भारत-पाक र सर्प-सिँढी
गत ७० वर्षमा भारत-पाकिस्तानबीचको सम्बन्ध सर्प र सिँढीको खेल नै भएर रह्यो । दस पाइला अघि के बढ्छ, बीस पाइला पछि सर्नैपर्ने दस्तुर नै भयो । राजनीतिक सामरिक व्यवहार यस्तै नकारात्मक सोच र कार्यले संस्कृति नै भएर बस्यो । एउटा सग्लो राष्ट्र थियो भारत । अंग्रेज सरकारले विश्वको अर्को शक्ति दक्षिण एसियामा किन राख्ने भनेर टुक्रै बनाइदियो यसलाई । उसले पश्चिम र पूर्व दुवैतिर पाकिस्तान राष्ट्र बनाइदियो । सधैं जुधोस्, सदैव लडोस् र कहिल्यै उकालो नलागोस् भनेर अंग्रेज सरकारले कश्मीरको विषाक्त औषधी पनि दुवैलाई खुवाइदियो ।
त्यसपछि इतिहास नै युद्ध, हिंसा, क्लेष र आतंकवादले छोप्यो सन् १९४८, १९६५ र १९७२ को भारत-पाकिस्तानको युद्ध एकापट्टि, अर्कोपट्टि दुई राष्ट्रले स्वाधीनता हासिल गरेको बखतमा नै लाखौं मानिस साम्प्रदायिक दंगा र हिंसाको सिकार बने । दक्षिण एसियामा लाखौं शरणार्थी पनि सन् १९४७ को स्वतन्त्रता पाएलगत्तैको अवधिमा भारत-पाकिस्तानले पहिलोपटक विश्वसमक्ष राखे । एउटा भयानक स्थिति थियो, सडक र गल्ली त के रेलगाडीभरि मानव समूहको मृत शरीर थिए, धर्मको नाममा र राष्ट्रको खोजीमा । अंग्रेज सरकारले रोपेको वीजले यति चाँडो यति निन्दनीय र हिंसात्मक टुसा पलाउँछ भनेर कसैले सोचेको पनि थिएन ।
त्यसपछि भारतलाई प्रजातन्त्रले खायो, पाकिस्तानलाई सैनिक शासनले नास गर्यो । दुवै राष्ट्र परमाणु शक्ति भए । पाकिस्तानमा सैनिक शासनले यति गहिरो जरा हाल्यो कि त्यहाँ सैनिक अधिकारीहरू नै सर्व श्रेष्ठ भए । व्यापार वाणिज्य, उद्योगधन्धा, घर, जमिन, संविधान र न्यायालय, नोकरशाही सबैसबैमा सेनाका अधिकारी र सैनिक शासनको प्रमुखको व्यापक प्रभाव पर्यो । भारतविरुद्ध काम गर्नु नै सैनिक शासनको एउटा ठूलो लक्ष्य मात्रै नबनेर भारतविरोधी नारा नै सैनिक शासन बाँच्ने र बचाउने ठूलो हतियार बन्यो । पछि गएर भारत विरोध नै पाकिस्तानी राष्ट्रवादको आधार र मर्म बन्न गयो।
याया खानदेखि लिएर जियाउल हक र परवेज मुसर्रफसम्म नै सैनिक शासनका क्रूरता र प्रजातन्त्रविरोधी कार्यहरू मुटु नै भएर बसे । भारतले पूर्व पाकिस्तानलाई एउटा स्वाधीन राष्ट्र बंगलादेश बनाउनमा जस्तो खुला, व्यापक अनि गहिरो सामरिक र राजनीतिक सहायता पुर्याए । यसले पाकिस्तानलाई जीवनभरि पुग्ने आघात पुर्यायो । यो आघात नै गाढा घाउ भयो, भारत-पाकिस्तान सम्बन्धमा ।
सन् १९६५ को भारत-पाकिस्तान युद्धपछि प्रधानमन्त्री लालबहादुर शास्त्रीले सोभियत संघको टासकेन्टमा गरेको सम्झौता र बंगलादेश राष्ट्र भएपछि जुल्फिकर अली भुट्टो र इन्दिरा गान्धीबीचको सिमला सम्झौता ऐतिहासिक नै भए पनि आज एउटा केवल दस्ताबेजको कंगाल भएर बसेको छ । सिमला सम्झौता एउटा पराजित नेता भुट्टोसँग इन्दिरा गान्धीले गर्दा पाकिस्तानमा भीषण विरोधको तुफान आएको थियो ।
