एनसेलसँग ३२ अर्ब रुपयाँ असुल्नुपर्छः महालेखा
काठमाडौंः एनसेलको खरिद बिक्रीबाट थप ३२ अर्ब रुपैयाँ पुँजीगत लाभकर असुल्न पर्ने महालेखा परीक्षकले ठहर्याएको छ । महालेखाको ५४ औं वार्षिक प्रतिवेदनमा एनसेलबाट कर संकलन गर्न ठूला करदाता कार्यालयलगायतले जिम्मेवारी पूरा नगरेको उल्लेख गरिएको छ ।
एनसेल स्वामित्व गत वर्ष एक खर्ब ४४ अर्ब रुपैयाँमा स्विडेनको टेलियाबाट मलेसियाको एक्जियाटामा हस्तान्तरण भएको थियो । पुँजीगत लाभकर तिर्नै नपर्ने अड्डी कसेको एनसेलले दबाब परेपछि ६६ अर्ब ४६ करोड रुपैयाँ लाभ भएको देखाई त्यसको १५ प्रतिशतबापत हुने नौ अर्ब ९६ करोड रुपैयाँ कर दाखिला गरेको थियो । बाँकी १० प्रतिशतचाहिँ बिक्रेता टेलियाले तिर्नुपर्ने अड्डी उसले लिँदै आएको छ ।
महालेखाका अनुसार १० प्रतिशतबापत हुन आउने ६ अर्ब ६४ करोड रुपैयाँ त असुल्नु पर्ने छ नै, थप कर असुल्नपर्ने हुन्छ । एनसेलले कम्पनी खरिद ७८ अर्ब ३१ करोड रुपैयाँमा गरेको आधारमा गणना गरी १५ प्रतिशत लाभकर दाखिला गरेको थियो । तर अभिलेखमा एक अर्ब १२ करोड रुपैयाँमा खरिद गरेको देखिँदा बाँकी ७७ अर्ब १२ करोड लाभमा समेत १५ प्रतिशतको दरले १९ अर्ब २९ करोड रुपैयाँ असुल्नपर्ने महालेखाले ठहर्याएको छ ।
यस्तै ८० प्रतिशत सेयर एक खर्ब ४४ रुपैयाँमा बिक्री हुँदा स्थानीय साझेदारको २० प्रतिशत सेयर ११ अर्ब ५७ करोड रुपैयाँ घोषणा गरिनुलाई पनि महालेखाले अनुचित ठहर्याएको छ । ८० प्रतिशत सेयरको बिक्री मूल्यलाई नै आधार मानेर स्थानीय साझेदारसँग पनि ६ अर्ब १५ करोड रुपैयाँ थप कर असुल्नुपर्ने ठहर्याउदै असुल्न बाँकी रहेको ३२ अर्ब रुपैयाँलाई बेरुजु ठहर्याएको छ ।