फेसनेबल इयर

फेसनेबल इयर


ग्राहकको चाहनालाई सम्मान


रोजिना शाक्य कायरा बुटिक
फेसन डिजाइनका दृष्टिले वर्ष २०७३ लाई भाग्यशाली वर्ष मान्छिन् डिजाइनर रोजिना शाक्य । विगत ६ वर्षदेखि फेसन डिजाइनमा लागेकी उनले गरेको धेरैजसो डिजाइन ग्राहकले मन पराइदिएकोमा खुसी छिन् । सिटी सेन्टरस्थित कायरा बुटिक चलाइरहेकी उनले यो वर्ष धेरै सेलिब्रेटीका लागि डिजाइन गरेकी छन् । श्वेता खड्का, दीपा श्री निरौला, अनु शाह, वर्षा राउत, मेलिना मानन्धरलगायत थुप्रै सेलिब्रेटीले उनका डिजाइन प्रयोग गरे ।

वर्ष २०७३ मा जति सेलिब्रेटी र अन्य ग्राहकले रोजिनाका पहिरन लगाए, सबैले एकदमै राम्रो प्रतिक्रिया दिएकाले उनी यो वर्षलाई उपलब्धिमूलक र सन्तुष्टिको वर्ष मान्छिन् । रोजिनाले अभिनेत्री एवं निर्देशक दीपा श्री निरौलालाई पञ्चेबाजासहित र्‍याम्पमा उतारेर यो वर्ष फेसनमा नयाँ ‘ट्रेन्ड' भित्र्याउन पाएकोमा उनी मक्ख छिन् । ‘मान्छेको उमेर र शरीरअनुसार पहिरन डिजाइन गर्नुपर्छ । उमेरअनुसारको पहिरन शैली अपनाएन भने सुहाउँदैन', रोजिना भन्छिन्, ‘वर्ष २०७३ मा ग्राहकको रुचि हेर्दा लेहेंगाको ट्रेन्ड बढेको देखियो । लगभग ९० प्रतिशतको रोजाइ लेहेंगा रह्यो । सदाबहार मानिने सारीको क्रेज धेरै कम देखिएको छ ।' रोजिनाको अनुभवमा मोटा मान्छेका लागि पहिरन डिजाइन गर्दा अलि सीप प्रयोग गर्नुपर्छ ।

पछिल्लो समय कोटवाला लेहेंगा निकै रुचाइएको छ । बोटनेक र अप सोल्जर भएको ब्लाउजको प्रचलन पनि त्यत्तिकै बढेको छ । तीनचार वर्षयता गाउन पनि उत्तिकै प्रचलनमा छ । धेरैले गाउन प्रयोग गर्न थालेका छन् । अगाडि छोटो र पछाडि लामो भएको गाउन धेरैको रोजाइमा पर्‍यो ।


फेसन डिजाइनिङ आफैंमा सिर्जनात्मक काम भएकाले समय र सन्दर्भअनुसार ग्राहकको रुचि फरकफरक हुने गर्छ । त्यसैले यस क्षेत्रमा जति नै राम्रो र मेहनत गरे पनि पूर्णता प्राप्त हुँदैन । यसको आयाम परिवर्तनशील हुन्छ । तापनि वर्ष २०७३ फेसन डिजाइनिङका लागि सन्तुष्टिको वर्ष साबित भएको छ।

वर्ष २०७३ मा ‘वेडिङ ड्रेस'मा नयाँ डिजाइन दिने प्रयास गरे पनि सम्भव नभएकाले यस योजनालाई नयाँ वर्षमा पूर्णता दिने उनको सोच छ । ‘२०७४ सालमा दुलहीका लागि नौलो फेसन लिएर आउनेछु । यसका लागि म प्रयास गरिरहेकी छु', उनले भनिन् । नेपाली डिजाइनरले हलिउड बलिउडलाई नै पछ्याउने गरेको उनको भनाइ छ । खासगरी हलिउड बलिउड सेलिब्रेटीले लगाएका पहिरन नेपालमा मात्रै होइन, विश्वभर उदाहरणीय र अनुकरणीय हुने भएकाले ग्राहकको रोजाइमा पर्नुलाई उनी स्वाभाविक मान्छिन् । ‘ग्राहकको चाहनालाई डिजाइनरले सम्मान गर्नुपर्छ', उनी प्रस्ट्याउँछिन् ।

 

अबको फेसन ‘इन्डोवेस्टर्न ड्रेस' हुने उनको दाबी छ । यस्ता पहिरनमा परम्परागत तथा पश्चिमा शैलीको फ्युजन हुन्छ । बुटिकका पहिरन भन्नासाथ महँगो हुन्छ भन्ने अवधारणा विस्तारै कम हुँदै गएको उनको अनुभव छ । ९० प्रतिशत ग्राहक सामान्य मानिस हुने भएकाले पन्ध्र हजार रुपैयाँ हाराहारीका पहिरन आफूले धेरै तयार गर्ने गरेको उनको भनाइ छ ।


पुरुषका लागि पनि


आस्तिक शेरचन द पुल्चोक थ्री


व्यावसायिक रूपमा फेसन डिजाइनिङमा लागेको वर्ष दिन पुग्दानपुग्दै डिजाइनर आस्तिक शेरचनले आफूलाई यस क्षेत्रमा स्थापित गरिसकेका छन् । ‘द पुल्चोक थ्री' नामक बुटिक चलाउँदै आएका आस्तिक भन्छन्, ‘वर्ष २०७३ निकै उपलब्धिमूलक रह्यो ।'

