विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड
विराटनगरः विराटनगर विमानस्थलले हवाई सुरक्षालाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) र नेपाल नागरिक उडड्यन प्राधिकरणले तय गरेको मापदण्ड पूरा गरेको छ । यो मापदण्ड पूरा गरेसँगै अब विराटनगर विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्न मिल्छ । तीस सिटभन्दा बढी यात्रु बोक्ने वायुयान सञ्चालन हुने विमानस्थलले अनिवार्य रूपमा यो प्रमाणपत्र लिनुपर्छ ।
क्षेत्रीय रूपमा महत्ववपूर्ण हवाई सेवा दिँदै आएको यो विमानस्थलले विमानस्थल प्रमाणीकरण प्रमाणपत्रसमेत प्राप्त गरेको छ । नेपालमा यस्तो प्रमाणपत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र प्राप्त गरेको थियो । आईकाओले नेपालको आन्तरिक विमानस्थलको प्रमाणीकरण नगरेको विषयलाई गम्भीर रूपमा उठाउँदै आएको छ । पोखरा, नेपालगन्ज, भैरहवा, भरतपुर, जनकुर र सिमरा विमानस्थलले अझै मापदण्ड पूरा गरेका छैनन् ।
विराटनगर विमानस्थलले प्रमाणपत्र प्राप्त गर्न विमानस्थलले प्रयोग गरेका र उपलब्ध गराएका सेवा उडान सञ्चालनको लागि सुरक्षित छन् भन्ने दस्तावेजसहितको प्रमाण, विमानस्थलमा उडानको सुरक्षा, निरन्तरता र प्रभावकारिताको प्रत्याभूति, आईकाओ र नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा नियमको परिपालना, विमानस्थल सञ्चालन गर्न कर्मचारीको प्राविधिक दक्षता र क्षमता प्रमाणित गरेको, उड्डयन सेवाको लागि आवश्यक उपकरण चुस्त दुरुस्त अवस्थामा रहेको र विमानस्थल सन्तोषजनक सुुरक्षा प्रबन्ध रहेको मापदण्ड प्रत्याभूत गराउन सफल भएको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बुधबार एक कार्यक्रमबीच नागरिक उडड्यन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ । यो प्रमाणीकरण दुई वर्षका लागि भएको जानकारी दिँदै महानिर्देशक गौतमले भन्नुभयो, ‘काठमाडौंपछि विराटनगर मापदण्ड पूरा गर्ने विमानस्थल भएको छ । क्षेत्रीय रूपमा महत्ववपूर्ण, धेरै पहिले स्थापना भएको र यहाँको सामाजिक–आर्थिक महत्ववले पनि पहिलो क्षेत्रीय विमानस्थलले तोकिएको विधिविधान पूरा गरेकोले प्रमाणपत्र दिइएको हो ।' गौतमले दुई वर्षसम्म अझै पूरा गर्नुपर्ने मापदण्डमा कमजोर भए प्रमाणपत्र फिर्ता हुने बताउनुभयो ।
एक हजार पाँच सय मिटर लम्बाइ र तीन सय मिटर चौडाइको विमानस्थलले सुरक्षा क्षेत्र थप एक सय पचास मिटर बढाउनु पर्नेछ । दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने मापदण्ड पूरा नगरे प्रमाणपत्र खोसिन सक्छ ।
आईकाओले निर्धारित गरेको कानुन, मापदण्ड तथा विधिबमोजिम सदस्य राष्ट्रले आफ्नो नियम, कानुन, मापदण्ड तथा विधि तयार गरेर कार्यान्वयनमा ल्याउने नियम छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रमाणपत्र (पहिलो संशोधन) नियमावली २०७३ अनुसार अन्तर्राष्ट्रिय सार्वजनिक हवाई यातायात सञ्चालन गर्न यो प्रमाणपत्र अनिवार्य लिनुपर्छ ।
प्रमाणपत्र लिन विराटनगर विमानस्थलले पूरा गर्नुपर्ने ८७ वटा सूचीमध्ये सम्बोधन गर्न लामो समय लाग्ने र ठूलो धनराशि खर्च हुने हुँदा छुट मागिएको थियो । चैत २ गते प्राधिकरणले विमानस्थलाई प्रमाणीकरण स्वीकृति दिएको हो । एक हजार पाँच सय मिटर लम्बाइ र तीन सय मिटर चौडाइको विमानस्थलले सुरक्षा क्षेत्र थप एक सय पचास मिटर बढाउनु पर्नेछ । पूर्व र दक्षिणतर्फ जग्गा अधिग्रहण गर्ने काम पनि पूरा गर्न बाँकी छ । दक्षिणतर्फ घना वस्ती बढ्दै जाँदा विमानस्थलको क्षमता अभिवृद्धि गर्ने चुनौती थपिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले ऐतिहासिक नगर विराटनगरले अन्य विमानस्थललाई पछि पार्दै प्रमाणपत्र लिनु गौरवको विषय भएको बताउनुभयो ।