विनोद चौधरी किन फर्किए महासंघमा ?

विनोद चौधरी किन फर्किए महासंघमा ?

काठमाडौः राजधानीको प्रज्ञा भवनमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा पूर्वअध्यक्ष विनोद चौधरी सहभागी भएपछि रौनक फेरियो । महासंघको राजनीतिबाट रुष्ट भएर बाहिरिएका चौधरी झण्डै दुई दशकपछि महासंघको कार्यक्रममा सहभागी हुनुभएको थियो । धेरै वर्षपछि महासंघको कार्यक्रममा सहभागी भएका चौधरी सेलिब्रिटीजस्तै बन्नुभयो । उहाँसँग सेल्फी खिच्न युवा व्यवसायीको घुइँचो नै लाग्यो । उहाँ पनि हर्षित मुद्रामा देखिनुहुन्थो ।

महासंघमा कार्यकाल दोहोर्‍याउन खोज्दा २०५२ मा पद्म ज्योतिसँग चुनाव हारेपछि चौधरी एकाधबाहेक कुनै पनि कार्यक्रम सहभागी हुनुभएको थिएन । महासंघमा एउटा समूदाय विशेषले कब्जा जमाएको आरोप लगाउँदै बाहिरिएका उहाँले नेपाल उद्योग परिसंघ गठन गर्नुभएको थियो । महासंघसँग पानी बारबारको अवस्थामा रहेका उहाँ एक्कासी कार्यक्रममा देखिँदा सहभागीहरु आश्चर्य चकित परेका थिए । कतिपयले चौधरीको सहभागिता निजी क्षेत्रबीचको एकताको सुरुवातका रुपमा लिए ।

आखिर कसरी चौधरीको मन महासंघमा फर्कियो ? चौधरीले अन्नपूर्णसँग भन्नुभयो, ‘पछिल्लो नेतृत्वमा नयाँ मानसिकता र सोँच देखियो, निजी क्षेत्रलाई एकवद्ध गरेर लैजाने वातावरण देखेको छु ।' नयाँ पिढीले देखाएको उदार भावनाको कदर गर्दै कार्यक्रममा सहभागी भएको उहाँको भनाई थियो । निवर्तमान अध्यक्ष पशुपति मुरारकाले चौधरीलाई कार्यक्रममा ल्याउन मूख्य भूमिका खेल्नु भएको थियो । चौधरी आएपछि कार्यक्रमस्थलमा मुरारकालाई बधाइको ओइरो आएको थियो । नयाँ पुस्तामा राम्रो शिक्षा र फराकिलो सोँचाई भएकोले सामुदाय विशेषको राजनीतिमा त्यति वास्ता राख्दैनन् ।

महासंघको राजनीतिमा नेवार भर्सेस मारबाडी समुदाय देखिन्छ । काठमाडौं बाहिरको नेवार र बाहुन÷क्षेत्री न्यूटल वा राजनीति विचारको छ । काठमाडौंका नेवार र मारबाडी आफ्नो समुदायप्रति कट्टर देखिन्छन् । तर, पछिल्लो पुस्तामा पुख्र्यौली प्रवृत्ती हराउँदै गएको देखिन्छ । चौधरीले भन्नुभयो, पछिल्ला पुस्ताले महासंघ समुदाय विशेषभन्दा माथि रहनुपर्छ भन्ने मानसिकता प्रर्दशन गरिरहेको छ ।

निवर्तमान अध्यक्ष मुरारकाले निजी क्षेत्र संगठित भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष भवानी राणाले पनि निजी क्षेत्रलाई एकवद्ध बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ । यसले निजी क्षेत्रबीचको दुरी घटाएर व्यवसायीक एकता कायम गर्ने सम्भावना देखिएको छ ।

 

मुरारकाले नेतृत्व सम्हालेदेखि नै महासंघ र परिसंघबीच सहकार्य हुँदै आएको थियो । कुनै समय पानी बराबारको अवस्थामा रहेका दुई संस्था पछिल्लो समय राष्ट्रिय मुद्दामा एकबद्ध हुन थालेका छन् । बजेट निर्माणमा होस् वा ऐन÷कानुन निर्माण, प्रधानमन्त्रीको विदेश भ्रमण होस् वा निजी क्षेत्रमा समस्या आउँदा दुबै संस्थाले एउटै मुद्दा बनाउन थालेका छन् । महासंघ नेतृत्वमा नयाँ पुस्ता आएसँगै निजी क्षेत्रको आवाज संगठित गर्ने र संस्थाहरुको गतिविधि संगठित गरेर वृहत दृष्टिकोणसाथ अगाडि बढ्ने वातावरण बन्दै गइरहेको चौधरीको बुझाई छ ।

