नयाँ वर्षमा 'जयामाया...
काठमाडौः लड्न कहलिएका अनि युद्धमा मार्न र मर्न नडराउने वीर गोर्खालीका रूपमा विश्वविख्यात नेपालीको नियति युद्धले कस्तो बनाउँछ वर्षौंअघि साहित्यकार इन्द्रबहादुर राईले ‘जयमाया आफूमात्र लेखापानी आइपुगी'मा प्रष्ट पारेका थिए । राईको त्यही चर्चित कथा नयाँ वर्षमा नाटकका रूपमा हेर्न पाइने भएको छ । दोस्रो विश्वयुद्धताका अरूका लागि युद्ध गर्दै भारतबाट बर्मा पुगेर युद्धपछि त्यहीँ बसोबास गरेर रमाएका नेपालीको जीवनमा जापानले आक्रमण गरेपछिको पलायन दर्शाउने राईको कथा सुनील पोखरेलको परिकल्पना र निर्देशनमा रंगमञ्चमा साकार हुन लागेको हो ।
नयाँ वर्षमा हेर्न पाइने यस नाटकको रिहर्सल अहिले अनामनगरस्थित मण्डला नाटकघरमा भइरहेको छ । बिहानै सुरु हुने अभ्यासमा कलाकारसहित करिब २५ जनाको ध्याउन्न नाटकमात्र छ । उनीहरू घरी देउसी खेल्छन्, घरी मादल बजाएर गीत घन्काउँछन् त घरी झगडा गर्छन् अनि घरी रुन्छन् । उनीहरू बिहानदेखि साँझ ६÷७ बजेसम्म मण्डलामै बिताउँछन्, थाकेपछि दर्शक दीर्घामै सुस्ताउँछन् । तिहारको रमझम छ । बर्माको मचिना गाउँमा सुबेदार जनपद सुब्बा आफ्नो घरमा जम्दार बाघवीर मुखियासँगै रमाइलो गरिरहेका बेला देउसेहरूले नाच्दै र गाउँदै रमझमको रमाइलो अझै बढाउँछन् ।
आगे आगे तोपैको गोला
पछि पछि मसिनगन बरर
चुरोट नदेऊ म बिँडी खानेलाई
माया नलाऊ म छोडी जानेलाई ।
देउसेलाई बिदा गर्नासाथ रेडियोबाट बर्मा सरकारको एउटा सूचना प्रसारण हुन्छ- जापानी सेनाले बर्मामा आक्रमण गरेको अनि इरावदी नदीको किनारैकिनार लासियो र मैनाबस्तीसम्म आइपुगेको । सरकारले नागरिकसँग सुरक्षित बस्न सूचना जारी गर्छ । युद्धपछि शान्तिपूर्ण जीवनयापन गरिरहेका मचिनाका प्रवासी नेपालीहरू त्यसपछि ज्यान जोगाउन मचिना छाडेर फर्कन थाल्छन् । सबैले थातथलो छाडेर हिँड्दा पनि गाउँ नछाडेका सुबेदार बुढा जम्दार बाघवीर हिँडेपछि भने झिटीगुन्टा कसेर हिँड्छन् । बर्माबाट फर्कने तिनै प्रवासीले बाटामा भोग्नु परेको कहालीलाग्दो त्रासदीको नाट्य रूपान्तर हो- जयमाया आफूमात्र लेखापानी आइपुगी' ।
नाटकमा सुलक्षण भारती, सिर्जना अधिकारी, आर्जेश रेग्मी, सुनिशा बजगाई, आभाष अधिकारी, सुरज तमु, राज न्यौपाने, श्रेया भुसाल, रीता केसी, रणवीर कार्की, मौसम खड्का, सुरज चौलागाईं, चाँदनी शाही, सञ्चितप्रताप मल्ल, अमृत मल्ल, सुजन कार्की, उषा भण्डारीलगायतले विभिन्न चरित्र निर्वाह गरेका छन् । नाटकको सेट नाटक तथा फिल्म निर्देशक अनुप बरालले डिजाइन गरेका छन् । नाटकमा सुनीललाई मुख्य सहायकका रूपमा समीर जोशीले निर्देशनमा सघाएका छन् भने निवाल वज्राचार्यले सहायक निर्देशकका रूपमा ।
अर्जुन पोखरेलको कोरियोग्राफी रहेको नाटकमा सरिता गिरीले भेषभूषाको जिम्मा लिएकी छन् । नाटकमा लाइभ संगीत रहने भए पनि संगीतकारबारे भने सुनीलले नाटककै दिन जानकारी दिने बताउँदै तत्काल ‘सस्पेन्स'मै राख्न चाहे । मुख्य सहायक निर्देशक जोशीले कथालाई नाटकमा रूपान्तर गर्न निकै कठिन भएको बताए । उनले भने, ‘कुनै लिखित स्क्रिप्ट बनाएनौं । इम्प्रोभाइजेसन गर्दै नाटक तयार गर्यौं ।'
‘इन्द्रबहादुर दाईको कथा करिब ७५ वर्षअघिको समयको भए पनि अहिले परिवेशमात्र फरक छ । मानव तस्करको माखेसाङ्लोमा परेर कोलम्बिया हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने नेपालीहरूको कथा पनि योभन्दा फरक छैनजस्तो लाग्छ', सुनीलले भने, ‘फेरि संयोग पनि कस्तो पर्यो, नाटकको अभ्यास गरिरहँदा शुक्रबार अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गर्यो ।'