सुन्तली–धुर्मुस र रचना

सुन्तली–धुर्मुस र रचना

सुन्तली-धुर्मुस प्रतिष्ठान या उक्त कलाकार दम्पती एकपछि अर्को आम्दानीको व्यवसायबाट केही समयको लागि अवकाश लिएर भूकम्पपछिको पुनर्निर्माणमा जुटे, पीडितहरूसँगै श्रमदान गरे र श्रम तथा सीपसँगै विस्थापित पीडितहरूका लागि घर बनाउने स्रोतसाधन जुटाए । आफ्नो लगन र अठोटले नेपालभित्र र बाहिरबाट सहयोग प्राप्त गरे उनीहरूले ।

दुई व्यक्तिको प्रयासले मात्र आंशिक या पूर्णरूपले क्षतिग्रस्त करिब आठ लाख घर बनाउन सम्भव हुँदैन, तर दुई व्यक्तिको निष्काम कर्म र प्रयासले एउटा राष्ट्रिय पुनर्निर्माण अभियान जन्मिन सक्छ । सुन्तली-धुर्मुस जोडी त्यो सम्भाव्यता, क्षमता र प्रयासको केन्द्रमा उभिएका छन् अहिले । अधिकांश सञ्चारमाध्यमले उनीहरूबाट केही सिक्न राजनीतिक नेताहरूलाई आग्रह गरेका छन् । नेताहरूबाट निर्माणस्थलमा निगरानी राख्ने अपेक्षा गरिँदैन, तर पीडित, विस्थापित र न्यूनतम जीवनस्तरमा बाँचेका र बसेका नेपालीका लागि आबास, उनीहरूका बालबालिकाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न प्रभावकारी नीति र कार्यान्वयनको लागि जिम्मेवार संयन्त्र निर्माणमा योगदान पुर्‍याउन सक्छन् ।

अर्थशास्त्र, प्रशासन र विकास कूटनीतिबारे किताबी ज्ञान सधैं उपयुक्त हुन्छ, त्यो क्षेत्रमा चाख राख्नेहरूका लागि । तर माटो, मानिस र प्रकृतिसँग साक्षात्कार गर्नेहरूले आफ्नो जीवनको सार्थकता ‘जरुरी जरुरतमन्द‍' हरूका लागि के गरे, त्यसबाट नाप्ने गर्छन् । भूकम्पपीडितहरूका लागि घर बनाएर आफ्नो मानवीय र नागरिक दायित्व पूरा गरेका सुन्तली-धुर्मुसले वञ्चित र सीमान्तकृत मुसहरहरूको सम्मानमा आफ्नो सन्तान जोडिएको अनुभूति गरे र अर्को अर्थमा उनीहरू छानाबिना र सम्मानबिना बाँच्दा आफू पनि सम्मानविहीन भएको अनुभूति गरे ।

उनीहरूको त्यो अनुभूतिले सुन्तली-धुर्मुसलाई निराशामा धकेलेन, बरु अठोटको सिँढीमा चढायो । मुसहर बस्ती निर्माण र हस्तान्तरण त्यसैको नतिजा हो । उनीहरूको अभियानमा विश्वास राख्ने र जोडिने सबै ‘घर मालिकहरू‍' अनि दृश्य र अदृश्य रूपमा मौलिक र नैतिक सहयोग पुर्‍याउने टाढा र नजिकका सबैले सफलता र खुसीको अनुभूति गरेका छन् यसमा ।

फेरि पनि यो एउटा संवेदनशील नागरिक अभियानको प्रारम्भ हो, अन्त्य हैन । सत्ताप्रधान, घिनलाग्दो र प्रत्युत्पादक चरणमा छ नेपाली राजनीति । स्वाभाविक रूपमा, धेरै दल र नेताहरूले सुन्तली-धुर्मुस जोडीलाई उनीहरूको अभियानबाट फाइदा लिन आफ्नो राजनीतिक दलमा प्रवेश गर्न र चुनाव लड्न निम्त्याउनेछन्, तर सुन्तली-धुर्मुस जोडीले आफूलाई त्यो घेराबाट धेरै माथि र मानवीय संवेदनासँग धेरै नजिक पुर्‍याएका छन्, धेरै युवाहरूलाई प्रेरित गरेका छन् अनि अग्रजहरूको आशीर्वाद बटुलेका छन् ।

दलहरूबाट त्यस्तो निमन्त्रणा आएमा सुन्तली-धुर्मुसले भन्न सक्नुपर्छ नेताहरूलाई, ‘हामीलाई तपाईंहरूजस्तो बनाउने हैन, तपाईंहरू हामीजस्तो बन्ने कोसिस गर्नुहोस् ।‍' रचनात्मक कार्यमा कम से कम दुई वर्ष बिताएकालार्इ मात्र केन्द्रको संसद्मा उम्मेदवार बनाउने निर्णय गरेर दलहरूले सुन्तली-धुर्मुसलाई सम्मान गर्न सक्नेछन् तत्काल ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.