सुरुमा ‘आस्तिक डिजाइन' लिएर आएका उनले केही समयपछि ललितपुरको पुल्चोकमा ‘द पुल्चोक थ्री' नामक बुटिक खोलेका छन् । एक वर्षको अवधिमा आफूलाई धेरै सुधारेको आस्तिकको अनुभव छ । त्यसैले वर्ष २०७३ उनका लागि सिर्जनशील साबित भएको छ । ‘मैले परम्परागत पहिरन डिजाइन गर्दै आएको छु । आगामी दिनमा पनि यही आधारमा अघि बढ्ने सोच छ', आस्तिकले भने, ‘सेलिब्रेटीका लागि मैले धेरै डिजाइन गरेको छैन ।' उनले डिजाइन गर्ने खास परिहनमा सारी, लेहेंगा, कुर्ता, गाउन, वेडिङ ड्रेस पर्छन् ।

आस्तिकले तयार गरेका पहिरन पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले लगाउँदै आएकी छन् । आस्तिक कुनै पनि फेसन ट्रेन्ड पछ्याउन चाहँदैनन् । उनको अनुभवमा फेसन परिवर्तन भइरहन्छ । त्यसैले मान्छेको रुचिअनुसार आफैंले स्टाइल दिन सक्नुपर्छ । ‘मलाई फेसन ट्रेन्डभन्दा पनि आफ्नै स्टाइलको पहिरन बनाउन रहर लाग्छ । मनमा जस्तो लाग्यो त्यस्तै पहिरन बनाउने गर्छु', उनले भने, ‘अहिले चल्तीको फेसन हेर्ने हो भने महिलाका लागि लेहेंगा नै बढी रुचाइएको छ ।'

आस्तिकको बुझाइमा अन्तर्राष्ट्रिय बजारमा ट्रेन्डभन्दा गुणस्तर र सिर्जनालाई सबभन्दा धेरै ध्यान दिने गरिन्छ । विश्वमा फेसन डिजाइनिङ निकै अगाडि बढिसकेको छ । नेपाललाई विश्वको त्यो स्तरसँग तुलना गर्न मिल्दैन । ‘विदेशमा एकदमै व्यावसायिक र उत्कृष्ट खालका फेसन हुन्छन्', उनले भने, ‘विदेशमा त्यही स्तरका ग्राहक र व्यावसायिकता पनि छ ।' अहिलेसम्म आफूले गरेको कामबाट सन्तुष्ट रहेको उनको भनाइ छ । अबका दिनमा पुरुषका लागि अझ विस्तृत र नयाँ शैलीका पहिरन डिजाइन गर्ने र फरक खालका फेब्रिक प्रयोग गर्ने उनको सोच छ ।

सोध्न थाले सेलिब्रेटीले


नवीन लुइँटेल
अध्यक्ष, नेपाल फेसन महासंघ

सिर्जनशीलतासँगै संस्थागत रूपमा पनि वर्ष २०७३ नेपाली फेसन उद्योगका लागि राम्रो वर्ष साबित भएको छ । नेपाली फेसन डिजाइनरलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन यो वर्ष राम्रा प्रयास भए । नेपाली फेब्रिकलाई अन्तर्राष्ट्रिय बजारमा कसरी चिनाउन सकिन्छ भन्ने प्रयास सुरु भएको छ । आगामी अक्टोबर १ देखि ८ सम्म अफ्रिकी मुलुक सेसल्समा ‘हुने ‘वल्र्ड इन्डिजिनियस फेसन विक'का लागि नेपाललाई निमन्त्रणा आइसकेको छ ।
धेरैवटा सहभागी हुने यो अवसर नेपाली मौलिक पहिरन र सिर्जनात्मक पहिरनका लागि राम्रो प्लेटफर्म हो । यस फेसन विकमा नेपालका पाँचदेखि १० जनासम्म फेसन डिजाइनर सहभागी हुन पाउनेछन् । त्यसका लागि हाम्रा डिजाइनरलाई गु्रम गराइरहेको उनको भनाइ छ । ‘वल्र्ड इन्डिजिनियस फेसन विकमा अन्तर्राष्ट्रिय सेलिब्रेटीसँग प्रत्यक्ष सम्पर्क हुन्छ', अध्यक्ष लुइँटेलले भने, ‘यो अवसर एउटा डिजाइनरका लागि मुलुकलाई चिनाउने ठूलो अवसर हो।'

सात वर्षदेखि यस क्षेत्रमा क्रियाशील लुइँटेलका अनुसार नेपालीहरू फेसन डिजाइनिङमा अपडेट भएका छन् । तर, व्यक्तिगत रूपमा अगाडि भए पनि संस्थागत रूपमा अन्तर्राष्ट्रिय बजारसम्म अझै पुग्न नसकिएको उनको भनाइ छ । ‘नेपाली डिजाइनर प्रतिभावान् र सिर्जनशील भए पनि आफ्नो प्रतिभा देखाउन राम्रो प्लेटफर्म पाएका छैनन्', उनले भने ।

पहिरन स्किन कम्प्लेक्सन, शरीर एवं अनुहारको बनावट, कपालको स्टाइलजस्ता विभिन्न पक्षको पूर्ण सन्तुलन हो । यिनलाई मिलाउन सकियो भनेमात्रै पूर्ण फेसन डिजाइन बन्छ । अध्यक्ष लुइँटेलको अनुभवमा पाँच वर्षमात्रै भयो नेपालमा फेसन सेन्स परिवर्तन भएको । ‘हाम्रा सेलिब्रेटीले पनि कस्तो कार्यक्रममा जाँदा कस्तो पहिरन लगाउने भनेर डिजाइनरसँग सोध्न थालेका छन्', उनले भने, ‘बाटोमा पनि फेसनेबल युवकयुवती प्रशस्त देख्न पाइन्छ । सबैले फेसन बुझेर सुहाउँदिलो ड्रेसअप गर्न थालेका छन् ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.