६३ दलले बुझाए हस्ताक्षर
काठमाडौः आफ्ना माग पूरा नभई स्थानीय तह निर्वाचनमा सहभागी नहुने अडान लिएको मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारको मनोनयन पत्र प्रदान गर्ने पार्टीका नेताको हस्ताक्षर आयोगमा बुझाएको छ ।
सबै पार्टीका तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दिने अधिकार पाएको आ-आफ्नो पार्टीको नेताको हस्ताक्षर बुझाउन बुधबार साँझ ६ बजेसम्मको समय आयोगले तोकेको थियो । तोकिएको समयभित्र मोर्चा आबद्ध सबै दलले हस्ताक्षर नबुझाएपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राति १२ बजेसम्मको समय थप गरेका थिए । थपिएको समयमा पनि कुनै दलले हस्ताक्षर बुझाउन आउने खबर नगरेपछि साँझ सात बजे आयोगले हस्ताक्षर बुझाउने समय सम्पन्न भएको घोषणा गरेको थियो ।
आयोगसचिव गोपीनाथ मैनालीका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ६३ दलले हस्ताक्षर बुझाएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले आयोगमा हस्ताक्षर बुझाएको आयोगले जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र मधेस समता पार्टीले पनि हस्ताक्षर बुझाएका छन् । मोर्चासम्बद्ध तमलोपा, सद्भावना, तराई मधेस सद्भावनाले भने हस्ताक्षर बुझाएका छैनन् । आयोगसचिव मैनालीले हस्ताक्षर नबुझाउने दलले निर्वाचनमा स्वतन्त्र हैसियत मात्र पाउने बताउनुभयो । ‘दलको उम्मेदवारले आधिकारिक हस्ताक्षरबाट आउनुपर्यो, दलीय हैसियतमा नआउनेलाई स्वतन्त्र हैसियत हुन्छ', मैनालीले भन्नुभयो ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले बुधबार अन्तिम समयमा मात्र हस्ताक्षर बुझाएको थियो । कांग्रेसले महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारीको मनोनयन पत्र पार्टी सभापति शेरबहादुर देउवाले दिने भन्दै हस्ताक्षर बुझाएको छ । यस्तै, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्यको मनोनयनपत्र महामन्त्री र कोषाध्यक्ष तथा गाउँपालिकाका पदाधिकारीको उम्मेदवार मनोनयन गर्न विभिन्न केन्द्रीय सदस्य तोकिएको भन्दै उनीहरूको हस्ताक्षर बुझाएको छ ।
प्रमुख विपक्षी एमालेले पार्टी अध्यक्ष केपी ओलीले महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको मनोनयन पत्र दिने भन्दै हस्ताक्षर बुझाएको छ । एमालेले नगरपालिका र गाउँपालिकाका लागि प्रदेश छुट्याएर केन्द्रीय नेतालाई जिम्मेवारी दिएको छ ।
एमालेले १ नम्बर प्रदेशमा सचिव भीम आचार्य, २ नम्बर प्रदेशमा स्थायी समिति सदस्य सत्यनारायण मण्डल, ३ नम्बरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ४ नम्बरमा स्थायी समिति सदस्य किरण गुरुङ, ५ नम्बर प्रदेशमा उपमहासचिव विष्णु पौडेल, ६ नम्बर प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली र ७ नम्बर प्रदेशमा उपाध्यक्ष भीम रावलले नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखको मनोनयनपत्र दिने भन्दै आयोगमा हस्ताक्षर बुझाएको छ ।
चीनबाट आए ११ प्रकारका सामग्री
संघीय समाजवादी र फोरम लोकतान्त्रिक सहभागी, मोर्चाका अन्य दल अनुपस्थित
ओली र देउवाले महानगरका प्रमुख र उपप्रमुख उम्मेदवारको मनोनयन पत्र दिने
माओवादी केन्द्रले पनि ७ वटै प्रदेशमा केन्द्रीय नेताले उम्मेदवारको मनोनयन पत्र दिने जानकारी आयोगलाई गराएको छ । माओवादी केन्द्रले १ नम्बर प्रदेशमा गोपाल किराती, २ नम्बरमा मातृका यादव, ३ नम्बर प्रदेशमा हितमान शाक्य, ४ नम्बरमा देव गुरुङ, ५ नम्बरमा वर्षमान पुन, ६ नम्बरमा शक्ति बस्नेत र ७ नम्बर प्रदेशमा लेखराज भट्टले पार्टीका उम्मेदवारको मनोनयन पत्र दिने भन्दै आयोगमा हस्ताक्षर बुझाएको छ ।
पार्टीहरूले आयोगमा बुझाएको हस्ताक्षरअनुसार उम्मेदवार हो वा होइन भनेर आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेछ ।
स्थानीय निर्वाचनमा चीन सरकारले ११ प्रकारका सामग्री पठाएको छ । आयोगसचिव मैनालीले अन्तर्राष्ट्रिय विमानस्थलमा पुगी ती सामग्री बुझेको जानकारी दिनुभयो । चीनले क्यालकुलेटर, घडी, पेन, स्ट्याप्लर, पञ्चिङ मेसिनलगायत निर्वाचनका लागि आवश्यक ११ सामग्री आयोगलाई पठाएको छ ।