वर्ष गुञ्जाएका गीत

वर्ष गुञ्जाएका गीत

मेलम्चीको पानी काठमाडौंमा आउने सपना धेरैले देखेका थिए । त्यसैगरी पूर्व-पश्चिम रेल गुडे त्यसमा चढेर सररर यात्रा गर्ने चाहना पनि धेरैमा छ । कुरामात्र चलेका यी प्रसंगलाई समेटेर तयार पारिएको गीत पूर्वपश्चिम रेल बोलको गीतले गायक एवं संगीतकार राजनराज शिवाकोटीलाई वर्ष २०७३ मा लोभलाग्दो उचाइ दिएको छ ।

सम्बन्धित निकायलाई झकझकाएर काठमाडौंमा चाँडै मेलम्चीको पानी ल्याउने र रेल पनि गुडाउने उद्देश्यले यो गीतलाई करिब तीन वर्षअगाडि नै तयार गरिएको थियो । चलचित्र ‘छक्का पन्जा'को गीतको कुराकानी चल्दा निर्माता दीपकराज गिरीले यही गीत राख्ने भनेपछि चलचित्रमा समेटिन पुग्यो । लोकदोहोरी शैलीको गीतलाई अलि पृथक् रूपमा प्रस्तुत गरिएको छ । यो गीत २०७३ सालमा झन्डै साढे एक करोड ३५ लाखभन्दा बढी दर्शकले युट्युबमा हेरेर वर्षकै धेरै सुनिएको र हेरिएको गीतमध्येमा पर्न सफल भयो ।

आफूले बनाएका गीतसंगीतले दर्शक एवं श्रोतालाई कुनै पनि हिसाबले सन्देश दियोस् भन्ने चाहना गायक एवं संगीतकार राजनराज शिवाकोटीको छ । अलि बढी विकासे खालका गीत रुचाउने शिवाकोटी सही समयमा सही गीत परेका कारण दर्शकले रुचाएका तर्क गर्नुहुन्छ । कुनै पनि गीतमा रचनाकार, संगीतकार र गायकगायिकाले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको हुन्छ । यद्यपि कतिपयलाई श्रोताले मन पराउँछन् भने कतिपय त्यत्तिकै सेलाएर जान्छ । त्यसैले सिर्जना भनेका कहिल्यै पनि पूर्ण नहुने र यो गीतको सन्दर्भमा मात्रै नभई साहित्यमा पनि लागू हुने उहाँको बुझाइ छ ।

२०७३ सालमा आफूले गरेका कामका कमीकमजोरीलाई वर्ष २०७४ मा सुधार्दै लैजाने सोच उहाँको छ । हाल चलचित्रका गीतमै व्यस्त शिवाकोटीद्वारा संगीतबद्ध चलचित्र ‘दुई रुपैयाँ' र ‘पिँजडा ब्याक अगेन' रिलिजको तयारीमा छ । त्यसैगरी अहिले सातआठवटा चलचित्रमा एकसाथ काम गरिरहेको उहाँको भनाइ छ । चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड'बाट काम सुरु गर्नुभएका शिवाकोटीले गायक प्रमोद खरेलका साथमा भर्खरै बजारमा ल्याएका एल्बम ‘लाइदेऊ न मायाले'का गीत पनि अहिले श्रोता दर्शकमाझ लोकप्रिय भएको छ ।

नयाँ वर्षको आगमनसँगै पुरानो सालमा रहेका बाँकी कामलाई पूरा गर्ने उहाँको पहिलो प्राथमिकता छ । त्यसपछि दुई महिनाजति शान्त ठाउँमा गएर बिताउने सोच राख्नुभएका उहाँको आफ्नो जिल्ला दोलखाका गाउँघर र पाखा पँधेरी अनि बनजंगलमा गएर शान्त ठाउँमा रमाउने, गाउँले साथीसँग दुःखसुख बाँड्ने धोको पनि छ । नयाँ वर्षमा एकल एल्बम निकाल्ने सुरुमा रहनुभएका शिवाकोटीले सम्पूर्ण गीत तयार पारिसक्नुभएको छ । हिजो अग्रजले गरेका कुरालाई आज आफूले निरन्तरता दिएजसरी नै नयाँ वर्षमा नयाँ संगीतकर्मीले पनि अझै राम्रा गीतसंगीत लिएर आउने उहाँको अपेक्षा छ ।

 

बिदेसिनु आज कतिपयको रहर हो भने धेरैको बाध्यता बनेको छ । प्रायः नेपालीका हरेक परिवारबाट कम्तीमा पनि एक सदस्य परदेसिएकै छन् । देशको यही यथार्थ समेटेर गीतकार एवं संगीतकार कालीप्रसाद बास्कोटाले तयार पारेका ‘सुन साइँली' पनि यो वर्ष भाइरल गीत बन्यो । दुबई कतारमा मात्रै नभई युरोप अमेरिकामा जाने नेपाली पनि त्यहाँ दुःख गरेर कमाएको पैसा लिएर नेपालमै बस्ने मनस्थिति बनाउनेहरुको मन छोएका कारण सुन साइँली धेरैलाई मन परेको बास्कोटाको भनाइ छ ।

