अघि लागे नायिका 

अघि लागे नायिका 

२०७३ साल नेपाली चलचित्रका लागि ऐतिहासिक वर्ष साबित भएको छ । यो वर्ष एक सय १० वटा चलचित्रले प्रदर्शनका लागि सेन्सरबाट अनुमति पाए पनि ८८ वटा चलचित्रले मात्र हलसम्म पुग्ने अवसर पाए । यो वर्ष रिलिज भएका केही चलचित्रले अघिल्लो वर्ष नै सेन्सरबाट प्रदर्शन अनुमति पाएका थिए । गत वैशाख ५ गते सेन्सर गरिएको हाउ फन्नीदेखि चैत २५ गते प्रदर्शन अनुमति पाएको घामपानीसम्म आइपुग्दा जति चलचित्रले प्रदर्शन अनुमति पाए, तिनमा कतिपय अझै रिलिज हुन बाँकी छन् ।

बाटोमुनिको फूल २ बाट प्रदर्शन सुरु भएको वर्ष २०७३ अहिले प्रदर्शन भइरहेको चलचित्र अपरिचितसम्म आइपुग्दा कतिले इतिहास बनाए पनि धेरैजसो चलचित्रले लगानी उठाउन पनि सकेन ।नेपाली चलचित्रको इतिहासमै छक्का पन्जाले सबभन्दा धेरै व्यवसाय गर्‍यो । चलचित्रले प्रदर्शनको सुखद सय दिन नमनाएको वर्षौंपछि यस वर्ष त्यो अवसर दीपा श्री निरौलाको निर्देशन रहेको छक्का पन्जाले प्राप्त गर्‍यो ।

देशका विभिन्न २१ हलमा ५१ दिन मनायो । नेपालभित्र १६ करोड र विदेशको समेत गरी २५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्नु गौरवमय कुरा हो । छक्का पन्जालाई पछ्याउँदै प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रा'ले पनि काठमाडौंका केही हलमा ५१ दिन पूरा गर्‍यो । राम्रो व्यवसाय गर्ने चलचित्रमा लुट २, वीरविक्रम पनि परे । लुट २ ले छक्का पन्जाको रेकर्ड तोड्छ भन्ने धेरैको आकलन थियो । तर, त्यो स्तरको व्यवसाय गर्न नसके पनि यो चलचित्रलाई दर्शकले रुचाए ।

हाइप बढी व्यवसाय कम

वर्ष २०७३ मा केही चलचित्रले प्रदर्शनअगाडि धेरै हाइप पाए । तर, चलचित्र जब पर्दामा उत्रियो, त्यो हाइप निरासामा बदलियो । केही चलचित्र यसरी चर्चामा आउनुका पनि आआफ्नै कारण थिए । वर्षको सुरुमै चलचित्र बाटोमुनिको फूल २, हाउ फन्नी रिलिज भए । पहिलो भागको सफलताका कारण बाटोमुनिको फूल २ र माल्भिका सुब्बासहितको नयाँ टिमका कारण हाउ फन्नी धेरै अपेक्षा गरिएका चलचित्र थिए ।

वैशाख अन्तिमतिर के म तिम्रो होइन प्रदर्शनमा आयो । श्रीकृष्ण श्रेष्ठ अभिनीत सुपरहिट चलचित्र कोहिनुरमा समेटिएको गीतबाट नामकरण गरिएको यो चलचित्र कोहिनुरपछि आकाश अधिकारी निर्देशित भएकाले निकै अपेक्षा गरिएको थियो । त्यसैगरी नयाँ लुकमा आर्यन सिग्देल अभिनीत होमवर्क, अनमोल केसी र पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत गाजलु, बीपी कोइरालाको कृतिमा आधारित तीन घुम्ती, विराज भट्ट र रमेश उप्रेतीको कमब्याक चलचित्र जय परशुराम र ब्रासलेटको नियति पनि उस्तै भयो । रामबाबु गुरुङ निर्देशित पुरानो डुंगा, दीपक रौनियार निर्देशित सेतो सूर्य, कर्मा र केकी अभिनीत लभ सासा, तुलसी घिमिरे निर्देशित दर्पण छाया २ लगायतका राम्रा भनिएका र निकै अपेक्षा गरिएका चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न सकेन ।

अन्तर्राष्ट्रिय महोत्सवमा प्रभाव

व्यावसायिक रूपमा सफल हुन नसके पनि दीपक रौनियार निर्देशित सेतो सूर्यले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रभावकारी उपस्थिति जनाएको छ । हालै स्विट्जरल्यान्डमा आयोजित ‘फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा यो चलचित्रले ‘स्पेसन मेन्सन अफ दी जुरी', ‘दी अडियन्स अवार्ड', ‘दी इक्युमेनिकल जुरी अवार्ड' र ‘द डन क्विजोटे अवार्ड अफ दी आईएफएफएस' गरी चारवटा अवार्ड जित्यो । महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रतर्फ ‘फिचर फिल्म' विधामा यो चलचित्र समावेश थियो । भेनिस फिल्म फेस्टिभल, टोरोन्टो फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको चलचित्र सेतो सूर्यले सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट एसियन फिचर फिल्मको अवार्ड जितेको छ । त्यसैगरी भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट फिल्मको अवार्ड पाएको मीनबहादुर भाम निर्देशित कालो पोथीले पनि वर्ष २०७३ मा अन्तर्राष्ट्रिय बजारमा राम्रो छाप छाडेको छ । ८९औं एकेडेमी अवार्ड (ओस्कार)मा बेस्ट फरेन ल्यांग्वेज फिल्म विधाका लागि नेपालको प्रतिनिधित्व गरे पनि मनोनयनमा भने पर्न सकेन ।

