साहित्य रिभिजिटेड २०७३ः बजार बढ्दो, गुण उस्तै
‘त्यस बखतको नेपाल: राणाकालीन आखिरी तीन दशक' पहिलो भागमा भीमबहादुर पाँडे लेख्छन्, ‘नयाँ विचार र शैलीले बालकृष्ण शमशेरको नयाँ पुस्तकको चाहना त्यसबखत दरबार स्कुलका विद्यार्थीमा बढ्न थाल्यो । ‘मकैको खेती', ‘नैवेद्य', ‘स्वर्गको दरबार'भन्दा ‘ध्रुव' र ‘प्रल्हाद' त्यसबेलालाई कम क्रान्तिकारी थिएनन् । ‘मकैको खेती' लेखेबापत लेखक नासु कृष्णलाल नौ वर्ष जेल परे ।
पण्डित धरणीधरले ‘नैवेद्य' विदेशमा बसेर लेख्नुपर्यो । ‘स्वर्गको दरबार' लेख्ने सहिद शुक्रराजले प्राणदण्ड पाए । ‘सुक्तिसिन्धु'मा आफ्ना रचना छपाएबापत कविशिरोमणि लेखनाथ पौड्याल, पण्डितराज सोमनाथ सिग्देल र चक्रपाणी चालिसेहरूले खप्की खाए । तर, ‘धु्रव' र ‘प्रल्हाद' लेखेबापत बालकृष्ण शमशेरलाई केही भएन, राणाजीले राणाजीको घात किमार्थ गर्दैन भन्ने श्री ३ जुद्धको विश्वासले गर्दा ।' (पृष्ठ : १३१)
त्यस बखतको नेपालमा किताब छाप्नु, पढ्नु अपराध मानिन्थ्यो । सीमित राणा खलकले लेखेपढेको अपराध मानिँदैनथ्यो भन्ने भीमबहादुर पाँडेको माथिको अंशले बताउँछ । तर, अहिले नेपालमा महिनौंसम्म पुस्तक प्रदर्शनी हुन्छ । किताबको मेला लाग्छ । बिहीबारदेखि बृहत् नामक एउटा पुस्तक प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । केही महिना बिराएर यस्ता प्रदर्शनी, मेला, गोष्ठी वा महोत्सव राजधानीभित्र र बाहिर चलिरहेकै हुन्छन् । पुस्तक प्रकाशन र विमोचन त बेहिसाब चलिरहेकै छन् ।
पछिल्लो वर्ष नेपाली साहित्य जगत कुन दृष्टिमा यादगार रह्यो भने वर्षैभरिजसो फरक-फरक ठाउँमा साहित्य महोत्सव चलिरहे । हजारौं किताब छापिए, तिनउपर बहस भए र अरू वर्षमा जस्तै केही नयाँ प्रकाशनगृह थपिए ।
काठमाडौंका प्रकाशकले मात्रै वर्षमा सयौं टाइटलका किताब छाप्छन् । दैनिकजसो नयाँ किताब पसलका सोकेसमा सजिन्छन् । तर, पढिन्छ कति ? यसको ठ्याक्कै ‘यत्ति' भन्ने उत्तर सायद भेटिँदैन । पाठक उत्साहित होउन् वा नहोउन् लेखक/प्रकाशक व्यापक उत्साहित देखिन्छन् किताब छाप्न ।
प्रकाशक कति उत्साही छन् भने स्थापनाको पहिलो वर्षमै शिखा बुक्सले ७३ सालभरिमा १६ टाइटलका साहित्यिक किताब प्रकाशन गर्यो । किताबको संख्या बढाउनेमा सांग्रिला बुक्स अगाडि छ । सांग्रिला बुक्सले २३ टाइटलको किताब छाप्यो, ०७३ मा । अरू नाम चलेका र स्थापित प्रकाशक पनि यो होडमा छन् ।वर्षको पहिलो दिनबाट सुरु भएको किताब विमोचन वर्षको अन्तिम दिनसम्मै जारी थियो ।
यस वर्ष पनि साहित्यमा उल्लेख्य नयाँ घटना भएनन् । बरु बजार र प्रकाशकले जे प्रवद्र्धन गरेको छ, लेखक त्यतैतिर फर्केर कुदिरहे । लेखक प्रकाशकको मस्तिष्कबाट परिचालित छन्, एन्टिकरेन्ट सोच्न छाडेका देखिन्छन् । प्रकाशकले लेखकलाई विषय दिन्छ- फलाना विषय बिक्री हुन्छ, लौ ३ महिनामा लेखिसक्नुपर्यो भनेर ।
