन बाहिर घाम र धूलोमा निस्किँदा अनिवार्य रूपमा आँखालाई शीतल राख्न मद्दत गर्ने सनग्लासहरू लगाउनु पर्दछ । यसले गर्दा बाहिरी वातावरणबाट घर आएपछि नियमित चिसोपानीले आँखा सफा गर्नुपर्छ । विशेषगरी सुक्खा आँखाको उपचारको लागि कृत्रिम आँसुहरू नियमित रूपमा प्रयोग गर्दा पनि धेरै नै फाइदा हुन्छ । कुनै किसिमको एलर्जी छ वा अरू कुनै विशेष समस्या देखिएमा डाक्टरको सल्लाहबमोजिम उपचार गराउनुपर्छ ।
(लेखक चाबहिल दृष्टि आँखा उपचार केन्द्रमा कार्यरत दृष्टि विशेषज्ञ हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.