हलमा नयाँ दर्शक

व्यावसायिक रूपमा मात्रै होइन, ‘स्टोरी टेलिङ'का दृष्टिले पनि यो वर्षले ‘युटर्न' लिएको छ । वर्ष २०७३ मा नयाँ दर्शक धेरै थपिएका छन् । कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शक हलसम्म पुगे । एउटै चलचित्रले नेपालभित्र १६ करोड रुपैयाँको व्यापार गर्नु, १०० दिन मनाउनु यसैको उपज हो । नेपाली चलचित्र राम्रो बन्दैन भन्ने सोच ब्रेक भएको छ । छक्का पन्जा, जात्रा, लुट २ जस्ता चलचित्र हेर्दा लाग्छ, निर्माता निर्देशकले अब सक्ने कुरामा मात्र चलचित्र बनाउन सुरु गरेका छन् । आफ्नै कथा भन्न र नेपाली क्यानभास अनुसारको चलचित्र निर्माण गर्न थालेका छन् ।

नायिकाबीच बढी प्रतिस्पर्धा

वर्ष २०७३ नायिकाका लागि सुखद वर्ष साबित भयो । कुनै समय नेपाली चलचित्रमा नायिकाको अभाव खट्किन्थ्यो । प्रतिस्पर्धा पनि कमै हुन्थ्यो । तर, अहिले समय धेरै परिवर्तन भइसकेको छ । वास्तवमा यो वर्ष नायकभन्दा नायिकाबीचको प्रतिस्पर्धा र आकर्षण बढी देखियो । स्थापित तर क्रियाशील नायिकाहरूको दबदबा चिर्दै नयाँ सम्भावना बोकेर आएका नवनायिकाहरू वर्षभरि चर्चामा रहे ।

यो वर्ष छक्का पन्जा, हाउ फन्नी, पुरानो डुंगाजस्ता चलचित्र दर्शकलाई दिएर प्रियंका नम्बर वान नायिकामा दरिन सफल भइन् । वर्षभरि उनी व्यस्त भइन् । यस वर्ष सफलताको स्वाद चाख्ने अर्की भाग्यमानी नायिकामा परिन् आस्था राउत । अघिल्लो वर्ष दर्शकमाझ आएको चलचित्र नाइँ नभन्नु ल ४ बाट दर्शकमाझ ‘नोटिस' भएकी उनले वर्ष २०७३ मा सफल भएका छक्का पन्जा र जात्रामा अभियन गर्ने मौका पाइन् ।

नायिका ऋचा शर्मा अभिनीत तीन चलचित्र बाटोमुनिको फूल २, जंगे, लुट २ दर्शकमाझ आए । लुट २ मा उनको छोटो भूमिका छ । तर, यो चलचित्र सफलताको श्रेय उनको भागमा परेन । अन्य चलचित्रलाई दर्शकले खासै रुचाएन तापनि ऋचाका लागि यो वर्ष सफल मान्न सकिन्छ । उनको व्यस्तता खासै घटेन । अहिले चल्तीमा रहेकी अर्की नायिका केकी अधिकारी चलचित्रभन्दा म्युजिक भिडियोमा बढी व्यस्त देखिइन् । उनी अभिनीत चलचित्र हाउ फन्नी, लभ सासाले अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि केकीको क्रेजमा कमी आएको छैन ।

चलचित्र, अभिनयभन्दा पनि व्यक्तिगत कारणले वर्ष २०७३ मा बढी चर्चा पाएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । अघिल्लो वर्ष भुवन केसी निर्देशित चलचित्र ड्रिम्सबाट रजतपट डेब्यु गरेकी उनी त्यसयता कुनै पनि समय चर्चाभन्दा बाहिर छैनन् । अभिनयमा माहिर मानिएकी नम्रता श्रेष्ठका लागि पनि यो वर्ष त्यति उत्साहजनक भएन । निता ढुँगाना, पुजा शर्मा, आना शर्मा, अनु शाह, बेनिसा हमाल, स्वस्तिमा खडकालगायतका नायिकाहरु वर्ष २०७३ मा क्रियासिल देखिए पनि उल्लेखनीय उपलब्धी हासिल गर्न सकेनन् । थोरै चलचित्रमा अभिनय गरे पनि सृष्टि श्रेष्ठ, दिया पुनको राम्रै चर्चा भयो।

वर्षको अन्तिमतिर प्रदर्शनमा आएको रेखा थापा अभिनीत पलाँसले रेखाको विरासत कायम राख्न सकेन । यो वर्ष प्रदर्शनमा आएको उनको एकमात्र चलचित्र हो यो । लामो समय नम्बर वान नायिकाको ट्याग होल्ड गरेकी उनी अहिले त्यो अवस्थामा छैनन् । तापनि राजनीति र अन्य विभिन्न प्रसंगबाट उनी चर्चाको वृत्तभित्रै रहिन् । नयाँ वर्ष २०७४ सँगै चलचित्र डायरीमार्फत उनी पहिलो पटक खलभुमिकामा देखिँदै छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.