लेखक आफ्नो विषयमा अनुसन्धान गर्नु, पढ्नु कता हो कता, प्रकाशकको आदेश पालनामा लाग्छ र ३ महिनामा प्रकाशकलाई पाण्डुलिपि बुझाउँछ । किताब बिक्री होला, नहोला तर प्रकाशक बढिरहनुमा बजार र पाठकको प्रभाव के हुन्छ ? समाजशास्त्री चैतन्य मि श्र भन्नुहुन्छ, ‘इन्भेस्टमेन्ट भएपछि उठ्ला नि एकदिन भन्ने होला । प्रकाशकमा घाटा भए पनि सहुँला, मन बुझाउँला भन्ने पनि होला ।'
मिश्र अहिले लेखनको लोकतन्त्रीकरण भइरहेको बताउनुहुन्छ । ‘लेखनमा क्वालिटी त छैन नै ! सायद बढ्ला विस्तारै', उहाँ भन्नुहुन्छ । मि श्र अहिलेको समयमा मधेस, दलित, जनजाति, महिला जो पढ्नै वञ्चित गरिएका थिए, तिनले पढ्न पाएको र पढाइमा आफ्नो स्थान खोज्न थालेको बताउनुहुन्छ । समाज विज्ञानमा गतिलो किताबै नआएको, बरु ती विषयमा फाट्टफुट्ट राम्रा लेख पत्रपत्रिकामा आएको मि श्रको बुझाइ छ ।
लेखक कम, वक्ता बढी
गत वर्ष काठमाडौंबाहिरका मुख्य सहर काँकडभिट्टा, पोखरा, नेपालगन्ज, बनेपामा साहित्यका ठुल्ठूला कुम्भमेला भए । र, लगभग सबै महोत्सवमा बोल्ने लेखकको अनुहार एउटै र उस्तै देखियो । कति लेखकले वर्षौंदेखि किताब लेखेका वा प्रकाशन गरेका छैनन् तर हरेक महोत्सवमा बोल्न दौडेको दौडेकै छन् । लेखकहरू लेखेर होइन, बोलेर टिकिरहेका छन् ।
‘लेखकहरू एक्टिभिस्ट देखिए । राम्रो किताब सिर्जना गर्न सकेनन् र चर्चामा रहिरहन उत्सव र साहित्यिक यात्राको सहारा लिनुपर्ने अवस्थामा छन्,' साहित्यकार तथा पत्रकार किशोर नेपाल भन्नुहुन्छ । उहाँका विचारमा लेखकका आ-आफ्नै झुन्ड छन्, चर्चामै रहिरहन । उहाँ भन्नुहुन्छ, ‘प्रकाशकका आफ्ना लेखक छन्, लेखक प्रकाशकको गोठमा बाँधिन तयार छन् । यसले लेखनको ‘ग्रोथ' देखिए पनि ‘क्रियटिभ' छैन ।'
मि श्रचाहिँ बोल्नु पनि शब्दसँग खेल्नु भएकाले कार्यक्रममा बोल्नुलाई सकारात्मक ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बोल्न रोक्नु हुन्न । बरु राम्रो क्वालिटीको लेखे हुन्थ्यो । मलाई लेखकहरू लेख्नै छाडेर बोल्न गएझैं लाग्दैन ।' कवि निभा शाह पनि आजभोलि लेखकले बढी लेख्नुपर्नेमा बोल्नमा जोड दिएको बताउनुहुन्छ । त्यसैले जीवन्त किताब आउन नसकेको शाहको ठहर छ । ‘कविता कविताजस्ता मात्र भए गम्भीर रचना आएनन्, पपुलारिटीको पछि दौडियौं, त्यसैले लेखनमा क्वालिटी आएन,' निभा भन्नुहुन्छ ।
कवि संगीत श्रोता राजधानी र राजधानीबाहिरका कार्यक्रममा वक्ताका रूपमा बारम्बार निम्त्याइनेमध्येका एक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म पनि बोल्दै हिँड्ने मान्छे हुँ, लेखक कम तर बोलक बढी । मेरो प्रिय विधा नै गफ हो । त्यसपछि मात्रै म लेख्ने वा गाउने गर्छु ।' तर, उहाँ लेखकको परिचय हुनेहरूले लेखेरै आफ्नो कुरा भन्नुपर्नेचाहिँ स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘लेख्न, त्यो पनि राम्रो लेख्न, साधना चाहिन्छ, समय चाहिन्छ, हामीचाहिँ हतारहतारमा हिट हुने वा कम समयमा नाम कमाउने दौडमा छौँ क्यारे !'
