दमकमा माओवादीको घरदैलो अभियान
दमक : दमक उप-महानगरपालिकामा दुई ठूला दलले उमेदवार छान्न नसकेका बेला माओवादी केन्द्रले भने उमेदवारको टुंगो लगाई घरदैलो अभियान सुरु गरेको छ । माओवादी केन्द्रले नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्ता धिमाललाई अघि सारेको छ । उसले सबै वडा अध्यक्षसहित सदस्यको समेत समेत टुंगो लगाइसकेको छ ।
माओवादी केन्द्रले उम्मेद्धारको टुंगो लगाएसंगै घरदैलो अभियानलाई तिब्रता दिँदै आएको छ । शनिबार माओवादी केन्द्रले विहान दमक-१ मा नयाँ बर्षको शुभकामना आदान-प्रदान तथा उमेदवार परिचय कार्यक्रम आयोजना गरेका थियो । माओवादीले शुत्रबार दमक-४ मा उमेदवार घोषणासभा र मोटरसाइकल र्याली सहित निर्वाचन प्रचार-प्रसार अभियान सञ्चालन गरेको थियो ।
यस्तै राप्रपाले पनि राम थापालाई नगर प्रमुख र रिता श्रेष्ठलाई उपप्रमुखको उम्मेदवार चयन गरिसकेको छ । राप्रपाका केन्द्रीय सहमहामन्त्री समेत रहेका थापा पुर्व राजा ज्ञानेन्द्रको शासनकालमा दमक नगरपालिकाको मेयरमा चयन हुनु भएको थियो । केन्द्रीय तहमा पहुँच राख्ने थापा पनि नगर प्रमुख दाबेदारको रुपमा देखीनु भएको छ ।
जिल्लामा रहेका ८ मध्ये केही नगरपालिकामा केही दलले उम्मेदवार घोषणा गरिसकेका छन् भने केही दलले अझै पनि टुंगो लगाउन सकेका छैनन् । विशेष गरेर झापाका चार मुख्य नगरपालिका भद्रपुर, मेची, विर्तामोड र दमक उप-नगरपालिकाको प्रमुखमा जिल्ला नेताहरुको आकांक्षा बढी देखिएका छन् । राष्ट्रिय राजनीतिमा नै प्रमुख स्थानमा रहेका नेताहरुको गृह जिल्ला भएका कारण पनि झापाको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।