नयाँ वर्ष
सेताम्मे सगरमाथाबाट
रक्ताम्मे देशमा
शान्ति ओर्लिन आँटेको बेला-
बाटोमा रावणहरू
तगारो तेस्र्याइरहेका छन
नीलकण्ठ आऊ नयाँ वर्ष
विधवा पार्वतीहरू
आँसुले अर्चना गरिरहेछन् ।
यतिखेर हाम्रा आँखामा
परेवाहरू गुँड बनाइरहेछन
नीलो शान्ति उडेर
नववधू आऊ नयाँ वर्ष
सपना सत्य सावित गर्ने
सम्भावित उमंग सजाएर
सुहाग रातहरू पर्खिरहेछन् ।
तिम्रो यात्रामा-
कम्मलको कल्पना ओढेर
चिसो रात सुतिरहेको
भरियाको मूर्ति देखिनेछ
न्यानो पाखी आऊ नयाँ वर्ष
अँधेरो भेडीखर्क टेकिनेछ
उजेलो अक्षर आऊ नयाँ वर्ष
टुहुरो सारंगी भेटिनेछ
आमा गाइने आऊ नयाँ वर्ष
अर्थ न बर्थका-
शब्दहरू छोडाएर
नयाँ अर्थ आऊ नयाँ वर्ष ।