प्रचारको दौडमा लेखक
सामाजिक सञ्जाल र मिडियाको सहज पहुँचले लेखकलाई पहिलेभन्दा धेरै नै मुखर बनाएको छ । तर, यसैकारण लेखक मुखर मात्रै हुने तर गम्भीर नहुने समस्या पनि देखिन्छ । विचार, सिद्धान्तका सतही दाबी गर्ने अनि गम्भीर विषयमा पनि पपुलिस्ट बहसमा मात्रै रमाएका देखिन्छन्, लेखक । फेसबुक, ट्वीटरको भरपुर उपयोग गरेर लेखक बजारमा टिकिखाने ध्याउन्नमा छन्् । ‘फेसबुक, ट्वीटरमा रमाउने ९० प्रतिशत मानिस ९० प्रतिशत समय अरूलाई गाली गरेर कटाउँछन्,' समाजशास्त्री मि श्र भन्नुहुन्छ, ‘सायद बाँकी १० प्रतिशत समय लेख्ने, पढ्ने र सोच्नेमा लगाउँदा हुन् ।' यस्तो प्रवृत्ति संस्कृतिकै रूपमा विकास भएको उहाँको बुझाइ छ । उहाँका अनुसार लेखकलाई गम्भीर सिर्जनामा लाग्न नदिने भएकाले यस्तो संस्कृति हानिकारक छ ।
लेखकमा रातारात हिट हुने सपना पनि मिडियाले जगाइदिएका छन् । कवि चन्द्रवीर तुम्बापो भन्नुहुन्छ, ‘हामी आज लेखेर भोलि सेलिब्रिटी हुने दौडमा छौं ।' देखिन्छ पनि त्यस्तै, आफ्नो विषयमा अध्ययन गर्ने, गम्भीर अनुसन्धान गर्नेभन्दा पनि छिटोभन्दा छिटो नाम, सम्मान पाउने र स्थापित हुने ध्याउन्नमा धेरै छन् । कतिले त गम्भीर विषयलाई समेत त्यसरी जथाभावी चलाइरहेछन् जसरी बेढंगी हतियार चलाउँदा जताततै घाउ लाग्छ । हाम्रा नयाँ लेखकको हालत पनि त्यस्तै छ । ‘वर्तमान समयको साहित्यको स्वरूप अन्योलमा छ', किशोर नेपाल भन्नुहुन्छ, ‘लेखकलाई प्रचारको भोक चर्को लाग्या छ । पछिल्ला छिमलका लेखक त शब्द छनोट कसरी गर्ने त्यो पनि जान्दैनन् र व्याकरणका सामान्य नियम के भन्ने थाहा नपाएका छन् । यसले साहित्यको विश्वसनीयता खस्किन थालेको छ ।'
प्रकाशक पनि कसरी आफ्ना लेखकलाई हिट बनाउने भन्ने सोच्छन्, कसरी किताब राम्रो निकाल्ने भनेर होइन । उनीहरू किताबको कन्टेन्टको प्रचार कम र लेखकको अनुहारको प्रचार बढी गरिरहेका हुन्छन् ।
महोत्सव र बहसका सीमा
