१५७ मेगावाटका तीनवटा जलविद्युत आयोजना बनाउँदै दुगड समूह

१५७ मेगावाटका तीनवटा जलविद्युत आयोजना बनाउँदै दुगड समूह

काठमाडौं: सरकारको सहजीकरणपछि निजी क्षेत्रका लगानीकर्ता एकपछि अर्को गर्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्साहित भएका छन्। नेपालको व्यावसायिक घराना एमभी दुगड समूहले स्वदेशी पुँजी परिचालन गरेर १५७ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ।

एकैपटक १५७ मेगावाटको तीन ठूला आयोजना निर्माण सुरु गर्ने एमभी दुगड समूह पहिलो व्यावसायिक घरानाको रुपमा स्थापित भएको छ। ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आयोजनाको शिलालेख अनावरण गर्नुभयो।

 

निर्माण सुरु भएको घोषणा गर्दै ऊर्जामन्त्री शर्माले सरकारको योजनाअनुसार नै औद्योगिक घराना जलविद्युत् आयोजना निर्माणमा लाग्दा सकारात्मक सन्देश फैलिएको बताउनुभयो। निजी क्षेत्रले उठाउँदै आएको समस्या समाधान गर्न सरकारले केही नीतिगत सुधार गरेको र केही सुधारको क्रममा रहेको मन्त्री शर्माले बताउनुभयो।

ऊर्जा सचिव उपाध्यायले निजी क्षेत्रलाई साथमा लिएर जाने सरकारको लक्ष्यअनुसार काम भइरहेको र ऊर्जा क्षेत्रमा केही वर्षमा नसोचेको प्रगति हासिल हुने बताउनुभयो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाल र नेपालीको आर्थिक समृद्धिको आधार नै जलविद्युत् क्षेत्र भएकाले प्राधिकरण निजी क्षेत्रसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

समूहले विभिन्न सहायक कम्पनीमार्फत लिखु खोलामा तीनवटा आयोजना सुरु गरेको हो। समूहले ७७ मेगावाट क्षमताको लिखु– १ आयोजना पान हिमालय इनर्जी, ५१ मेगावाटको लिखु दुई आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट्स र २९ मेगावाट क्षमताको लिखु ‘ए’ आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण सुरु गरेको हो।

राजधानीमा आयोजित एक कार्यक्रममा तीनवटै आयोजनाको निर्माण सुरु भएको घोषणा गरिएको हो। ती आयोजना सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिनुभयो। तीनवटा आयोजना निर्माण सम्पन्न गर्न कुल रु २१ अर्ब लाग्ने अनुमान गरिएको अध्यक्ष दुगडको भनाइ छ।

अध्यक्ष दुगडकाअनुसार ७७ मेगावाटको लिखु– १ मा प्राइम कमर्सियल बैंकको अगुवाइमा एनआइसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन्।

यस्तै ५१ मेगावाटको लिखु– २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ। २९ मेगावाटको लिखु ‘ए’ मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन्।

ती आयोजनाबाट उत्पादन हुने बिजुली खरिद बिक्रीका लागि प्राधिकरणसँग सम्झौता भइसकेको छ । सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न औद्योगिक समूहको तर्फबाट तीन ठूला आयोजनामा लगानी गरिएको दुगडले बताउनुभयो। अन्य नयाँ आयोजना बनाउन विदेशी साझेदार ल्याउने विषयमा छलफल सुरु गरेको उहाँको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.