स्थानीय चुनावमा सहभागी हुन मधेसी माेर्चालार्इ माओवादी केन्द्रको आग्रह
काठमाडौंः नेकपा माओवादी केन्द्रले वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचनमा सहभागी हुन मधेसी मोर्चालाई आग्रह गरेको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले मोर्चालाई वार्ता र सहमतिका आधारमा समस्याको समाधान गरेर निर्वाचनमा सहभागी हुन आग्रह गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो।
उहाँले वार्ता र छलफलबाटमात्रै समस्याको समाधान हुने भएकाले वार्तामा आउन समेत बैठकले आह्वान गरेको बताउनुभयो। बैठकले मधेशी मोर्चासँग निरन्तर वार्ता गरेर चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको छ।
यस्तै बैठकले स्थानीय निर्वाचनका लागि पार्टीको मूल नारा पनि तय गरेको भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनका लागि ‘माओवादी केन्द्रको उपहार, गाउँ÷नगरमा सिंहदरबार’ भन्ने मूल नारा तय गरिएको छ। बैठकले बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालिका/नगरपालिका र गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको छ।
स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता भुसालले जानकारी दिनुभयो। माओवादी केन्द्रले बैशाख ९ गतेसम्म स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाउने भएको छ।