क्यानभासको फराकिलो आयाम 

क्यानभासको फराकिलो आयाम 

२०७३ सालभरि कलाजगत् चलायमान रह्यो । नयाँ शैलीका कलाहरू सिर्जना भए । अधिकांश ग्यालरीहरू पनि खाली रहनेन् । समसामयिक विषयमा बढी कला सिर्जना भएको देखियो । भूकम्प, राजनीति, सांस्कृतिक, सामाजिक सम्पदाका विषयमा सिर्जना गरिएका कलालाई निकै आकर्षित भयो । कला समीक्षक लोक चित्रकारका अनुसार यो वर्ष कलाका फरक विधकाो लोकप्रियता बढ्यो ।

नयाँ ढंगले काम गर्ने चलन वर्ष २०७३ मा निकै बढ्यो । निश्चित वर्गभित्र मात्र हुने गरेको कलाको चर्चा सर्वसाधारणसम्म पुग्न सफल भएको छ । सामान्य मानिसले पनि कलाका विषयमा चासो दिन थालेका छन् । व्यापारिक हिसाबले परम्परागत कलाका लागि २०७३ राम्रो साबित भएको कला व्यवसायीको भनाइ छ ।

वर्ष २०७३ मा कलाजगतले केही राम्रा कलाकार गुमायो । परम्परागत कलाका समीक्षक कम छन् । समीक्षकबिना राम्रो काम हुन सक्दैन । चित्रकार परम्परागत कलालाई सर्वसाधारणसम्म पुर्‍याउने कार्यको थालनी २०७४ मा गर्नुपर्ने आवश्यकता देख्छन् । परम्परागत कलाको विषयमा राम्रो अध्ययन भएका छैनन् । स्रोतको विषयमा अध्ययन हुनुपर्छ । यही क्षेत्रमा कुनै पुरस्कार स्थापना भएको छैन ।

नयाँ वर्ष २०७४ ले थुप्रै चुनौती सामना गर्दै नेपाली कलाको विकास गर्नुपर्ने देखिन्छ । राम्रा कला सिर्जना भए पनि कलाको बजार सिर्जना हुन सकेको छैन । सहरमा ठूला मलहरू खुलिरहेका छन् । नयाँ वर्षमा यस्ता मलहरूमा कलाका लागि स्थान सिर्जना गर्ने कलाकर्मीको पहल हुनुपर्छ । ‘हरेक मलमा एउटा कला ग्यालरी होस्', उनले भने ।

सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा भएको अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिनाले' २०७३ को उदाहरणीय काम होे । नेपालमा विश्वका कलाकारको जमघट र कलाकर्म हुनुु ठूलो उपलब्धि हो । फाउन्डेसनकी सञ्चालक संगीता थापा कलालाई समुदायमाझ पुर्‍याउन सक्नुलाई सबभन्दा खुसीको कुरा ठान्छिन् । ट्रिनालेले कलालाई सेतो ग्यालरी भित्रबाट बाहिर निकालेको छ । सहरको विषयमा बनाइएका सिर्जनाहरू स्थानीयवासीको सहकार्यमा तयार भएका हुन् ।

चैतमा भएको ट्रिनालेको प्रभाव लामो समय रहने पक्का छ । कला गतिविधि भइरहेकाले यो वर्ष निकै उत्साहपूर्ण रह्यो । यही वर्ष फोटो फेस्टिवल आयोजना भयो । यी सबैको प्रभावले २०७४ सालमा धेरै काम हुने अपेक्षा संगीताको छ । नेपालमा कलाको बजार राम्रो नभए पनि ट्रिनालेमार्फत कलाकारले अन्तर्राष्ट्रिय स्थान पाएका छन् । विदेशी कलाकार तथा क्युरेटरले नेपाली कलालाई निकै बलियो मानेका छन् ।

२०७४ सालमा धेरै कलाकारले अन्तर्राष्ट्रिय स्तरमा कला प्रदर्शन गर्ने मौका पाउने संगीताको अनुमान छ । समसामयिक कलामा राजनीति, भूकम्पजस्ता विषय नै समेटिनेछन् । भन्छिन्, ‘सहरमा भूकम्पले भत्काएका घरका धूलो उड्न छोडेको छैन, यो विषयलाई हामी कसरी छोड्न सक्छौं र ? ' २०७३ सालमा भूकम्पको विषयले निरन्तरता पायो । जनताले भूकम्पको दुःख बिर्सिने परिस्थिति नबन्दासम्म यो विषयले प्राथमिकता पाइरहने संगीता बताउँछिन् । समाजको पीडालाई कलाकारले प्रस्तुत गर्ने हो । सरकारी स्तरबाट काम नभए पनि निजी क्षेत्रबाट कलाको विकासका लागि थुपै्र काम भए । संगीता सरकारलाई सहयोग गरेर अगाडि बढ्न चाहन्छिन् ।

 

कला समीक्षक रमेश खनाल पनि २०७३ साललाई उपलब्धिमूलक वर्ष मान्छन् । काठमाडौं ट्रिनाले सबभन्दा राम्रो उपलब्धि रह्यो । व्यक्तिगत र संस्थागत रूपमा कलाकारले अन्तर्राष्ट्रिय स्तरमा कला प्रदर्शन गर्ने मौका पाए । कलाका गतिविधि व्यापक भए । यो वर्ष कलाजगत्ले राम्रो प्रगति गर्‍यो । यही वर्ष कलाकारले राम्रो प्रदर्शनी गरे । ललितकला विषय पढाइ हुने कलेज थपिएका छन् ।

वर्ष २०७३ मा राम्रो समय र काम हुँदाहुँदै पनि ललितकला प्रज्ञाप्रतिष्ठान भित्रको झगडाले नेपाली कलालाई आमाबाबु नभएजस्तो बनायो ।

राम्रो समय र काम हुँदाहुँदै पनि ललितकला प्रज्ञाप्रतिष्ठानको झगडाले नेपाली कलालाई आमाबाबु नभएजस्तो बनायो । प्रतिष्ठानमा झगडा हुनु दुर्भाग्यपूर्ण कुरा हो । प्रतिष्ठान सुषुप्त भएर बस्दा अरू सबको प्रयास निरर्थक बन्छ । अब २०७४ सालमा सुषुप्त बनेको प्रतिष्ठानलाई ब्यूँताएर अगाडि बढाउनुपर्छ । ‘कलाप्रेमीहरू कला बजारको विषयमा चुपचाप छौं । अब कला बजार विस्तार गर्नुपर्छ', खनालले भने । सबै संस्थाले कलाको मार्केटिङ गर्नुपर्छ । यही मार्केटको माध्यमबाट अन्तर्राष्ट्रिय क्रेता भेट्न सकिन्छ । यसका लागि प्रतिष्ठानसँग मिलेर अघि बढ्नुपर्छ ।

खनालको विचारमा अब देशमा प्रतिष्ठान छ है भनेर विश्वास दिलाउनुपर्ने बेला भएको छ । कला संस्थाको विकास गर्ने नीति बनाउनुका साथै बाइनाले, ट्रिनालेजस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्नुपर्छ । २०७४ सालमा भौतिक पूर्वाधार निर्माण गर्नु पनि आवश्यक छ । धेरै प्रतिबद्धता लिएका यी कलाकर्मीले २०७४ साललाई नयाँ अवसरका रूपमा लिएका छन् । योजनाको केही प्रतिशतमात्र सफल भए पनि नेपाली कलाजगत्ले राम्रो उचाइ हासिल गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.