‘हामीले महासंघ उद्योगपति, व्यापारीको मात्र नभएर मुलुकको समग्र आर्थिक क्षेत्रलाई उचाइमा पुर्‍याउने संस्था बनाउने परिकल्पना गरेका थियौं, यसले बृहत आर्थिक मुद्दाहरु ड्राइभ गरोस् भन्ने थियो' चौधरीले भन्नुभयो, ‘संस्थाको आकार बढ्यो, औकात र मान्यता बढ्यो, टेकुमा आफ्नै चारतले बिल्डिङ पनि ठडियो, हरेक नेशनल डिसिजन मेकिङको पार्ट बन्यो ।' तर, गुटगत राजनीति बढ्दै गएपछि महासंघबाट बाहिरिएको उहाँको भनाई छ ।

चौधरीले महासंघको नभएर त्यहाँको प्रवृत्ति र मानसिकताको विरोध गरेको बताउनुभयो । नयाँ पुस्तामा साम्रदायीक गुटको राजनीति पराजित हुँदै गइरहेको उहाँको बुझाई छ । महासंघमा निजी क्षेत्रलाई नयाँ उचाईमा पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्ति आउनुपर्छ । पछिल्लो नेतृत्वले सुधार गर्दै अगाडि बढिरहेको उहाँले बताउनुभयो । ‘पशुपति मुरारकाले मिलेर अगाडि बढ्न पहल कदमी गर्नुभयो, भवानी राणाले पनि निरन्तरता दिने विश्वास छ, अरु साथीहरु पनि नयाँ सोँचका देखिन्छन्' उहाँले भन्नुभयो, ‘अब मिलेर अगाडि बढ्ने वातावरण बनेको छ ।'

निजी क्षेत्र विभाजित हुँदा उनीहरुको आवाज पनि कमजोर बन्दै गइरहेको छ । महासंघलाई बलियो बनाउन सबै व्यवसायी एकवद्ध हुनुपर्ने आवश्यकता देखिन्छ । ‘अब महासंघ र परिसंघ मिलेर काम गर्नुपर्छ, परिसंघका धेरै साथी मिलेर अगाडि बढ्ने भनिरहनु भएको छ' चौधरीले भन्नुभयो, ‘महासंघको कार्यक्रममा जाँदा पाएको आत्मियताले बितेका कुराहरु बिर्साइदियो, ती सबै इतिहास भइसकेका छन्, त्यसले आउने दिनमा मेरो सोँचाई, दृष्टिकोण र बिचारमा कुनै प्रभाव पर्दैन ।' नयाँ आएको पिढीलाई शत् प्रतिशत समर्थन गरेर निजी क्षेत्रको एकताका लागि पहल गर्ने उहाँको भनाई छ ।

सरोकारवाला धेरैको भावना दुबै संस्था मर्ज हुनुपर्छ भन्ने छ । ‘दुई संस्थालाई मर्ज गर्न कुनै समस्या छैन, तर तत्काल आवश्यकता पनि देख्दिन' चौधरीले भन्नुभयो, ‘भारतमा सिआइआइ र फिक्की अलग–अलग संस्था छन्, श्रीलंका र बंगलादेशमा पनि अगल संस्था छन्, नेपालमा पनि परिसंघ र महासंघको अलग अलग भूमिका रहन सक्छ ।' दुबै संस्थाले पोलिसी लेवलमा सहकार्य गर्नुपर्नेमा उहाँको जोड छ । आपसमा मिलेर ‘नेशनल पोलिसी फ्रेमवर्क'लाई राम्रो दिशा दिनसक्ने खालको वृहत भिजन बोकेको ‘बडी' बनाउन पहल गर्ने उहाँले बताउनुभयो ।

परिसंघ बृहत नेटवर्क भएको संस्था होइन । महासंघको देश÷विदेशमा नेटवर्क बिस्तार भइसकेको छ । सरकारपछि सबैभन्दा बलियो नेटवर्क भएको महासंघ नै हो । त्यसैले हरेक जिल्ला, गाउँ र वडामा देखिएका व्यवसायका जटिलता सम्बोधन गर्ने जिम्मेवारी महासंघकै भएको चौधरी बताउनु हुन्छ । यसका लागि महासंघले परिसंघसँग सहकार्य गर्न सक्नेछ ।

‘काठमाडौंमा बस्ने ठूला व्यवसायीले आफ्नो समस्या आफै हल गर्न सक्छन्, तर जिल्लामा रहेका व्यापारीले गर्न सक्दैनन । उनीहरुलाई सम्बोधन गर्ने सशक्त माध्यम हुनुपर्छ ।' चौधरीले भन्नु भयो, ‘केन्द्रमा भएका रिसोर्सहरु (महासंघले थुप्रै डोनरसँग काम गर्छ, नेशनल पोलिसी फ्रेमवर्कमा ठूलो भूमिका छ) कसरी ग्रामीण क्षेत्रमा घरेलु तथा साना, मझौला उद्योग व्यवसायमा कसरी परिचालन गर्ने भन्नेमा ध्यान दिनुपर्छ ।' महासंघको विधान संसोधन गरेर ५० प्रतिशत भोट जिल्ला÷नगरलाई छुट्टाइएको पनि यसैका लागि हो । यो कार्यमा सघाउन परिसंघ तयार रहेको उहाँले विश्वास दिलाउनु भयो ।

