किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

काठमाडौँ : संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर गरेपछि त आम मान्छेलाई लाग्यो, अब संसारभर कहीँ कतै रासायनिक हतियार प्रयोग हुने छैन ।

इराकमा रासायनिक हतियार भएको नाममा अमेरिका र उसको गठबन्धन राष्ट्र र उत्तर एटलान्टिक सहयोग सङ्गठन(नेटो) गठबन्धनले हमला ग¥यो । मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको हिसाबले उक्त आक्रमण इतिहासकै महंगो सावित भयो अमेरिकालाई । किनकी आजसम्म पनि त्यही विषय उसको टाउँको दुखाइको विषय बनिरहेको छ ।

अन्य प्रकारका हतियारको प्रयोगले मान्छे सहजै मारिन्छ वा घाइते हुन्छन् तर रासायनिक हतियार त्यस्तो हतियार हो, जसले बाँचेकालाई पल-पल मारिदिन्छ । तडपदै मर्नुपर्ने, त्यो पनि अर्धचेत वा अपांंगता भएका नागरिकभन्दा तल्लोस्तरमा रहनुपर्ने हुन्छ । अमेरिकाले हिरोसीमा र नागासाकीमा प्रयोग गरेको बमको प्रभाव हालसम्म देखिएको जापानी स्वयम् बताउँछन् ।

इराक र कुवेतबीचको लडाई होस वा इराक र इरानबीचको युद्धमा समेत रासायनिक हतियारको प्रयोग भएको थियो र त्यसले पारेको प्रभाव अझै पनि देखिने गरेको छ ।

उत्तरी यमन, भियतनाम र थाइल्याण्डको सीमा क्षेत्र, पर्सियन गल्फ युद्ध, फोकल्याण्ड र पछिल्लो पटक सिरियामा समेत रासायनिक हतियारको प्रयोग भएको देखिन्छ । जापान र चीनबीचको युद्धको समयमा समेत समान्य प्रकारका रासायनिक हतियार प्रयोग भएका बताइन्छ । त्यसवखत मस्टर्ड ग्याँसको प्रयोग हुने गरेका थिए ।

नाजीहरुले कार्बन मोनोअक्साइड र हाइड्रोजन साइनाइडको प्रयोग गरेका थिए । हिटलरको ग्यास च्याम्बरमा विरोधीलाई राखेर मारेको विषय त आम मान्छेले थाहा पाएकै छन् । जेनेभा अभिसन्धीले सन् १९२५ देखि नै रासायनिक हतियारको प्रयोगमा रोक लगाएको छ, तर संसारभर नै यसको प्रयोग हुन भने छाडेको छैन । पछिल्लो पटक सिरियामा रासायनिक हतियारका कारण परेको प्रभाव यस शताब्दीकै हालसम्मको ठूलो मानिएको छ ।

पछिल्लो पटक सिरियामा सुरु भएको शान्ति वार्ता निष्कर्षमा पुग्न सकेन । परिणाम स्वरुप अहिले सिरिया रासायनिक हतियारको होडबाजीमा परेको छ । रासायनिक हतियारका कारण एकै पटक हजारौं नागरिक प्रभावित भएका छन् । घाइते भएका नागरिक मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।

पछिल्लो पटक गत चैत २३ गते सिरियाको खान सेइखुन शहरमा लडाकुले रासायनिक हतियारको भण्डारण गरेको र सिरियाली सरकारी फौजले त्यसमाथि आक्रमण गरेको परस्पर विरोधी खबर सार्वजनिक भएका छन् । सो शहर यतिखेर भूतको सहरमा परिणत भएको छ । सडकमा मुर्दा शान्ति छाएको छ । रासायनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।

सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण सयौं नागरिकले ज्यान गुमाए । सिरियामा सङ्घर्ष सुरु भएयता त्यो नै सबैभन्दा ठूलो रसायनिक आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सो आक्रमणपछि मानिसहरु बस्ने घर खाली छन् र इडलिब प्रान्तको यो शहरमा अहिले रकेटका टुक्रा अझै छरपष्ट छन् । सन् २०१३ मा दमासकस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रसायनिक आक्रमण गरेपछि एक हजार बढीको ज्यान गएको थियो । त्यसयता सरकारले रसायनिक हतियार प्रयोग गर्न छाडेको भनिएको थियो ।

राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइएको छ । तर, रसायनिक आक्रमण लगतै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रसायनिक मिसाइल खसेको देखिन्थ्यो । उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पुरै धुलोले पुरिएको थियो । स्थानीयका अनुसार उक्त टावर पनि छ महिना अघि भएको बम आक्रमणले नष्ट भएको थियो र त्यसयता प्रयोगमा छैन ।

विद्रोहीले सञ्चालन गरेको ग्यास उत्पादन उद्योगमा आक्रमण गरेको भन्ने सरकारको दावीलाई स्थानीयले पत्याएका छैनन् । 'तपाइंले यहाँ हेर्न सक्नुहुन्छ, यो गोदाममा केही खाद्यान्न र मरेका जीवजन्तुका अवशेष बाहेक केही छैन', एक स्थानीयले भने । रसायनिक ग्यासले त्यत्रो मानिस मार्दा भर्खरै खसालिएको मिसाइलले अन्य भवनमा क्षति पुगेको वा भत्किएका छैनन् । सडक वरपर रहेका घरहरु बाहिरबाट हेर्दा जस्ताको तस्तै देखिन्छन् ।

सहर भूत बंगलामा परिणत भएका छन् । मान्छेका लाशहरु छरपस्ट थिए । कसैका हात मात्रै भेटिएका छन्, कोहीका खुट्टा मात्रै देखिएका छन् । कपडाको चाङ पनि देखिन्छ । सडकमा ठूला ठूला खाल्डा रहेका छन् । सवारी साधनको आवत जावत छैन । नागरिकहरु सुरक्षित स्थान खोज्दै यत्रतत्र दौडिइरहेका छन् । यो भन्दा कहालीलाग्दो दृश्य अरु हुनै नसक्ने स्थानीयहरु बताउँछन् ।

प्रत्यक्षदर्शीका अनुसार हवाई आक्रमण चैत २३ गते मंगलबार बिहान साढे ६ बजेदेखि सुरु भएको थियो । त्यो चार घण्टासम्म चलेको थियो । सुरुमा उनीहरुले यो पनि पहिले भएजस्तै हवाई आक्रमण सम्झिएका थिए । मानिसहरु भुइँमै लड्न थालेपछि उनीहरुले बल्ल रसायनिक आक्रमण भएको बुझे । स्वास फेर्न गाह्रो भयो, हिड्दा हिड्दै नागरिक ढले ।

'स्थानीयले उद्धारकर्तालाई बचाउन आग्रह गर्दै फोन गरे । उनीहरु हिड्न पनि नसक्ने भन्दै भूईमा जोतिएका थिए । उद्दार टोली त पुगेको थियो तर सामान्य मास्कको भरमा । वरिपरी ग्यासको गन्ध आइरहेको थियो । घाइतेहरु मुखमा फिँज निकालेर भुइँमा छटपटाइरहेका थिए । उनीहरुको ओठ निलो भएको थियो र अर्धचेत अवस्थामा थिए । पानी पानी भन्दै कराइरहेका सयौ नागरिक कोही घरको आँगनमा लडेका थिए भने कोही सडकको किनारमा जीवन र मृत्युको दोसाँधमा थिए ।

साना नानीहरु रोइरहेका थिए, हिक्क हिक्क गर्दे वृद्ध वृद्धा अल्लाह बचाउ भनीरहेका थिए । यस्तो हृद्यविदारक दृश्य पहिलो पटक देखिएको हो । युद्ध सुरु भएपछिकै यो सबैभन्दा भयंकर र डरलाग्दो क्षण हो, हामी पनि सामान्य मास्क मात्र लगाएर गएका थियौ । राम्रो सवारी साधन पनि थिएन, केही नागरिकको उद्धार ग¥यौ तर सबैलाई धेरै दिनसम्म पनि उद्धार गर्न सकिएन एक उद्धारकर्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका थिए ।

