सुर्वणपुरवासीले ५२ वर्षपछि पाए जग्गाधनी पूर्जा
वीरगन्ज : ५२ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पत्र(लालपूर्जा) शुक्रबार हातमा परेपछि खुशीले भावविह्वल भएका वर्सा सुर्वणपुरका ७५ वर्षीय बृद्ध ऋषिराम सापकोटाले भने, 'आफनै जग्गाको लालपुर्जा पाउन पनि ५२ वर्ष कुर्नु पर्यो , आज बल्ल मेरो जग्गा मेरै सम्पति हो भन्ने महसुस भएको छ । शुक्रबार सापकोटासंगै आफनो जग्गाको ५२ वर्ष पछि लालपूर्जा पाउन सफल भएका स्थानीय ८४ वर्षीय निमा दोर्जे रुम्बाले भने 'जग्गा त आफ्नै थियो तर लालपूर्जा नहुँदा सुकुम्बासी जस्तै थियौं, किनबेच गर्न, धितो राखेर कर्जा लिन केही गर्न मिल्दैनथ्यो तर अब लापुर्जा पाएको छु यही जग्गा बैंकमा धितो राखेर ट्याक्टर किन्छु अनि खेतीपाती गर्छु ।
पर्साको साविकको गाविस सुर्वणपुरमा एक हजार ९७ घरधुरी छन् । चितवनको तिलकाने, हिले र गढुवामा बसोबास गर्दै आएका सात सय २० घरधुरीलाई तत्कालीन सरकारले त्यस क्षेत्रमा चितवन राष्ट्रिय निकुन्ज विस्तार गर्न भन्दै वि.सं. २०२१ सालमा पर्साको साविकको गाविस सुवर्णपुरमा स्तानान्तरण गरेको थियो । २०२१ साल देखि सुर्वणपुरमा बसोबास गर्दै आएको भएपनि स्थानीयले ५२ वर्ष देखि जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् । शुक्रबार भने उनीहरुले लालपुर्जा पाएका छन् ।
शुक्रबारको कार्यक्रममा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले आफनो जग्गा भएर पनि ५२ वर्षदेखि सुकुम्बासी सरह जीवन व्यतीत गर्न बाध्य सुर्वणपुरका जग्गाधनीहरुलाइ जग्गधनी प्रमाणपुर्जा वितरण गर्न पाउँदा आफूले पुण्यको काम गरेको महसुस भएको बताए । सुर्वणपुरमा शुक्रबार आयोजित जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साह, नापी कर्यालयका प्रमुख दुर्गा दास महर्जन, मालपोत कार्यालयका अधिकृत हरिनारायण मिश्रा, साबिकको सुर्वणपुर गाविसका निर्वतमान अध्यक्ष जरी लामा लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रबार सुर्वणपुरमा सट्टा भर्ना जग्गा दर्ता समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला मालपोत कार्यालयको समन्वयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्थानीयलाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गरेका छन् । त्यस अवसरमा करिमन राउत कुर्मीसंगै शान्ति बम्जन , राम रतन कोइरी, बाटुली स्याम्बो, रामजी ठाकुर हजाम, श्यामलाल विक , प्रेमा तामाङ, चुनी तामाङ, रामबहादुर दोङ, देवलाल स्याङबो लगायत अन्य ७२ जनाले जग्गाको लालपुर्जा पाएका हुन् । बाँकी एक हजार २५ जग्गाधनीलाइ एक महिनाभित्रै जिल्ला मालपोत कार्यालयबाटै लालपूर्जा वितरण गरिने मालपोत कार्यालयका प्रमुख सनत कुमार द्विवेदीले बताए ।
लालपुर्जा वितरण कार्यक्रममा द्विवेदीले भने, 'केहीको कित्ताकाट, सनखात, प्रमाणीकरण जस्ता काम बाँकी छन्, बाँकी रहेका जग्गाधनीहरुलाई पनि बैशाख महिना भित्रै लालपुर्जा वितरण गर्ने निर्णय भइसकेको छ ।’
वर्षौदेखिको प्रयासपछि मात्र सुर्वणपुरका जग्गधनीहरुले लालपुर्जा पाएको सट्टा भर्ना जग्गा संघर्ष समितिका अध्यक्ष राम बहादुर पाख्रीनले बताए ।
वर्षौ देखिको संघर्ष पछि मात्र सुर्वणपुरका जग्गधनीहरुले लालपुर्जा पाएको सट्टा भर्ना जग्गा संघर्ष समितिका अध्यक्ष राम बहादुर पाख्रीनले बताए । '२०२८ सालमा पहिलो पटक सरकारले जग्गाको नापी गरेको भएपनि त्यस बेला केही भएन, २०४५ सालमा उच्च स्तरीय आयोग गठन भयो, त्यो आयोगले पनि केही लछारपटो लगाउन सकेन, पाख्रीनले भने, '२०५२ सालमा सुकुम्बासी समस्या सामधान आयोगले पुर्जा दिन त दियो तर त्यो पुर्जालाइ सरकारले मान्यता नै दिएन ।’ शुक्रबार लालपूर्जा पाएपछि खुशी हुदै उनले भने, 'मेरो बाजेले लालपुर्जा देख्न पाएनन्, बुबाले पनि देख्न पाएनन् , मैले पनि आफनो जीन्दगीमा आफनो जग्गाको लालपुर्जा देख्न पाउदिन कि भन्ने ठानेको थिए तर मेरा बाबु बाजेले देखेको सपना आज विपनामा साकार भएको छ ।
५२ बर्षपछि लालपुर्जा पाएका स्थानीयले आफूलाई राज्यले सुकुम्बासी बनाइ दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको गुनासो गरे लालपुर्जा पाएपछि बल्ल आफूलाई यो देशको नागरिक भएको महसुुस गरेको ५२ वर्षदेखि भोगचलन गर्दै आएको भएपनि जग्गाको लालपूर्जा नहुँदा बैंक तथा बित्तीय संस्थाबाट कृषि ऋण निकाल्न र बेचबिखन जस्ता काम गर्न नपाएकाले धेरै सास्ती भएको भन्दै स्थानीय जग्गाधनीहरुले अब लालपुर्जा पाएपछि भने आफनो जग्गा आफनै सम्पत्ति भएको महशुस गर्न पाएको बताए ।
शुक्रबार लालपुर्जा पाएपछि खुशीले गद्गद् हुनु भएकी स्थानीय शान्ति बम्जनले भनिन् , लालपूजा नहुँदा हामीले आफनै जग्गालाई पनि आफनो सम्पतिको रुपमा ठान्न सकेका थिएनौ , हामीलाइ राज्यले दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिहेको छ भन्ने आत्मग्लानी हुन्थ्यो तर अब लालपुर्जा पाएपछि भने हाम्रो जग्गा हाम्रै सम्पत्ति भयो भनेर ढुक्क भएका छौ ।’
लालपूर्जा पाएपछि स्थानीय केही जग्गाधनीहरुले अब जग्गा बैंक तथा बित्तिय संस्थामा धितो राखेर ऋण लिइ खेतीपाती र व्यपार व्यवसाय गर्ने योजना रहेको बताएका छन् ।