साहित्यिक मेला र महोत्सवले बहसमा राम्रा मञ्च उपलब्ध गराएका छन् । समाजमा भएका फरक-फरक विचारबीच विमर्श हुनु सभ्य समाजको विशेषता नै मानिन्छ । माथि भनिएझैँ गत वर्ष यस्ता बहस थुप्रै भए । तर, बहस ‘बहस'का लागि मात्रै हुनु हुँदैन, अनि बहसबाट मात्रै समाजले निचोड पाउँदैन ।
महोत्सवमा जुन विषय बहसका लागि तय भए, तिनको सामाजिक सांस्कृतिक जमिन छ र ती सिर्जना र प्रकाशनका व्यवहारसँग जोडिनु पनि आवश्यक छ । संसारको कुनै पनि उत्कृष्ट साहित्य वा विचार बहसबाट मात्रै वा लेखेर मात्रै स्थापित भएको होइन । त्यसको पृष्ठभूमिमा ठुल्ठूला आन्दोलन र थुप्रै त्यागी मानिसको लगानी परेको हुन्छ । चाहे त्यो यथार्थवाद होस् या माक्र्सवाद, त्यसको स्थापनामा लामो राजनीतिक-सामाजिक आन्दोलनको भूमिका छ र नै अहिलेका मानिस जागरूक छन् । एक दुइटा लेख वा साना किताब लेख्दैमा नयाँ विचार वा सिर्जना बन्ने होइन । तर, अहिले एउटै बहसबाट वा फेसबुक-ट्वीटरका भित्तामा टुच्च दुई लाइन लेखेर नयाँ विचार स्थापित गरेको भ्रममा कतिपय लेखक परेका देखिन्छन् । उनीहरू ट्वीटर वा फेसबुकका स्टाटसबाटै सबै ठीक पार्ने घोषणा गरिरहेका पाइन्छन् । कतिपय नयाँ लेखकका आवेग यस्ता छन्, मानौँ, खास वाद वा सिद्धान्तका हकदार उनीहरू मात्रै हुन् ।
प्रशासनिक क्षेत्रमा जसरी कुलमान आए, त्यसरी साहित्य जगतमा कुनै पनि पुस्तक वा लेखकले ‘कुलमान अवतार' लिएनन् । अघिल्ला वर्षमा जस्तो साहित्यले सत्ता चलाएको थियो, यो वर्ष पनि मात्रा बढेको त्यही प्रवृत्ति कायम रह्यो ।
यस वर्ष साहित्यमा उल्लेख्य नयाँ घटना भएनन् । बरु बजार र प्रकाशकले जे प्रवद्र्धन गरेको छ, लेखक त्यतैतिर फर्केर कुदिरहे । लेखक प्रकाशकको मस्तिष्कबाट परिचालित छन्, एन्टिकरेन्ट सोच्न छाडेका देखिन्छन् ।
संसार हाँक्ने गफ गर्ने र त्यसलाई ‘घागडान बहस' करार गर्नेमा लेखक नै ‘फ्रन्टलाइन'मा छन् । केही थान पुराना नारा, केही पार्टीनिकट राजनीति र केही जार्गन शब्दावलीमा मात्रै जीवन र समाजलाई पुष्टि गर्न खोज्नु पनि कतिपय लेखकको दुःख हो ।
के छापिए, के चर्चा भए ?