अस्थायी क्लिनिक राखिएको स्थान पुग्दा यो भग्नावशेषले भरिएको थियो । भित्रपट्टी अस्पतालका उपकरण, बेड, शल्यक्रियाका लागि प्रयोग हुने सामग्री र औषधीका साना बट्टाहरु धुलाम्ये भएर छरिएका थिए । कयौ औषधी काम नलाग्ने भएका थिए भने कयौ बमको धमाका सँगै उडेका थिए ।

नजिकैको चिहानमा अघिल्लो दिन मृतकहरुको अन्त्येष्टी गरिएको थियो । एउटा कुनामा १८ वटा नयाँ चिहान बनाइएको थिया र मृतक मध्ये २० जनाको नाम एउटा ढुंगामा कुँदिएको थियो । यो चिहानमा एकै परिवारका २० जनाको शव गाडिएको थियो । तर सबैभन्दा बढी पीडादायी घटनाको रुपमा दुई बच्चाहरुलाई आफ्नै आमासँगै पुरिएको थियो । आफ्नी पत्नी र नौं महिने जुम्ल्याहा सन्तान अहमद र आयालाई गाडेका एक सिरियन नजिकै बसेर रोइरहेका थिए ।

द सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सकाअनुसार खान शैखुनमा सिरियाली सरकार तथा रुसी लडाकु विमानको हमलामा केही ब्यक्तिहरु जलेका थिए । राहत तथा उद्धारकमीकाअनुसार विषालु ग्यासले जलेर घाइते सयकडौं नागरिक अस्पतालमा भर्ना भएका छन् । उक्त 'रासायनिक' हमलामा २७ बाल बालिका तथा १९ महिलासहित ८४ जना मारिएको इडलिब प्रान्तमा विद्रोही लडाकुद्वारा सञ्चालित समूहले दावी गरेको छ । उक्त समूहकाअनुसार ५ सय ४६ जना घाइते छन् । रासायनिक हतियारले तवाही पारेको सोही क्षेत्रमा अमेरिकाले पुन बमबाड गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार उक्त हमलामा यस्तो रासायनिक हतियार प्रयोग भएको थियो कि, जसका कारण नागरिकले श्वास फेर्न समेत एकदमै मुश्किल परेको थियो ।

 

सिरियाली सरकारले भने सासायनिक हमला भएको कुरा अस्वीकार गर्दै आएको छ । सिरियाली सेनाले आफ्नो बयानमा भनेको छ( उक्त हमलामा कुनै पनि रासायनिक हमला प्रयोग भएको छैन । आफूहरुले कुनै पनि रासायनिक हतियारको ब्यवस्था नगरेको उनीहरुको दाबी छ । सेनाले भविष्यमा समेत कुनै पनि किसिमको रासायनिक हमलाको योजना नरहेको बताएको छ ।

सेनाका एक अधिकारीले सरकारी टेलिभिजनमा भने ''हामी रासायनिक हतियारमा विश्वास राख्दैनौ । हामीलाई हाम्रो नागरिकको चिन्ता छ । हामी बहुलट्ठी भाडाका सिपाही होइनौ । विदेशी हतियारको बलमा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गराउन चाहने अमेरिका र उसको गठबन्धको इशारामा हाम्रा नागरिक माथि रासायनिक हतियारको प्रयोग भयो । यो कुनै पनि मूल्यमा क्षम्य हुन सक्दैन ।'

सो घटनापछि शक्ति राष्ट्रहरु विभाजित भएका छन् । सिरिया समर्थित मुलुकले आफूहरुले कुनै पनि खराब आक्रमण नगरेको जनाएको छ । सिरियाविरोधी राष्ट्रले खुलेर अमेरिकाको समर्थन गरेका छन् । फ्रान्स र जर्मनीले सिरियाली राष्ट्रपति बसर अल असद नै जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