भनिन्छ- इन्दिरा गान्धीले भुट्टोसँग सम्झौता गरिने स्थान सिमलामा भुट्टोलाई चाहिने र खुसी हुने सरसामान आफैंले व्यक्तिगत रूपमा जुटाएका थिए । भुट्टोलाई अति नै मनपर्ने हल्यान्डको टुलिप फुल, हवानाको सिगार चुरोट, रोयल स्यालुट, रक्सी सबै व्यक्तिगत रूपमा जोगाड गरेका थिए, इन्दिरा गान्धीले । अनि अन्त्यतिर अझै सुगम अन्त्य होस् भनी गीत, गजल प्रस्तुत गर्नलाई वेगम अखतारलाई निम्त्याएका थिए । एउटा सग्लो सम्झौता भयो- शान्ति, सद्भाव र मैत्रीभावका निम्ति । अभाग्यवश, भुट्टोलाई फाँसीमा चढाइयो । केही कुरो पनि अघि बढेन ।
सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा हमला गरी त्यहाँ अड्डा जमाएपछि स्थिति अचम्मै प्रकारले बिग्रियो । लगभग एक करोड अफगानी मानव समूह शरणार्थी भएर पास्कितानका विभिन्न शिविरहरूमा पुगे । अमेरिका र सोभियत संघको शीतयुद्धको केन्द्रबिन्दु नै भए, अफगानिस्तान र पाकिस्तान ।
सोभियतको सेनालाई अफगानिस्तानबाट लखेट्न अमेरिकाले दुई भयानक काम गर्यो । पहिलो, पाकिस्तानसँग मिलेर अनेकन स्वतन्त्रता संग्रामीको झुन्ड बनाए मुजाइद्दीनको नाममा । हिकमथियार जस्ता जुझारु लडाकुहरूलाई यी मुजाइद्दीनले नेतृत्व दिए । शरणार्थी शिविरमा बस्ने सबैले कोही न कोही मुजाइद्दीनमा सामेल हुनै पथ्र्यो, खानु, लाउनु, नोकरी, शिक्षा र स्वास्थ्य सुविधा हासिल गर्न । शरणार्थीलाई हतियार दिइयो । प्रशिक्षणमा सम्मिलित गरियो सोभियत सैन्य दलको विरोधमा लड्न । पछि सोभियत संघ टुक्राटुक्रा भएपछि र अफगानिस्तान छोडेपछि यही प्रशिक्षण पाएका हत्यारधारीहरू तालिवान भएर अफगानिस्तानभित्र पसी राज गर्न थाले ।
दोस्रो पाकिस्तानको सैनिक शासनलाई अझै सुगठित बनाइदिए डलर खनाएर, हातहतियार प्रशस्त मात्रामा दिएर पाकिस्तान अफगानिस्तान सिमानाबाट विश्व बजार व्यापक रूपमा पुगिरहेको हिरोइन जस्ता भयानक लागूपदार्थमा आँखा चिम्लेर । सोभियत संघ टुक्रेपछि अमेरिकाको अफगानिस्तान पाकिस्तानमा चासो र लक्ष्य नै सकियो र यस क्षेत्रबाट निक्लेर गए । ११ सेप्टेम्बर २००१ को अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा ओसामा विन लादेनको आतंकवादी दलले हमला गरेपछि मात्रै अमेरिका ती लादेनलाई स्वाहा पार्न ऊ फेरि अफगानिस्तान पाकिस्तान फक्र्यो । राम्रो तालिवान-नराम्रो तालिवान, पाकिस्तान तालिवान-अफगानी तालिवान भनी जो बहस हुँदैछ आज, यी सबै शीतयुद्धले ल्याएको पैसा, हतियार आतंकको नतिजा नै हो ।
