द्वैध इन्टरनेट
इन्टरनेटको प्रकृति द्वैध छ । यो एक खतरनाक ठाउँ हो तर अवसरले भरिएको संसार पनि हो । सामाजिक सञ्जालमा लाखौं मानिसहरू प्रत्येक दिन धेरै घन्टा नेटवर्किङ साइटमा खर्च गर्छन् । सामाजिक सञ्जालको मुख्य उद्देश्य जानकारी र मनोरञ्जन हो । यसले मान्छेलाई एकअर्कासँग जोड्छ । २१ औं शताब्दीमा सहस्र संस्कृतिमा एक तीव्र वृद्धि देखिएको छ भने बद्मासी, उत्पीडन र ट्रोल्लिङका लागि सामाजिक सञ्जालले चर्चा कमाएको छ।
सामाजिक सञ्जालको पहिलो भ्रम भनेको अज्ञात हुन पाउनु हो । कहिलेकाहीं आफ्नो जीवन खतरामा हुन्छ, वा आत्मसुरक्षाको लागि आफ्नो पहिचान प्रकट गर्न सक्दैन । त्यस्तै कत्ति त अज्ञात हुन चाहन्छन् । अज्ञात हुनुमा मानिसहरूका कारण हुन्छन् । हुल्याहाहरूले जिन्दगीमा असर पार्छन् ।त्यसैले तपाईं लोकप्रिय सामाजिक सञ्जाल साइटहरू प्रयोग गर्नुहुन्छ भने तपाईंले व्यक्तिगत आक्रमण भोग्नुपर्छ र तपाईंलाई जोकोहीले ‘लेबल' लगाउनेछन् ।
एक व्यक्तिको तर्कप्रति होइन तर उसमाथि र उसको संसार हेर्ने सोचाइमा केन्द्रित हुन्छ एक तर्क वा प्रतिक्रिया ।अक्सर ट्विटरमा तपाईं आफ्नो दृष्टिकोण व्यक्त गर्न सक्नुहुन्छ वा १४० शब्दमा आफूलाई रक्षा गर्न सक्नुहुन्छ । तर मानिसहरूले मलाई चकित पारेका छन् । किनभने आजभोलि जोकोही ट्विटहरूमार्फत आक्रमण गर्न खप्पिस भएका छन् ।
मैले एकजना साथीलाई यो बानीबारे सोधेको थिएँ । उसले भन्यो– ट्विटर भनेको त्यस्तो संसार हो, जहाँ एक भीडले भरिएको सडकमा उभिएर ठूलो स्वरमा चिच्याउनु र कसैले सुन्लान् र तपाईंको सराहना गर्लान् कि भन्ने आशा हुन्छ रे ! सामाजिक सञ्जालको राय के हो भने तपाईंले आफ्नो बुद्धि प्रमाणित गर्ने ठाउँ हो रे । आफैंलाई मूल्यवान् हो भन्ने महसुस गर्ने ठाउँ हो रे !
