विजयको प्रतिक सिन्दुर हालेर मनाइँदै सदियौं पुरानो ‘सिन्दुरे जात्रा

 विजयको प्रतिक सिन्दुर हालेर मनाइँदै सदियौं पुरानो ‘सिन्दुरे जात्रा

नुवाकोटः  पाँच सय वर्ष पुरानो नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा बैशाख पूर्णिमाको विशेष अवसरमा सञ्चालित सिन्दुरे जात्रा मनाइएको छ । जात्रा डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा लाग्ने गरेको छ । नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि २०७३ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो । देवीघाटको जालपा देवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा भगवानको दर्शन गर्न तथा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, काठमाडौ लगायतका जिल्लाका हजारौं भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेको थियो ।

नुवाकोटको मुख्य तथा ऐतिहासिक बैशाख पूर्णिमा जात्राको विशेष मेलाको रौनक यहि वैशाख ८ गते समापन हुनेछ । प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्रमा रहेको भैरवी मन्दिरमा पांच सय वर्ष पुरानो प्रसिद्ध सिन्दुरे जात्रा विहीवार भव्यताका साथ गरिएको हो । जात्राको रौनकताले नुवाकोटको साततले दरवार क्षेत्रको भैरवी मन्दिर परिसरमा हजारौं जात्रालुको घुंइचो लागेको थियो ।

नुवाकोटको सवै भन्दा ठुलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्वितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र गुहृय पाटी अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ । द्वितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् ।

पांच सय बर्ष भन्दा पुरानो यो जात्राको मुख्य आकर्षण भैरवी मन्दिरमा धामी धमिनि, सरकारी कर्मचारी, नेपाली सेना र सर्वसाधारणले सिन्दुर जात्रा गरेर मनाइएको हो । यस अघि नै, चैत्र शुक्ल पूर्णिमाको दिन साततले दरवार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिन पछि द्वितियाको दिनमा भएको सिन्दुरे जात्राको निम्तो स्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको छ ।

 

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा आए पनि दिदी आएको अवसरमा सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ ।

यस अघि, देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनी सहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्‍याएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतिक सिन्दुर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दुर प्रदान गर्ने परम्परा रहेको छ ।

देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरिएको धामी धमिनी तथा रथ यात्रा पूजा परम्परा अनुसार नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्‍याइएको हो । नुवाकोट भैरवी मन्दिर भन्दा केही तल रहेको धरमपानीमा बिहानको सांढे तीन बजे पुगेका धामी धमिनी र भैरवी मन्दिरको रथ पूजा विधि प्रक्रिया पूरा गरी नुवाकोट तर्फ प्रस्थान गराइएको थियो ।

भैरवी मन्दिरको रथ अपरान्ह साढे चार बजे सेनाका ५० जवानहरुले भैरवी मन्दिर परिसरमा पुर्‍याएका थिए । पहिलो पटक नेपाली सेनाका जवानहरुले भैरवीको रथ बोकेका हुन् । भैरवी मन्दिरको रथलाई उकाल्न ५० जना भन्दा बढीको सेनाको डफ्फालाई मन्दिर परिसरको उकालोमा करिब आधा घण्टा लागेको थियो । भैरवी मन्दिरको रथ उकाल्दा जात्रामा सहभागि भएकाहरुले भैरवी मन्दिरको जय-जयकार गाएका थिए ।

रथ पुगेको केही समय पछाडी धामी -धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा पुर्‍याइएको थियो । धामीधमिनीलाई धरमपानीबाट नुवाकोट भैरवी मन्दिर प्रस्थान गराउदाँ जिल्ला प्रशसन कार्यालयका अधिकृत किशोर विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक देववहादुर वोहरा, श्रीनाथ गण देवीघाटका गणपति रोहित गुरुङ, सैन्य तालिम केन्द्र त्रिशूलीका महासेनानी पुरुषोत्तम ढकाल, जिल्ला समन्वय समितिको कार्यालय नुवाकोट लगायतका जिल्लामा रहेको सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिर तर्फ प्रस्थान गराउदाँ श्रीनाथ गण देवीघाटका ५० भन्दा वढि सेनाले सलामी अर्पण सहित भैरवी मन्दिरको निशाना झण्डा पहराउदै बजागाजा सहितले सम्मान गरेको थियो । भैरवी मन्दिरमा धामी धमिनी सहितको टोली पुगपछि २०७३ सालको सिन्दुरे जात्राको सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको थियो ।

सरकारका प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले धामीधमिनीलाई पूजा विधि मार्फत भैरवी मन्दिर परिसरमा रहेको महेश मर्दिन मन्दिर अगाडि सिन्दुर हालेरे यस वर्षको सिन्दुरे जात्रा मनाइएको थियो । सिन्दुर हालिसकेपछि धामी धमिनी, रथसहितको टोली तलेजु भवानीको मन्दिरमा पुगेर सिन्दुरे जात्राको समापनको अबसरमा आयोजित भोजमा सरिक भएका थिए ।