पाकिस्तानको मुजाइद्दीन र तालिवान नै भए फेरि भारत-पाकिस्तानको अर्को काँडा र घाउ । पाकिस्तानमा सैनिक शासन र त्यहाँका जासुस संस्था आईएसआईले गहिरो रूपमा चलाए यी आतंकवादीलाई भारतको जम्मु-कश्मीर र अन्य क्षेत्रहरूमा । पैसा, हतियार, कीर्ति र शक्तिले उन्मत्त भएका आतंकवादीहरू विभिन्न झुन्डमा बाँडिए र पाकिस्तानभित्रै अड्डा जमाएर बसे । भारतको कश्मीरमा आगो नै लगाइदिए एकपटक । त्यसपछि भारतको संसद्मा आक्रमण भयो, बम्बईमा हमला भयो, पठानकोट र उरीमा अर्को आतंकवादी हस्तक्षेप भयो । त्यति मात्रै कहाँ हो र प्रधानमन्त्री नवाज सरिफले थाहै नपाई मुसर्रफले भारतको कारगिलमा हमला, अड्डा जमाए ।
भारत-पाकिस्तानबीच रहिआएको चिसोपनले सबैलाई उजाड बनायो । दक्षिण एसियाको एक मात्र क्षेत्रीय संगठन ‘सार्क' अठारताल सबै आठ राष्ट्र र सरकारका सर्वोच्च नेतृत्व एउटै मञ्चमा भेटेर पनि किञ्चित मात्रामा पनि अघि बढेन । बिरामी पाकिस्तानी चिकित्साको लागि भारत आउनै सकेनन् । आफ्ना आफन्त भेट्न भारतीय नागरिक पाकिस्तान जानै सकेनन् । आमा उता पाकिस्तानमा र पिताजी यता भारतमा भएकाहरूको एकअर्कालाई देख्न नपाई चोला उडे । संगीत, कला, साहित्य, पत्रकारितासमेतमा न्यास्रोपन देखा पर्यो । व्यापार, वाणिज्य र उद्योगधन्धा त ठप्प नै भयो ।
भारत-पाकिस्तानको यस्तो सोचनीय र चिन्ताजनक सम्बन्धलाई अर्कोतिर धेरैले शोषण गरी मुनाफा कमाए, व्यापार गरे र फाइदा उठाए । अमेरिकाले के गरेन र के पाएन ? अहिले चीनले ग्वादर बन्दरगाह पायो र पाकिस्तान-चीन आर्थिक करिडर अघि सार्यो । बहुराष्ट्रिय कम्पनीहरूले पाउनसम्म पाए पाकिस्तानबाट । खर्लप्पै खाइदिए पाकिस्तानलाई । सन् १९९० को दसकको पाकिस्तान र आजको पाकिस्तानमा अन्तर अझै बढ्दै गयो । सुन्दर थियो इस्लामावाद, व्यस्त थिए लाहोर र रावलपिन्डी, धनी थिए लाहोर र सिन्ध र शान्तमय थियो पेसावर आजभन्दा २० वर्षअघि ।
धेरै समय साथीहरूसँग मर्री, फैसल मस्जिद, अनारकली, मिनारे पाकिस्तानमा बिताउँथ्यौं । पेसावरको चप्पल, कबाब र नमक मन्डी र लाहोरको ग्वाल मन्डीमा कबाब र मगज करीमा झुम्मिन्थ्यौं । आज स्थिति अति नै खतरा छ त्यहाँ । आतंकवादले पाकिस्तान तहसनहस पार्दैछ । गत एक दसकमा मस्जिद, स्कुल, बजार, कारखाना, मेला आदि । जनभेला हुने स्थानहरूमा आतंकवादीले गरेको हमलामा ८०-९० हजार मानिसहरू मारिए । आतंकित छन् सबै त्यहाँ । अर्थव्यवस्था, व्यापार, वाणिज्य, काम-धन्धा, रोजगार, खेतीपानी, पानी, बिजुली, अस्पताल सबै नै आतंकवादले थिचिएका छन् । राष्ट्र ऋणमा चुर्लुल्म्मै डुबेको छ । आज हामी पाकिस्तान जाँदा उराठलाग्दो लाग्छ, धेरै साथीहरूका हौसला पनि गिर्दै गए झैं लाग्छ । पाकिस्तानहरू अति नै न्यानो, अतिथि सत्कारमा निपुण र भारतीयहरूप्रति प्रगाढ प्रेम । सैनिक शासन र नोकरशाही ठीक उल्टा । यही नै हो समस्याको जड र समाधानको मर्म।
