अल्टिच्युट एयरले भित्र्यायो ३५ लाख डलरमा अत्याधुनिक हेलिकप्टर
काठमाडौंः एक वर्ष अघिदेखि हेलिकप्टर सेवा शुरु गरेको अल्टिच्युट एयरले अत्याधुनिक प्रविधिको नयाँ हेलिकप्टर थपेको छ। इटाली कम्पनीको कोअला एडव्लु ११९ केएक्स नामको लिओनार्दो हेलिकप्टर थप गरी सेवा विस्तार गरेको कम्पनीले जनाएको छ। हेलिकप्टर कम्पनीले सगरमाथा, धौलागिरी, कञ्चनजंगा लगायतका हिमालमा आधार शिविरसम्म परीक्षण उडान गरेको थियो।
नेपालमा हिमाल क्षेत्रमा कत्तिको प्रभावकारी भनी गरिएको परीक्षणमा २४ हजार फिट उचाईँसम्म सफलताका साथ उड्न सकेको र दुई पाइलट, ६ जना यात्रु र एक सय ३० किलोग्राम समानसहित १५ हजार फिटमा अवतरण गरेकाले नेपालकै उच्चहिम श्रृंखलासम्म उड्न सक्ने पहिलो हेलिकप्टर भएको अल्टिच्युट एयरका प्रवन्धक निर्देशक निमानुरु शेर्पाले बताउनुभयो।
यसअघि पनि भारत र चीनमा २४ हजार फिट उचाइसम्मको उडान गरेको हेलिकप्टर कम्पनीका प्रमुख कोराडोलले बताउनुभयो। सिंगल इन्जिनको इटालियन कम्पनीको हेलिकप्टर तीव्र गतिमा उड्ने भएकाले काठमाडौदेखि लुक्ला ३० मिनेटमै पुग्न सकिने समेत बताउनुभयो। अन्य हेलिकप्टर भन्दा महँगो भए पनि उच्चक्षमता पनि भएकाले सेवा प्रभावकारी हुने अल्टिच्युट एयरका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो। यो हेलिकप्टरको मुल्य ३५ लाख अमेरिकी डलर रहेको छ।
हालसम्म दुईवटा हेलिकप्टरले उडान भर्दै आएपनि हेली थपसँगै सेवा सुविधालाई समेत चुस्तदुरुस्त र प्रभावकारी बनाउने लक्ष्यमा रहेको कम्पनीले जनाएको छ।