उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल
सोल : उत्तर कोरियाले आइतबार गरेको असफल व्यालिस्टिक क्षेप्यास्त्र परिक्षणको दक्षिण कोरियाले निन्दा गरेको छ। उत्तर कोरियाले गरेको यस व्यालिस्टिक क्षेप्यास्त्रको परिक्षणबाट कोरियाली प्रायद्विपमा तनाव उत्पन्न भएको छ।
दक्षिणी कोरियाली विदेशी मन्त्रीद्वारा प्रकाशित एक विज्ञप्तिमा उत्तर कोरिया पुनः संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदको नियमको उलङ्घन गरेको आरोप लगाउनु भएको छ।
स्थानीय समयानुसार आइतबार बिहान ६ बजेर २० मिनेटमा उत्तर कोरियाको पूर्बीसहर सिन्पोबाट सो क्षेप्यास्त्र परिक्षण गरिएको दक्षिणी कोरियाली सरकारी स्रोतले जानकारी दिएको छ।
उत्तरी कोरियाले परिक्षण गरेको यस असफल व्यालिस्टिक क्षेप्यास्त्र झण्डै एक हजार किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने क्षमता रहेको अमेरिकी सेनाले जनाएको छ। उत्तर कोरियाले बेला बेलामा यस्ता क्षेस्यास्त्र परिक्षण गर्दै आईरहेको छ।
देशका संस्थापक नेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसरमा प्योङयाङमा आईतबार भएको बृहत सैन्य शक्ति प्रदर्शनपछि सो क्षेप्यास्त्र परिक्षण गरिएको थियो।
अमेरिकाका उपराष्ट्रपति मिके पेन्स एसिया भ्रमणको क्रममा आइतबार अबेर राति दक्षिण कोरिया पुग्नु हुने भएको छ।
उहाँले दक्षिण कोरियाको राष्ट्रपतिको समेत जिम्मेबारी सम्हाल्नु भएका प्रधानमन्त्री ह्वाङ क्योहनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै उहाँले अन्य शिर्ष व्यक्तित्वहरुलाई पनि भेट्ने भ्रमण तालिका रहेको अधिकारीहरुले बताएका छन्।
दक्षिण कोरियाली नेताहरुसँग गर्न लागेको यस भेटवार्तामा बारम्बार हुने गरेको उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको विषयमा पनि छलफल हुने सरकारी स्रोतले जानकारी दिएको छ। सस/सिन्ह्वा