बीजेपीका नेता उपाध्याय भन्छन्,‘वुद्धि बिग्रेका नेताले नेपाल–भारत सम्बन्ध बिगारे’
दमौलीः भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्यायले केही वुद्धि खराब भएका नेताहरुका कारण भारत र नेपालको सम्बन्धमा दरार ल्याउन खोजिएको बताउनु भएको छ।
महर्षि वेदव्यासको जन्मस्थल दमौलीको प्रचारका लागि आयोजना गरिएको १८ महिने अखण्ड हरिनाम संकिर्तन ६ महिना पुगेको अवसरमा व्यास गुफामा आयोजित कार्यक्रममा सहभागी हुन आउनु भएका डा. उपाध्यायले भारत र नेपाल दुवैतर्फका केही खराब राजनीतिज्ञले दुवै देशको सम्बन्ध बिगार्ने काम गरेको आरोप लगाउनुभयो।
‘नेपाल हाम्रो छिमेकीमात्र होइन हामीसँग नातेदारको सम्बन्ध पनि छ,’ पौराणिककालमा भगवान रामले देवी सीतासँग विवाह गरेको प्रसँग जोड्दै उहाँले भन्नुभयो,‘हामी जहिले पनि नेपालसँग मित्रवत सम्बन्धको पक्षमा छौं।’
भारतले नेपाललाई नाकाबन्दी लगाएको भन्ने प्रश्नको खण्डन गरे पनि नेता उपाध्यायले केही खराब राजनीतिज्ञले राजनीति गर्ने नाममा दुई देशको सम्बन्ध बिगारेको बताउनु भयो। ‘तपाईं र हामी दुवैतिर केही खराब व्यक्तिले राजनीतिक रोटी पकाउनका लागि सम्बन्ध बिगार्ने प्रयास गरेका छन्,’ उहाँले भन्नुभयो,‘यो लामो समय चल्दैन।’
हिन्दु धर्मबारे जनमत संग्रह गर्न सुझाव
हिन्दु धार्मिक नेताहरुसँग नजिकको सम्बन्ध भएका भारतीय जनता पार्टीका वरिष्ठ नेता उपाध्यायले अन्नपूर्णसँगको कुराकानीमा नेपालमा धर्म निरपेक्षताका विषयमा जनमत संग्रह हुनुपर्ने बताउनुभयो। ‘नेपाल विश्वमै एक मात्र हिन्दुराज्य थियो,’ उहाँले भन्नुभयो,‘यो अब पनि रहिरहनुपर्छ भन्ने हाम्रो मान्यता हो।’
नेपालमात्र नभएर भारतसमेत हिन्दु राज्य हुनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै त्रिपाठीले नेपालको धर्म निरपेक्षताको विषयलाई जनमत संग्रहतर्फ लैजानुपर्नेमा जोड दिनुभयो। ‘हामी जनमतसंग्रहको पक्षमा छौं। जनताभन्दा ठूलो नेता कोही छैन,’ उहाँले भन्नुभयो,‘जनप्रतिनिधिले आफ्नो धर्म पालना गरुन्।’