अलैँची मासेर अम्रिसो खेती
भोजपुर : कुनैबेला अलैँचीको कमाईले छोराछोरीको पढाईखर्च, घरखर्च धान्दै आएका भोजपुर नगरपालिका-१, भैँसीपंखा खुरिलाका दुर्गाबहादुर कार्की आजकल निराश देखिन्छन् । प्रशस्त आम्दानीले हौसिएर ६ बर्ष अघि अलैँची खेतीमा लागेका उनलाई अलैँचीमा लागेको रोगले आम्दानी चौपट बनाईदिएपछि निराशा बनाएको छ । कार्कीले लगाएको अलैँची खेती एक बर्ष हुन नपाउँदै रोगले सताएपछि उनी चिन्तीत बनेका उनले अलैची मासेर अम्रिसो खेती लगाएका छन् । एकातिर अलैँचीमा रोग आउन थालेसँगै यो साल अलैँचीको भाउ ह्वात्तै घटेकाले उनी मात्र नभएर जिल्लाभरका अलैँची कृषकहरु यतिखेर चिन्तीत भएका छन् ।
अलैँचीको पातमा किरा लाग्ने, छिर्के फुर्के, गानो कुहिने, पात कालो भएर सुक्ने रोग र ढुसिजन्य प्रकोप देखिएर अलैँची खेती मासिन लागेका कारण कृषकहरु चिन्तीत बनेका छन् । नयाँ बिरुवामा खासै समस्या नहुने, बिरुवाले बर्ष काट्न थालेपछि डढुवा रोगले सताउन सुरु हुने गरेको उनीहरुले बताए । 'उपचारका लागि कुनै निकायले खासै चासो दिएका छैनन्, सोधिखोजी गर्दा पनि पत्ता लागेको छैन, रोग लाग्न थालेको ५ बर्ष हुँदैछ,' कृषक दुर्गाबहादुरले बताए । भोजपुरबाट निर्यात हुने अलैँची मुख्य व्यापारिक केन्द्रहरु धनकुटा, धरान, विराटनगर, काठमाडाँ, संखुवासभाको खाँदबारी हुँदै विदेशसम्म एकबर्षमा करिब ३ करोड भन्दा बढिको निर्यात हुँदै आएको छ ।
रोगले अलैँची मासिने सम्भावना बढेको र बगान खाली हुने भएका कारण किसानहरुले अलैँची खेतीलाई हटाएर अम्रिसो खेती सुरु गरेका छन् । अलैँचीको फल भित्राउने बेला भैसक्दा बोट नै मरिसकेपछि किसान अन्य खेतीको प्रतिस्थापनमा लागेका छन् । 'राम्रै कमाई होला भनेर विरुवा खरिद गरेर रोपियो, फल्नै नपाई मरेपछि अलैँती खेती मास्दै अम्रिसोको बोट खोजीखोजी रोप्न थालेको छु,' षडानन्द नपा–७ का लाङ्गबहादुर तामाङ्गले भने विगत दुई बर्षयता रोगले राम्ररी च्यापिसकेका कारण आम्दानीमा समेत ५० प्रतिशत ह्रास आईसकेको छ ।
भोजपुरको माथिल्लो चिस्यान भेगका लागि चिराईतो पछि मुख्य नगदेबाली अलैँचीको आम्दानीमा बर्षेनी गिरावट आएका कारण जिविकाको आधार नै गुम्न लागेको छ । 'हाम्रो न जागिर छ, जायजेथाको नाउँमा यहि अलैँचीबारी थियो, फल्नै छाडेपछि अब के गरेर गुजारा चलाउने, छोराछोरी केले पढाउने ? ' हेलौँछाका पूर्णबहादुर राईले दुखेसो गरे । रोगको पहिचान भएपनि नियन्त्रणका लागि जिल्ला कृषि विकास कार्यालयले विशिष्टीकरण उपचार पद्धती दिन नसक्दा कृषक मारमा परेको उनले बताए । रोगको नियन्त्रण हुन नसक्दा अलैँची बगानहरु खाली हुँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालयले अलैँचीमा लागेको रोग नियन्त्रणलाई वेवास्ता नगरेको बताएको छ । 'अलैँचीमा रोग लागेर उत्पादनमा ल्याएको ह्रासलाई हामीले पनि फिल्डमा गएर अनुगमन गरिरहेका छौँ, अनि सक्दो प्राविधिक सहयोग जुटाईरहेका छौँ, तर पर्याप्त मात्रामा नियन्त्रणका लागि हामीसँग पनि पूर्णदक्षता नभएकै हो,' कार्यालयका योजना अधिकृत नन्दकिशोर अधिकारीले भने ।जिल्लाका दोभाने, खार्तम्छा, षडानन्द नगरपालिका, हेलौँछा, कोट, चम्पे, गोगने, खावा लगायत डेढ दर्जन भन्दा बढि ठाउँहरुको चार सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । जिल्लामा गतबर्ष १ सय ९० मेट्रिक टन अलैँची उत्पादन भएको कार्यालयले जनाएको छ ।