यद्यपि मानिसहरू द्वैध हुन्छन्, हेपिन्छन् र पीडा सहन्छन् तर पनि सामाजिक सञ्जाल प्रयोग गर्न छोड्दैनन् । यो एकदम चाखलाग्दो कुरा हो । दोस्रो भ्रम भनेको हराउने भय हो । सामाजिक सञ्जाल साइटहरूमा सामेल भएका मान्छेको लागि मुख्य डर भनेको तिनीहरूले भर्चुअल संसारमा भाग लिन सक्षम हुन नसक्नु भन्ने हो ।
हामीले खानाको तस्बिर राख्ने, गएको ठाउँमा चेक इन गर्ने र अरूलाई हामी अझै पनि जीवित र सान्दर्भिक छौं भन्नको निम्ति चाहिने–नचाहिने हरेक चिज अद्यावधिक गर्ने प्रवृत्ति छ । तर यसले तपाईंलाई हराउनबाट बचाउँछ ? हालै गरिएको एक अध्ययनअनुसार एक व्यक्तिको अनलाइन मित्र वास्तवमा एक सय ५० जना मात्र हुनसक्छ रे ! केवल चारजना अफलाइन साथी हुन्छन् रे ! यो धूमिल तस्बिरले के दर्शाउँछ भने हामीले सबै कुरा अनलाइनमा राख्नुपर्छ र यसले अप्रासंगिक मात्रमा हाम्रो आत्मगौरव बढाउँछ ।
सामेल हुने र सामाजिक सञ्जाल छोड्ने प्रवृत्ति सन्तुलित छ । कसैले यसको दुरुपयोग गर्छन् त यसको महत्वव र साँचो प्रकृति बुझ्नेले सदुपयोग गर्छन् । यहाँ प्रश्न के हो भने हामीले साँच्चै सबै कुरा अनलाइनमा राख्नुपर्छ र ? सामाजिक सञ्जालले हाम्रो अस्तित्व प्रमाणित गर्छ र ? जन्मदिन वा पार्टीहरूको फोटो राखेजस्तै ? जवाफ हो अनि होइन पनि । अनलाइन स्वीकारोक्ति चाहने या सायद अरूलाई आफ्नो जीवन महान् छ भनेर देखाउन र डाह बढाउन त्यस्तो गर्छन् । जसले आफ्नो जीवन निजी राख्न चाहन्छन्, तिनीहरूले निन्दा खाने सम्भावना हुन्छ ।
धेरैजसो मानिस अधिकांश समय अनलाइनमा बिताउने गर्छन्, तर सामाजिक सञ्जालभन्दा महत्ववपूर्ण पक्ष धेरै छन् मानिसको जीवनमा ।
तेस्रो भ्रम व्यक्तिगत मान्यता पाउने भ्रम हो । यो भ्रम अनलाइन पहिचानको चाहना हो । संसारको प्रौद्योगिकी विकाससँगै मानिसहरू भर्चुअल संसारको अधीनमा फसिसके । बहुराष्ट्रिय कम्पनीहरूले भारी व्यापार र पहिचानको लागि मुख्य रूपमा सामाजिक सञ्जालमा लगानी गरेका छन् । यो प्राविधिक दिग्गजले हामीलाई विशाल तरिकामा मद्दत गरेको अस्वीकार गर्न सकिँदैन । तर एकै समयमा हाम्रो पहिचान अनलाइन भण्डारण गरिएको छ, प्रयोग भइरहेको छ र कुन उद्देश्यको लागि हो भने निश्चित छैन । अफलाइन रहने हो भने त्यस व्यक्तिलाई धेरै देशमा राज्य एजेन्सीहरूले निगरानी गर्छन् ।
तसर्थ हामी मानिसलाई अब चाहेर, नचाहेर हाम्रो आफ्नै अनलाइन उपस्थिति छ । हामी केवल कल्पना गर्न सक्छौं कि कसरी जटिल सामाजिक सञ्जाल भविष्यमा बन्नेछ । यो बहस भने लायक छ- सामाजिक सञ्जाल कतिको जरुरी छ वा हामीले यसलाई अन्त्य गर्नु उचित छ वा यसको प्रयोग कति गर्न सकिन्छ ?
मैले भर्खरै आफ्नो इन्स्टाग्राम र गुगल प्लसको एकाउन्ट मेटाएँ । मैले हाइ फाइभ र अर्कुट धेरै वर्षअगाडि अप्रासंगिक भएकाले पूर्णरूपमा मेटाएको थिएँ । एकजना महिला साथीले सोधिन्, किन त्यस्तो गरेको ? म सहमत छु, ममा हराउने भय त छ । तर म आफ्नो समय अफलाइनमा लगानी गर्न कोसिस गर्दैछु । म धेरै समय असंख्य अनलाइन प्रयोगकर्ताहरूसँग बिताउनु र मान्यता प्राप्त गर्नुभन्दा अरूमा बिताउन चाहन्छु । संसारमा सामाजिक सञ्जालभन्दा अरू धेरै विषयमा समय खर्च गर्न सकिन्छ । साँच्चै भन्ने हो सामाजिक सञ्जालभन्दा महत्ववपूर्ण पक्ष धेरै छन् मानिसको जीवनमा ।