जति-जति पाकिस्तानी जनसाधारणलाई अँगाल्यौं उतिउति भारत-पाकिस्तान सम्बन्ध घाम लाग्ने सम्भावना र न्यानोपन आउने क्षितिजनजिक । तर अर्कोपट्टि जतिजति पाकिस्तानी सैनिक शासन र राजनीतिक प्रणालीको नजिक उतिउति भारत-पाकिस्तान सम्बन्ध चिसोपन, उजाडको भावना र युद्धको आह्वान । यही भूल नै गरिरह्यौं, दोहोर्याइरह्यौं गत सात दसकसम्म र नै आज सर्पको मुखमा पुग्यौं र सिँढीबाट झरेर फेरि दुईचारमा आइपुग्यौं ।
भारत-पाकिस्तानबीच रहिआएको चिसोपनले उजाड बनायो । बिरामी पाकिस्तानी चिकित्साको लागि भारत आउनै सकेनन् । आफ्ना आफन्त भेट्न भारतीय नागरिक पाकिस्तान जानै सकेनन् । आमा उता पाकिस्तानमा र पिताजी यता भारतमा भएकाहरूको एकअर्कालाई देख्न नपाई चोला उड्यो । व्यापार, वाणिज्य र उद्योगधन्धासमेत ठप्पै भयो ।
पाकिस्तानमा सैनिक शासन प्रजातन्त्रका खोलमा र प्रधानमन्त्रीको घुम्टोभित्र पनि बाँचिनै रहन्छ र चालु नै रहन्छ । प्रधानमन्त्रीले चुनाव जितेपछि ठूलो चित्त लिएर काम गर्न खोजेकै हुन्छ, तर सैनिक शासन र त्यसभित्रको आईएसआईले प्रधानमन्त्रीलाई चल्नै दिँदैन । पर्दापछि गहिरो रूपमा कश्मीर र अन्य समस्याबारे चर्चापरिचर्चा मात्रै नभएर नीति बनाउने प्रयत्न गरिएकै हो । तर यसले सम्झौताको रूप कहिल्यै लिन सकेन । नियाज नायक आर के मि श्र कहाँ भेटेनन् होला ? प्रधानमन्त्री अटल विहारी वाजपेयी तयार भएर बसेका थिए । आफैं लाहोर गएर मिनारे पाकिस्तानसम्म भ्रमण गरेर प्रधानमन्त्री नवाज सरिफसँग सम्झौताका बुँदाहरू तयार पारेका थिए । जनरल मुसर्रफले वाजपेयीसँग आग्राको शिखर सम्मेलनमा एउटा सग्लो मार्ग निर्देश गर्छन् भन्ने सबैले आशा राखेका थिए । हात्ती आयो हात्ती आयो फुस्सा भन्दै यो पनि फुस्सै भयो । वाजपेयीले केही गर्न सक्ने नै थिऐ । उनमा अनुभव, जनताको आस्था र नैतिक प्रबलता थियो ।
भारत-पाकिस्तानको चर्चा जारी रह्यो । प्रधानमन्त्री मनमोहन सिंहले दृढतासँग शान्ति र मैत्रीका एजेन्डा अघि बढाए । फेरि पर्दापछि गुप्तरूपमा बातचित सुरु गरे । भारतको तर्फबाट एसके लाम्बा र पाकिस्तानका तर्फबाट कसुरी । यिनीहरूले धेरैपटक भेटे, आआफ्ना नेतृत्वलाई नियमित रूपमा के हुँदैछ बताए । जनरल मुसर्रफको फर्मुला पनि चर्चामा ल्याइयो, जसमा जमिन भूमिको हस्तान्रण सामेल थिएन, जम्मु कश्मीरबाट सबै सैन्य दल हटाउने प्रस्ताव थियो र कश्मीरमा स्वशासन र थप स्वायत्तताको प्रस्ताव थियो । अभाग्यवश लाम्बा कसुरी वार्तालाप पनि असफल भयो । माछामाछा भ्यागुता नै भयो ।
