भोगचलनको ५२ वर्षपछि लालपुर्जा

भोगचलनको ५२ वर्षपछि लालपुर्जा

वीरगन्जः ५२ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा शुक्रबार हातमा परेपछि खुसीले भावविह्वल हुँदै पर्सा सुर्वणपुरका ७५ वर्षीय ऋषिराम सापकोटाले भन्नुभयो, ‘आफ्नै जग्गाको लालपुर्जा पाउन पनि ५२ वर्ष कुर्नुपर्‍यो । आज बल्ल मेरो जग्गा मेरै सम्पत्ति हो भन्ने महसुस भएको छ ।'

सापकोटासँगै आफ्नो जग्गाको ५२ वर्षपछि लालपुर्जा पाएका स्थानीय ८४ वर्षीय निमा दोर्जे रुम्बाले पनि जग्गा आफ्नै भए पनि लालपुर्जा नहुँदा सुकुमबासीजस्तै हुनुपरेको गुनासो गर्नुभयो । ‘किनबेच गर्न, धितो राखेर कर्जा लिन मिल्दैनथ्यो तर अब लालपुर्जा पाएको छु । यही जग्गा बैंकमा धितो राखेर ट्र्याक्टर झिक्छु अनि खेतीपाती गर्छु', उहाँले भन्नुभयो ।

साविकको सुर्वणपुर गाविसमा एक हजार ९७ घरधुरी छन् । त्यहाँका जग्गाधनी कसैसँग आफ्नो जग्गाधनीपुर्जा थिएन । शुक्रबार उनीहरूले लालपुर्जा पाएका छन् । स्थानीयले भोगचलन गर्दै आएको आफ्नो जग्गाको ५२ वर्षपछि मात्र लालपुर्जा पाएका हुन् । चितवनको तिलकाने, हिले र गढुवामा बसोबास गर्दै आएका सात सय २० घरधुरीको बस्तीलाई तत्कालीन सरकारले त्यस क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज विस्तार गर्न भन्दै २०२१ सालमा पर्साको साविकको सुवर्णपुर गाविसमा स्थानान्तरण गरेको थियो ।

२०२१ सालदेखि सुर्वणपुरमा बसोबास गर्दै आएको भए पनि स्थानीयले ५२ वर्षदेखि जग्गाको लालपुर्जा पाउन सकेका थिएनन् । शुक्रबार सुवर्णपुरमा सट्टा भर्ना जग्गा दर्ता समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला मालपोत कार्यालयको समन्वयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्थानीयलाई ५२ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्नुभएको हो ।

उक्त अवसरमा करिमन राउत कुर्मीसँगै शान्ति बम्जन, रामरतन कोइरी, बाटुली स्याम्बो, रामजी ठाकुर हजाम, श्यामलाल विक, प्रेमा तामाङ, चुनी तामाङ, रामबहादुर दोङ, देवलाल स्याङबो गरी ७२ जनाले आफ्नो जग्गाको लालपुर्जा पाउनुभएको हो ।


किनबेच गर्न, धितो राखेर कर्जा लिन मिल्दैनथ्यो तर अब लालपुर्जा पाएको छु । यही जग्गा बैंकमा धितो राखेर ट्र्याक्टर झिक्छु अनि खेतीपाती गर्छु ।
निमा दोर्जे रुम्बा स्थानीय

शुक्रबारको कार्यक्रममा ७२ जनालाई मात्र लालपुर्जा वितरण गरिएको र बाँकी एक हजार २५ जग्गाधनीलाई एक महिनाभित्रै जिल्ला मालपोत कार्यालयबाट लालपुर्जा वितरण गरिने मालपोत कार्यालयका प्रमुख सनतकुमार द्विवेदीले जानकारी दिनुभयो । ‘आज ७२ जनालाई लालपुर्जा वितरण गरेर सुरु मात्र गरिएको हो', शुक्रबारको लालपुर्जा वितरण कार्यक्रममा द्विवेदीले भन्नुभयो, ‘केहीको कित्ताकाट, सनाखात, प्रमाणीकरणजस्ता काम बाँकी छन् । बाँकी रहेका जग्गाधनीलाई पनि वैशाख महिनाभित्रै लालपुर्जा वितरण गर्ने निर्णय भइसकेको छ ।'

 

बर्सौंदेखिको संघर्षपछि सुर्वणपुरका जग्गधनीले लालपुर्जा पाएको सट्टाभर्ना जग्गा संघर्ष समितिका अध्यक्ष रामबहादुर पाख्रिनले बताउनुभयो । ‘२०२८ सालमा पहिलोपटक सरकारले जग्गाको नापी गरे पनि त्यसबेला केही भएन ।

०४५ सालमा उच्चस्तरीय आयोग गठन भयो । त्यो आयोगले पनि केही गरेन', पाख्रिनले भन्नुभयो, ‘२०५२ सालमा सुकुमबासी समस्या सामधान आयोगले पुर्जा दिन त दियो तर त्यो पुर्जालाई सरकारले मान्यता नै दिएन।'


लालपुर्जा पाएपछि खुसी हुँदै उहाँले भन्नुभयो, ‘मेरा बाजेले लालपुर्जा देख्न पाएनन्, बुबाले पनि देख्न पाएनन्, मैले पनि आफ्नो जिन्दगीमा आफ्नो जग्गाको लालपुर्जा देख्न पाउँदिनँ कि भन्ठानेको थिएँ तर मेरा बाबुबाजेले देखेको सपना आज साकार भएको छ ।'

कार्यक्रममा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले आफ्नो जग्गा भएर पनि ५२ वर्षदेखि सुकुमबासीसरह जीवन व्यतित गर्न बाध्य सुर्वणपुरका जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न पाउँदा पुण्यको काम गरेको महसुस भएको बताउनुभयो । सुर्वणपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साह, नापी कर्यालयका प्रमुख दुर्गादास महर्जन, मालपोत कार्यालयका अधिकृत हरिनारायण मि श्र, साविकको सुर्वणपुर गाविसका निर्वतमान अध्यक्ष जरी लामालगायतले खुसी व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.