रासायनिक हतियारको प्रयोगमा अमेरिकाले रुसलगायतका मुलुकलाई दोष लगाएको छ भने रुसले गलत प्रचार गरिएको भन्दै प्रतिवाद गरिरहेको छ । हात हतियारको होडबाजीमा सिरिया माथि थप आक्रमण गर्ने हो भने त्यसले क्षेत्रिय शान्ति र अमनचयन थप खलबल्याउने देखिन्छ ।

यसअघि आतङ्कवादी समूह इस्लामिक स्टेटले उत्तरी इराकको एक गाउँमा पनि क्लोरिन र मास्टर्ड ग्यासको प्रयोग गरेका थिए । सो आक्रमणमा परि तीन जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए । इराकी सरकारका अनुसार यस्तो आक्रमण पहिलो हो । घटनामा मारिनेमा तीन वर्षकी बालिका फातिमा र १० वर्षका मासूमेह पनि थिए । फातिमाकी आमा जेनबले आफूहरु माथि खसेको रकेटमा रसायन रहेको र त्यसमा धेरै धुवाँ रहेको बताइन् । मैले उसलाई तान्ने कोशिश गरेँ तर, उनको आसपास निकै धुवाँ भएका कारण मैले तान्न सकिन । प्रभावित मानिसले बताएअनुसार क्लोरिनका कारण आँखा र नाक पोलेको थियो ।

पछिल्लो पटक सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ । रसियाली रक्षा मन्त्रालयले त्यो क्षेत्रमा कुनै हवाई आक्रमण नगरेको जनाएको छ । यदि सो आक्रमण रासायनिक नै थियो भन्ने पुष्टि भएमा सिरियाको गृहयुद्ध सुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमणको रुपमा चित्रित हुने छ ।

आक्रमणका प्रयोग भएको रसायनका कारण स्वास्थ्यकर्मीसमेत प्रभावित भएका थिए । बेहोश भएका, उल्टी गरेका र मुखबाट फिंज निस्केका मानिसलाई उपचार गर्न गाह्रो परेको थियो । सारिन नामक स्नायु विष प्रयोग गरिएको आशंका गरिएको छ । जनु विष साइनाईड भन्दा २० गुणा बढी खतरनाक मानिन्छ । सरिनको मात्रा बढी भएमा मान्छे निसासिएर मर्न सक्छ । उक्त ग्यासको रङ, स्वाद र गन्ध नहुने हुनाले त्यो पत्ता लगाउन समेत गाह्रो हुन्छ ।

पश्चिमा शक्तिहरुले सन् २०१३ मा पनि सिरियामाथि विद्रोही नियन्त्रित क्षेत्रमा सारिन प्रयोग गरेर सयौंको ज्यान लिएको आरोप लगाएका थिए । राष्ट्रपति बशर अल असदले सो आरोप अस्वीकार गर्दै रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमति जनाएका थिए ।

राष्ट्रसङ्घको एक निकायले गरेको अनुसन्धानमा सरकारी फौजले सन् २०१४ देखि २०१५ को बीचमा क्लोरिनलाई हतियारका रुपमा प्रयोग गरेको पाइएको प्रतिवेदन तयार पारेको थियो । इस्लामिक स्टेटका लडाकुले पनि पोल्ने रसायन प्रयोग गर्ने गरेको सो अनुसन्धानले देखाएको थियो । पछिल्लो पटक बढेको रासायनिक हतियारको होडलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसङ्घ र ठूला राष्ट्रको सकारात्म्क पहल एवम् प्रयत्नको जरुरी देखिन्छ । अन्यथा त्यसले संसारमा पार्ने प्रभाव सबैभन्दा बढी खतरनाक हुनेछ । जुन मानव सभ्यताका लागि कलङ्क सावित हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.