पुराना वर्षझैं गएको वर्षलाई पनि चल्तीकै लेखकका उस्तै-उस्तै उपन्यासले पछ्याए । सुबिन भट्टराईको ‘मनसुन', शारदा शर्माको ‘कम्प', शरद पौडेलको ‘तपन', उमा सुवेदीको ‘इति', हरि हधिकारीको ‘एक्लो नायक', राज सरगमको ‘छाउघर', विनिता बरालको ‘जुइनो'ले राम्रो चर्चा पाए ।
गैरआख्यानमा भने केशव दाहालको ‘नेपाली राजनीतिको पुनर्गठन', सूर्यनाथ उपाध्यायको ‘समाज र भ्रष्टाचार', जनकराज सापकोटाको ‘कहर', गोपाल खनालको ‘भूराजनीति', राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास', हरिहर विरहीको आत्मकथा ‘आगो निभेको छैन', किशोर नेपालको निबन्धसंग्रह ‘राक्षसको गीत' र हालै प्रकाशित सौरभको ‘असंगति'मा पनि पाठकको चासो देखियो ।
चर्चा पाएका अरू किताबमा कुमार नगरकोटीको ‘घाटमान्डु',साैरभ र सुजित मैनालीकाे संयुक्त लेखनमा निस्केकाे 'ब्रेकिङ नेपाल', खगेन्द्र संग्रौलाको ‘उत्तरआधुनिक अन्तरेपथ', चिनगिज आइतमातोभको अनुवाद उपन्यास ‘प्रथम गुरू', सुनिता दनुवारको ‘आँसुको शक्ति', श्याम सिंघकको ‘रेमिटल्याण्ड', फुलमान वलको ‘काजोल खातुन', ०७२ को मदन पुरस्कार प्राप्त रामलाल जोशीको कथासंग्रह ‘ऐना', मीनराज वसन्तको उपन्यास ‘मुदिर', जया ओझाको ‘आवरण', नारायण ढकालको ‘नारायण ढकालका कथा', जीवा लामिछानेको ‘सर्सती संसार', यज्ञशले अनुवाद गरेको उदय प्रकाशको कथासंग्रह ‘नेलकटर', दिवानसिंह राईको उपन्यास ‘रिकुटे', अघिल्लो वर्ष मदन पुरस्कार सूचीमा परेको उपन्यास भुवनहरि सिग्देलको ‘आमोइ' हुन् ।
नवीन विभासको कथासंग्रह ‘रोल्पा सुइना', राजेन्द्र पराजुलीका सुन्दर कथाहरु ‘शुक्रराज शास्त्रीको चस्मा', विजय सापकोटाको ‘अनावरण' किताब पनि चर्चामा रहे । ०७३ को उत्तरार्धमा गनेस पौडेलको उपन्यास ‘पैताला', रेशम विरहीको ‘प्रेमदासको डायरी' र शिखर घिमिरेको ‘अवतार'ले पनि सामाजिक सञ्जालबाट बजारतिर ठाउँ बनाउन खोजेका देखिन्छन् ।
यस वर्ष केही प्रकाशक भने पुराना कालजयी पुस्तकको पुनर्प्रकाशनमा लागेका देखियो । त्यसमध्ये लिपि बुक्सले बिपीका सबै साहित्यलाई रि-प्रिन्ट गर्यो । फिनिक्स बुक्सले पारिजातका सबै साहित्य र संकलित रचनाहरूका ६ वटा भोल्युम नयाँ कलेवरमा ल्यायो । इन्द्रबहादुर राईको सबै किताब रि-प्रिन्ट गर्ने योजना पनि बनाएको छ फिनिक्स बुक्सले ।
र अन्त्यमा प्रशासनिक क्षेत्रमा जसरी कुलमान आए, त्यसरी साहित्य जगतमा कुनै पनि पुस्तक वा लेखकले ‘कुलमान अवतार' लिएनन् । अघिल्ला वर्षमा जस्तो साहित्यले सत्ता चलाएको थियो, यो वर्ष पनि मात्रा बढेको त्यही प्रवृत्ति कायम रह्यो । फेसनजस्तै हुँदै गएका महोत्सव, पुस्तक विमोचन, समीक्षा, गुटवन्दी, पुरस्कार लेनदेन बढ्दै छ, बढेकै छ । भीमबहादुर पाँडेले भनेजस्तो सीमित राणाले मात्रै लेख्न-पढ्न पाउने अवस्था त अहिले छैन, तर लेख्ने-पढ्ने वा साहित्य-विमर्श सिर्जना गर्नेहरू अहिले पनि ‘सीमित' छन् । त्यसकारण साहित्य जगत पनि विषय आदिमा सीमित घेराभित्र फन्को मारिरहेको छ । आशा गरौँ, आउँदो वर्ष, रचना र कन्टेन्टमा नयाँपन र फराकिलोपन आउनेछ ।