प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा एउटा नयाँ जोस र आशा फेरि पलायो । मोदी मन्त्रिमण्डलको शपथ ग्रहण समारोहसमेतमा ऐतिहासिक रूपमा प्रधानमन्त्री नवाज सरिफ उपस्थित भए । पछि मोदी अचानक नवाज सरिफको पारिवारिक कार्यक्रममा सामेल हुन लाहोर पुगे । अब भने भारत पाकिस्तान सम्बन्धले दृढता हासिल गर्ने नै रहेछ भन्दै थियौं, पठानकोठ र उरीमा आतंकवादी हमला भयो । चरम सीमामा भारतले समेत रातारात पाकिस्तान क्षेत्रभित्र नै आतंकवादी शिविरमा हमला गर्यो । भारतीय नागरिक कुलभूषण जादवलाई पाकिस्तानी न्यायालयले फाँसीमा चढाउने ओदश दिएपछि फेरि सर्प सिँढीबाट पनि संख्या नै नदेखिने मानचित्रमा पुग्यो । एकपट्टिले भन्छ, ‘बात नहीं कहीं गयी ।' फेरि अर्कोपट्टिले भन्छ, ‘बात नहीं सुनी गयी ।' कसलाई के भन्ने ? फेरि माछो माछो भ्यागुता होइन, अझै तल चेपेगाँडामा पुग्यो, यो अद्भुत सम्बन्ध ।
भारत-पाकिस्तान सम्बन्धलाई न्यानो बनाउन दुई राष्ट्रबीच ट्र्याक टु (दोस्रो तह) का विभिन्न सभा, संगोष्ठी र चर्चापरिचर्चा भइरहन्छ । म आफैं यस्ता सभामा सामेल भएको लगभग २५ वर्ष नै पुग्यो । दुईचार कुरा अचम्मकै हुन्छन् यस्ता सभामा । केही दिनअघि दुबाईको हायात होटेलमा भएको अति उच्चस्तरीय ट्र्याक टु सभामा पनि मैले यही कुरो पाएँ । दुवै पक्षका अति उच्च पदमा पुगी अवकाश प्राप्त गरेका सैन्य अधिकारीहरू भोगेर, देखेर, सुनेर पनि ठूला सोच्नै सक्तैन । अवकाश प्राप्त गरेको १०-२० वर्षपछि पनि सरकार नै बाजा बजाइरहन्छ ।
नयाँ कुरो भन्नै माग्दैन र सुन्नै पनि । दोस्रो, अति नै मानिएका सर्व श्रेष्ठ खबर कागज र पत्रपत्रिकाका सम्पादक पत्रकारहरूले किन आफ्नो पत्रिकामा भारत-पाकिस्तान सम्बन्धका केवल नकारात्मक खबरहरू मात्रै छाप्छन् भन्नेमा बहस हुँदा एकअर्काका राष्ट्रमा संवाददाताहरू छैनन् भन्ने किसिमका जवाफ दिन्छन् । तेस्रो, गैरसरकारी संस्थामा काम गर्ने, विश्वविद्यालयका शिक्षकहरू र अन्य राष्ट्रहरूमा कामधन्धा गर्नेहरू सबै राजनीतिदेखि माथि उठौं भन्छन् र व्यापार, वाणिज्य, कला, संस्कृति, खेलकुद, पर्यटन आदिलाई माथि ल्याऔं भन्छन् । इनसानियात र जमुरियातको कुरो गरौं भन्छन् ।
साँच्चै भारत-पाकिस्तान सम्बन्ध सर्प सिँढीको खेल नै भयो । अन्तर एउटै रहेछ । गोटीमा एकदेखि ६ नभएर गोटीको ६ वटै तर्फमा एक लेखिएको रहेछ । अर्थात् एक गोटी फ्याँके पनि चार ताल फ्याँके पनि एकै आउँदो रहेछ । एक सय नम्बर पुग्नुअघि ९९ मा कश्मीर लेखिएको रहेछ अनि त्यहाँ सर्पको टाउको राखिएको रहेछ । ९९ पुग्नासाथ सर्पको पुच्छर १० मा झर्दाेरहेछ । १० मा लेखिएको रहेछ, ‘लेकिन जिन्दगी उम्मिद पे कायम है, और कोसिस किजिये ।'