परिसंघमा ठूला घरानाको बाहुल्यता बढी छ । महासंघका एशोसियटतर्फका सदस्यमा पनि ठूला घरना छन् । महासंघको एशोसियट उपाध्यक्षले परिसंघसँग सहकार्य गरेर बहुराष्ट्रिय कम्पनी, ठूला व्यवसायिक घरानाको समस्या समधानमा लाग्नु उचित हुने चौधरीको बुझाई छ । परिसंघले महासंघको बृहत नेटवर्क प्रयोग गरेर जिल्ला÷नगरमा काम गर्न सक्ने उहाँले बताउनु भयो । ‘हामी सबैका समस्या, सपना, सोँच र चुनौती समान छन्, ‘हामी प्रतिस्पर्धाभन्दा पनि मिलेर बिजनेश हडल्सका विरुद्धमा उत्रिनुपर्छ, संस्थाको स्ट्रेन्थका आधारमा अगाडि बढ्दा राम्रो हुन्छ ।'

महासंघको टेकुस्थित सचिवालय बनाउन चौधरीको ठूलो योगदान रहेको छ । उहाँले दौडधुप गरेर रकम संकलन गरी भवन निर्माण गर्न योगदान दिनुभएको थियो। तर, त्यही भवन उद्घाटनको बेला दर्शकदीर्घामा बस्नुपरेको उहाँ बताउनु हुन्छ । तर, महासंघले सोमबार भवन निर्माणमा चौधरीको योगदानको कदर गर्दै विशेष अवार्डले सम्मानित गरेको छ । उहाँले ५० वर्षपछि भएपनि भवन निर्माणमा विशेष योगदान पुर्‍याएको भन्दै सम्मानित हुँदा खुशी लागेको बताउनु भयो ।'

धेरै पछि महासंघको कार्यक्रममा जाँदा पुराना साथी, साथीका छोरा तथा भतिजाहरु भेटिएको उहाँले बताउनु भयो । फलानोको छोरा, भतिजा भनेर आफुलाई चिनाउँदै फोटो खिचाउन आएको उहाँका लागि निकै स्मरणीय रह्यो । ‘म कार्यक्रममा आउँदा धेरै भावविहल भएँ, कार्यक्रममा सहभागी धेरैसँग गएको छु, हिँडेको छु, कतिपय जिल्लामा पुगेको छु, उनीहरुसँग बसेर सपना बुनेको छु, उनीहरुसँग भेट हुँदा रमाइलो महशुस भयो' चौधरीले भन्नुभयो।

चौधरीसँग फोटो र सेल्फी खिच्नेमा परिचित व्यवसायीदेखि युवापुस्ता देखिन्थे । उहाँले भन्नुभयो, ‘युवापुस्ताको स्वागतले यस्तो लाग्यो तपाईं एकचोटी फेरी महासंघमा आउनुस, सँगै केही गरौंला भनिरहेका छन् ।' नयाँ पुस्ताको आफुप्रतिको झुकाव जीवनको सबैभन्दा ठूलो कमाईजस्तो लागेको उहाँले सुनाउनु भयो । अब आउने पिढी पढेलेखेका, फराकिलो सोँचाइ भएका र बलियो धरातलमा उभिएको हुँदा निजी क्षेत्रको भविष्य अझै उज्वल देखेको उहाँले बताउनु भयो ।

‘नयाँ पुस्ता संस्थामा आवद्ध हुनुपर्छ, यो व्यवसायिक हितमा छ' चौधरीले भन्नुभयो, ‘संस्थामा दिने समय बिजनेशमा दिए पो फाइदा हुन्छ भन्नु संक्रिर्ण सोँचाई हुनेछ, यदि मुलुकमा व्यापार गर्ने वातावरण बनेमा बिजनेश त स्वतः बढ्छ, हामीले व्यवसायिक वातावरण राम्रो बनाउनेतर्फ लाग्नुपर्छ ।' महासंघमा पूर्वअध्यक्षको अनुभवलाई बृहत पोलिसी फ्रेमवर्क तयार पार्ने काममा लगाउनुपर्ने चौधरीको सुझाव छ । ‘थिंक टयांक, थिंक ट्यांक भनिन्छ, पूर्वअध्यक्ष भइसकेको मान्छेभन्दा पनि बेटर थिंक ट्यांक अरु कोही हुन्छ र ।' उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.