आफूले सोचेभन्दा गीत राम्रो भएको र त्यसमा पनि भिडियोले गीतलाई चर्चित बनाउन सहयोग पुर्‍याएको उहाँको बुझाइ छ । यो वर्ष श्रोतादर्शकमाझ आएको चलचित्र पुरानो डुंगाको ‘नीर जहिले रिसाउने', र लुट २को ‘ठमेल बजार'बोलको गीतले पनि बजार पिट्यो । ठमेल बजार एक करोड ४० लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । अहिले नेपाल आइडल र अन्य विभिन्न कार्यक्रमले गर्दा गीत रचना गर्न नभ्याएको उहाँको भनाइ छ । नयाँ वर्ष २०७४ को सुरुआतसँगै सिर्जनात्मक कामलाई निरन्तरता दिने उहाँको भनाइ छ । वर्ष २०७३ मा आफू धेरै व्यस्त भएकाले समय व्यवस्थापन गर्न नसक्नुलाई उहाँले कमजोरी ठान्नुभएको छ । नयाँ वर्षमा आफूलाई अलि व्यवस्थित बनाउने प्रयास गर्ने योजना उहाँको छ ।

दुबई कतारमा मात्रै नभई युरोप अमेरिकामा जाने नेपाली पनि त्यहाँ दुःख गरेर कमाएको पैसा लिएर नेपालमै बस्ने मनस्थिति बनाउनेहरुको मन छोएका कारण सुन साइँली धेरैलाई मन परेको हो ।

चलचित्र ‘लुट २'को गीत ‘ठमेल बजार' पनि युट्युबमा अत्यधिक हेरिएका गीतमध्येको एक हो । यस गीतकी गायिका मीना निरौलाले कालीप्रसादसँग भेटेर आफ्नो स्वर सुनाएपछि गाउने अवसर पाउनुभयो । त्यो अवसर उहाँको करिअरका लागि कोशेढुंगा साबित भयो । त्यो अवसर वर्ष २०७३ सालमा मिलेकाले यो वर्ष उहाँका लागि अविस्मरणीय बनेको छ ।

गायिका मीनाले नै गाएको चलचित्र ‘पर्व'को काले दाइ बोलको गीत पनि अहिले उत्तिकै चर्चित छ । वर्ष २०७३ मा मेहनतका साथ बितेकाले खासै कमजोरी नरहेको उहाँको भनाइ छ । तर वर्ष २०७४ मा आफूले अहिलेसम्म गाएका गीतभन्दा अलि फरक खालका गीत गाउने उहाँको योजना छ । आफूले काम गर्ने आगामी चलचित्रका लागि अझ मेहनत गर्ने उहाँको लक्ष्य छ ।

गायिका मेलिना राईका लागि पनि वर्ष २०७३ सफल रह्यो । यो वर्ष आफ्नो लागि ‘भाग्यमानी' साबित भएको उहाँको भनाइ छ । यस वर्ष दर्शकमाझ आएको चलचित्र ‘हाउ फन्नी'को ‘शिरैमा शिरबन्दी', चलचित्र राधाको ‘छपक्कै फूल फुल्यो बोटैमा' र एल्बममा समेटिएको ‘तिमीले बाटो फेर्‍यौ रे' बोलका गीतलाई श्रोतादर्शकले अत्यधिक रुचाए । आफ्ना गीतहरू जति चर्चित भए पनि त्यसमा अझै धेरै सुधार गर्नुपर्ने महसुस हुने उहाँको भनाइ छ । नयाँ वर्षमा आफ्नो कामलाई अझै सुधार्दै जाने, मेहनत गर्ने उहाँको सोचाइ छ । तीन वर्षअघि एल्बम बहार ल्याएर सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएकी मेलिना वर्ष २०७४ मा आफ्नो दोस्रो एल्बम ल्याउने तयारी गरिरहनुभएको छ ।

वर्ष २०७३ अञ्जु पन्त, आस्ता राउत, ज्योति मगर लगायतका गायिकाका लागि पनि सफल साबित भएको छ । अञ्जुले राजनराज शिवाकोटीसँग गाएको चलचित्र छक्का पन्जाको पूर्वपश्चिम रेलबाट आफ्नो दबदबा कायम राख्न सफल हुनुभएको छ । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि प्रभावकारी गायिकाका रूपमा आफूलाई उभ्याउनुभएका उहाँ वर्ष २०७३ मा पनि उत्तिकै व्यस्त रहनुभयो । स्टेज कार्यक्रममा इन्दिरा जोशी, सुनीता दुलाल, आस्था राउत, ज्योति मगरको माग बढी देखियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.