तलेजु मन्दिरमा आयोजित भोजमा धामी धमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो । भोज सम्पन्न पछि धामी धमिनी सहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि रहेको महेश मन्दिरसगैं राखिएको थियो । पूजाविधि अनुसार मन्दिर परिसरमा नै रहेका धामीले देवीघाटको जालपा देवी मन्दिरमा जस्तै भैरवी मन्दिरमा पनि रागाँ बोकाको भोग खाएर यसवर्षको सिन्दुरे जात्रामा धामीको तर्फबाट पुर्‍याउनुपर्ने सम्पूर्ण संकल्प पूरा गरेका थिए । बुढी देवी र भैरवी मन्दिर परिसरमा चार दिन अगाडि लिङ्गो ठड्याएर सुरुभएको २०७३ सालको जात्रा भैरवी भगवानको रथ सहित धामी धमिनी नुवाकोटबाट प्रस्थान गरी देवीघाटस्थित जालपा मन्दिरमा पुगेका थिए ।

औपरिक रुपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने वैशाख ८ गते हुने तयारी गरिएकोे सरकारका प्रतिनिधि द्वारे मेहन्द्रकुमार शाहीले जानकारी दिनुभयो । विशेष गरि फागु पुर्णिमाको दिनदेखि सुरु हुने सिन्दुर जात्रा डेढ महिनासम्म जारी रहने शाहीले वताउनुभयो ।

वुढि भैरवी र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिङ्गो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने छ । सिन्दुरे जात्रामा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थान, सहित रसुवा, धादिङ, काठमाडौलगायत जिल्लाका १० हजार भन्दा वढि भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेको थियो ।

सेनाका जवानले बोके रथः

भैरवी गुठिका गुठियार रहेका लच्याङबासीले रथ बोक्न अस्वीकार गरेपछि सिन्दुर जात्रामा सदियौंदेखिको परम्परा तोडिएको छ । नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्व बैशाख पुर्णिमा मेला अर्थात सिन्दुरे जात्रामा यसवर्षदेखि नेपाली सेनाले रथ वोक्न थालेका छन् ।

ऐतिहासिक तथा धार्मिक परम्परा र महत्व रहेको नुवाकोट साततले दरबारस्थित तुलजाभवानीको मन्दिरबाट जीवित देवताको रुपमा पुजिने धामिधमिनी र रथको पुजाआजा सहित सुरु हुने सिन्दुरे जात्रामा भैरवी गुठी अन्तर्गतका गुठियार लच्याङबासीहरुले रथ नवोकेपछि सेनालाई बोक्ने जिम्मा लगाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताउनुभयो । दुई सय ७३ वर्षदेखि रथ वोक्दे आएका लच्याङवासीले आफुहरुले भोग चलन गर्दै आएको गुठीजग्गा रैकर गरिनुपर्ने तथा आफ्नो नाममा जग्गाधनीपुर्जा बनाइनुपर्ने माग गर्दै तलेजु भवानीको रथ बोक्न अस्वीकार गरेपछि झण्डै तीनसय बर्ष देखि निरन्तर रुपमा चल्दै आएको सिन्दुरे जात्रामा रथयात्राको परम्परा यसवर्ष तोडिएको हो ।

सेनाको श्रीनाथ गणका ५० जना जवानहरुदले रथ वोकेका हुन् । उनीहरुले भैरवी माताको जय जयकार गर्दै रथ बोकेका हुन् । साततले दरबारस्थित तलेजु भवानी मन्दिरबाट मन्दिरको रथमा बिभिन्न देवी देवताको मुकुट राखेर र जीवित देवताको रुपमापुजिने धामीधमिनी र रथको पुजाआजासहित बाजागाजा हर्षबढाईकासाथ भैरवी मन्दिर र धरम पानीहुदै बट्टार, इनारपाटी, बाडाचौतारी हुदै नुवाकोट देविघाटस्थित जालपा देवीमन्दिरमा पुर्‍याईने परम्परा रहि आएकोमा यसवर्ष सो परम्परा तोडिएको छ ।

गुठियार लच्याङबासीले रथ बोक्न नमानेका कारण यसवर्ष रुट केही परिवर्तन गरी धामीधमिनी र बिभिन्न देवीदेवताको मुकुटलाई जिल्लास्थित सरकारी कार्यालयको गाडीमा राखेर वुधवार राती देवीघाटस्थित जालपामन्दिर पुर्‍याइएको थियो ।

गुठिजग्गाको भरमा रथ बोक्ने कार्यमा सहभागी हुदै आएका लच्याङ्गवासी समक्षगुठी सस्थानका प्रतिनिधि तथा प्रशासक नारायण चौधरीले गुठियारको सो जग्गा रैकर गर्ने प्रकृयामा रहेको र रथयात्रामा सघाउन आग्रह गर्दा बिगतमाझैं आश्वासनकै भरमा काम नगर्ने भन्दै उनीहरुले रथ वोक्न अस्विकार गरेपछि सिन्दुर जात्राअन्तर्गतको रथयात्रा परम्परा भने यसवर्ष सेनाले वोकेर परम्परा परिवर्तन भएको हो ।

गएराति गाडीमा देवीघाट पुगेका धामिधमिनी र बिभिन्न देवीदेवताका मुकुट पुनः धरमपानी, भैरवी मन्दिरमा पुर्‍याएपछि विभिन्न बिधिद्धारा बिशेष पुजाअर्चना गरिने र तत्पश्चात् धामिद्धारा धमिनीलाई सिन्दुर लगाइनुकासाथै सर्वसाधारणद्धारा समेत सिन्दुरको टीका लगाई हर्षोल्लासका साथ सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.